प्रधानमन्त्री भन्छन्- अर्थतन्त्रमा सुधार ल्याउन अझै बृहत र नयाँ घोषण गर्ने तयारीमा छु

322
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा सुधार ल्याउन अझै बृहत र नयाँ घोषण गर्ने तयारीमा रहेको बताएका छन् ।

राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)ले काठमाडौंमा आयोजना गरेको ‘रेस्पोन्सेबल बिजनेस समिट’मा प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिन्छ तर व्यवहारमा आमजनतामा आशाको सञ्चार सिर्जना गर्न अझै मेहनत गर्नुपर्ने परिस्थिति हाम्रासामु छ । त्यसैले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत बैठक र केही नयाँ घोषण गर्ने तयारी गरिरहेको छु ।’

शासकीय सुधारका विषयमा केन्द्रित रहेर नेपाल सरकारका बहालवाला र पूर्व राष्ट्रसेवक कर्मचारीको बृहत गोष्ठीको आयोजना गरिएको र त्यसबाट समेत केही महत्वपूर्ण सुझाव र दिशानिर्देश प्राप्त भएको उनले बताए । ‘शासकीय सुधारका क्षेत्रमा केही नयाँ गर्न सकियो भने त्यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा देखिनेछ भन्ने विश्वास छ,’ प्रधानमन्त्रीले भने ।

राष्ट्रिय व्यावसायिक पहलले आयोजना गरेको रेस्पोन्सिबल बिजनेस समिटको चौथो संस्करणमा उनले उद्यमी व्यवसायीसमेत सम्मिलित हालै यूएईमा सम्पन्न सम्मेलनमा नेपाललाई लगानीको गन्तव्य बनाउन आग्रह गरेको जानकारी गराए । सरकार त्यसका लागि आवश्यक कानुनी र नीतिगत आधार तयार गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताए ।

‘सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न आर्थिक कार्यक्रम अगाडि सारेको छ तर यसका लागि व्यवसाय र समाज सबै सरोकारवाला जिम्मेवार बन्नुपर्छ,’ उनले भने ।

एडप्टिङ टु इमर्जिङ बिजनेस रियालिटिज भन्ने नाराका साथ आयोजित चौथो सम्मेलन मुलुकको अर्थतन्त्रसामु देखिएको दबाब सम्बोधन गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता र लक्ष्य प्राप्तिमा सहायकसिद्ध हुने विश्वास प्रधानमन्त्रीको छ ।

‘मुलुकको प्रमुख साझेदार निजी क्षेत्रमात्र होइन, सरकार र राज्यका सबै निकाय उत्तिकै जिम्मेवार रुपमा प्रस्तुत हुन आवश्यक छ,’ उनले भने, ‘सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेको कदममा सबैको साथ र सहयोगको लागि आग्रह गर्छु ।’ अर्थतन्त्रको क्षेत्रमा विद्यमान दबाबलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न आफूले लगातार प्रयास गर्दै आएको पनि उनले बताए ।