यो चरम असफल सरकार हो, गैरजिम्मेवार भएर बसिरहेको छः ओली



बागलुङ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको आरोप लगाएका छन् ।

बिहीबार मेची-महाकाली अभियानअन्तर्गत वागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई लज्जाबोध नभएको बताए ।

अहिलेको सरकारको इमान भए राजीनामा दिएर निस्किनुपर्ने उनको भनाइ छ । उनले अहिलेको सरकारले स्वाधिनता कमजोर बनाएको र विकासका कामहरु ठप्प पारेको अरोप लगाए । उनले अहिलेको सरकार असफल सरकार भएको जिकिर गरे ।

‘अहिलेको सरकार असफल मात्रै होइन, चरम असफल सरकार हो । यो त गैरजिम्मेवार भएर, इमान नभएर मात्रै सरकारमा बसिरहेको छ, नत्र राजीनामा गरेर घर जानुपर्ने सरकार हो । यो त सरकारमा बसिरहन लाज नमानेर, लाज नलागेर कसरी बसिरहेको छ’ उनले भने, ‘ देशको राजनीतिक अस्थिरता बढ्दो छ । अराजकता बढ्दो छ । जनतामा निराशा र अन्योल बढ्दो छ, युवाहरु पलायन भइरहेका छन्, अर्थतन्त्र ध्वस्त हुँदै गएको छ, कर्मचारी पाल्नका लागि आन्तरिक ऋण उठाएर पाल्नुपरेको छ । त्यही पनि पहिलो चौमासिकमा । पहिलो चौमासिक, जतिबेला सबैभन्दा बढी पसा संकलन हुन्छ ।’

अध्यक्ष ओलीले ऋण उठाएर कर्मचारी पाल्नुपर्ने बाध्यता अहिलेको सरकारले निर्माण गरेको बताए ।


क्लिकमान्डु