१६ हजार किलो अवैध चिनी बरामद, लिलामीको तयारी



काठमाडौं । भारतबाट अवैध रुपमा ल्याइएको १६ हजार किलो चिनी सरकारले बरामद गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंले संयुक्त अनुगमनका क्रममा दसैंतिहारको बीचमा सतुंगलबाट चिनी बरामद गरेको हो ।

विभागका महानिर्देशक तीर्थराज चिलुवालका अनुसार आयातकर्ताले भन्सारबाट लिलामी भएको चिनी ल्याएको छानबिनका क्रममा बताएका छन् । ‘छानबिनका क्रममा आयातकर्ताले भन्सार कार्यालयबाट लिलामी सकारेर चिनी खरिद गरी काठमाडौं ल्याएको वयान दिएका छन्,’ उनले भने, ‘तर हामीले भन्सार कार्यालयबाट लिलामी भनिएको चिनीको कागजपत्र र आयातकर्ताले लिलामीमा सकारेको कागजपत्र र गुणस्तरको प्रतिवेदन भिडाउँदा फरक परेकाले चिनी जफत गरेका हौं ।’

चिलुवालले आपूर्तिकर्ताले उपलब्ध गराएको कागतपत्र र भन्सारले लिलामी गरेको भनिएको कागजपत्र मिलाउँदा एक-अर्कोसँग नमिलेका कारण चिनी जफ्त गरिएको बताए । उनका अनुसार आयातकर्ताले अवैध बाटोबाट १ वर्ष पुरानो चिनी भित्र्याएका हुन् ।

‘हामीले उक्त चिनीको विषयमा थप कागजात माग गरेका छौं,’ चिलुवालले भने, ‘तर थप कागजात देखाउन नसकेकाले केही छानबिनपश्चात उक्त चिनी भन्सार विभागलाई जिम्मा लगाएर लिलामी गराउने तयारीमा छौं ।’


क्लिकमान्डु