एनसेलको सेयर किनबेच रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश



काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्री नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले बिहीबार खरिद बिक्री भएका एनसेलका सेयरहरु मंसिर २५सम्म दर्ता किताबमा दर्ता नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

यस प्रकरणमा अदालतले रिट निवेदक र विपक्षी दुवै पक्षलाई मंसिर २५ छलफलमा बोलाएको छ ।

एनसेलको सेयर खरिदबिक्रीको निर्णय सार्वजनिक भएलगत्तै गोकुलबहादुर रोकायाले उक्त कारोबारलाई नेपालभित्र मान्यता नदिन माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए ।

गत शुक्रबार मलेसियाको कम्पनी आजियटाले एनसेलमा रहेको आफ्नो सेयर नेपाली मूलका सिंगापुरका नागरिक सतीशलाल आचार्यलाई बिक्री गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको थियो । आजियटाले एनसेलको ८० प्रतिशत सेयर स्वामित्व भएको रेनोल्ड होल्डिङ्स आचार्यको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई ६ अर्ब ६६ करोड रुपैयाँमा बिक्री गरेको उल्लेख गरेको थियो ।

यसअघि मंसिर १५ मा पनि यिनै निवेदक गोकुल बहादुर रोकायाले आजियटा नेपाली दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट बाहिरिने निर्णयविरुद्ध उच्च अदालत पाटनमा रिटमा हालेका थिए । उच्च अदालतले दुबै पक्षलाई मंसिर २५ गते छलफलमा बोलाएको थियो।

आजियटाको सञ्चालक समितिले नेपालको अवस्था चुनौतीपूर्ण रहेकाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको जनाएको थियो ।


क्लिकमान्डु