एनसेलको सेयर खरिद बिक्री भएको होइन, नाटक मात्रै हो: सांसद पाण्डे
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले एनसेलको सेयर खरिद बिक्री नभई खरिद बिक्रीको नाटक मात्रै गरिएको दाबी गरेका छन् ।
शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एनसेलको सेयर खरिद बिक्री नभएको टिप्पणी गरेका हुन् । सेयर खरिद बिक्री नभई खरिद बिक्रीको नाटक मात्रै गरिएको उनको दाबी छ ।
पहिल्यै सम्बन्धित व्यक्तिको श्रीमतीको नाममा २० प्रतिशत सेयर रहेको उल्लेख गर्दै उनले अर्को कम्पनी खडा गरेर श्रीमानको नाममा ८० प्रतिशत सेयर लिनु नै नाटक भएको बताए । यस प्रकरणमा राज्यले गम्भीरतापूर्वक ध्यान पुर्याउनु पर्ने उनको भनाइ छ ।
सांसद पाण्डेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुशासन कायम गर्न नसकेको बताए । कर्मचारी परिचालनको सम्बन्धमा मन्त्रालयबाट नकारात्मक काम भइरहेको उनले बताए ।