सुन्दर सुदूरपश्चिमको सपनाबाट देशका अन्य क्षेत्रले समेत प्रेरणा लिन सक्छन्ः प्रधानमन्त्री
धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन्दर सुदूरपश्चिमको सपनाबाट नेपालका अन्य क्षेत्रले समेत प्रेरणा लिन सक्ने बताएका छन् ।
‘हामीले खोजेको समृद्ध संघीय समाजवादी नेपालको निर्माणमा समेत यसले निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गर्न चाहन्छु । यसका लागि यहाँहरुको एकताबद्ध र योजनाबद्ध प्रयास आवश्यक छ,’ सुदूरपश्चिम महोत्सवको धनगढीमा शुक्रबार उद्घाटन गर्दै उनले भने ।
उनले आगामी दिनमा सुदूरपश्चिम प्रदेश सरकारले लगानी र विकास सम्मेलनको आयोजना गर्ने बताए । सम्मेलनमा सुदूरपश्चिम क्षेत्रमा विकास तथा आर्थिक समृद्धिका सबै क्षेत्रको वास्तविक चित्रण गर्दै व्यवस्थित र लागतसहितको कार्ययोजना तयार गर्न उनले आह्वान गरे ।
अहिले आफ्नै मौलिक विशिष्टतामा शासन प्रणाली रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यसमा आफूहरु सफल भएको तर्क गरे । ‘हिजोका दिनमा केन्द्रीय सरकारसँग पूर्णरुपमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य भएको छ । स्थानीय तहहरु अधिकारसम्पन्न बनेका छन् । त्यस अर्थमा पनि लोकतान्त्रिक गणतन्त्र र त्यसको संघीय स्वरुपको सबैभन्दा बढी महत्व सुदूरपश्चिम र यहाँका जनताले अनुभूति गरेको हुनुपर्छ,’ उनले भने ।
हिजो राजा महाराजाहरुको जमानामा, सामन्ती राजतन्त्रको समयमा केही थान सीमित जमिन्दारहरुको मात्रै काठमाडौंसँग पहुँच हुने अवस्थाको अन्त्य भएर अहिले जनताका छोराछोरी प्रदेश र विभिन्न स्थानीय तहको नेतृत्व गर्न सक्षम बनेका उनले बताए ।