१४ किलो सुन छानबिन गर्न भन्सार विभागले बनायो ६ सदस्यीय समिति
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
सुनका बरामदबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा शुक्रबार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले प्रमुख भन्सार अधिकृत पौडेलको नेतृत्वमा प्रहरी नायव उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना रहेको बताए ।
गए राति भन्सार विभागको टोलीले सुनसहित गोरखाका चन्द्र घलेलाई पक्राउ गरेको थियो । फ्लाई दुबईको उडान नम्बर एफजेड- ५७३ बाट राति ११:४० बजे काठमाडौँ उत्रेका घलेलाई विमानस्थल भन्सारले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
विमानस्थल भन्सार प्रमुख पाण्डे नेतृत्वको टोलीले मध्यराति विशेष सुराकीका आधारमा खानतलासी गर्दा ७ थान बिस्कुट आकारको सुन बरामद गरेको थियो । प्रहरी सुन तस्करीमा संलग्न गोरखाका मीनबहादुर घलेलाई समेत पक्राउ गरिसकेको छ ।
विशेष सुराकीका आधारमा केही दिनदेखि अन्तर्राष्ट्रिय उडानहरुमा भन्सारले निगरानी बढाएको थियो । उनले १० किलोसम्म सुन बरामद हुनसक्ने सुराकीका आधारमा भन्सार विभाग परिचालित भएको जानकारी गराए ।