एनसेल ६ अर्बमै बेच्न लागेको भए सरकारले किनिदिन सांसद भट्टराईको सुझाव
काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले ६ अर्बमै बिक्री गर्न लागेको भए एनसेलको सेयर नेपाल सरकार किनिदिनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा सांसद भट्टराईले भने, ‘एनसेलले सेयर ६ अर्बमै बिक्री गर्न लागेको र एनसेललाई समस्या नै परेको हो भने सरकारले किनिदिन सुझाव छ ।’
भट्टराईले नेपालीले रोए पनि हाँसे पनि तिरेको पैसा यसै छाड्न नहुने बताए । एनसेलले बैंकबाट लिएको ऋण नतिरेको खण्डमा बैंकमा राखेको निक्षेपका कारण जनतालाई समेत असर पर्ने उनको भनाइ छ ।
कानुन अपुरो छ भने उपयुक्त र पारदर्शी कानुन बनाउन उनले सरकारलाई सुझाव दिए । उनले एनसेलको सेयर खरिद-बिक्री तत्कालका लागि रोक्न पनि आग्रह गरे । भट्टराईले यस विषयमा समितिमा प्रधानमन्त्रीलगायत सरोकारवाला मन्त्रीले जवाफ दिनुपर्ने बताए ।