वर्तमान सरकारले छिमेकी मुलुकहरुसँग ठाडो शिर गरेर कुरा गर्न सक्दैनः ओली
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले छिमेकी मुलुक भारत र चीनसँग ठाडो शिर गरेर कुरा गर्नै नसक्ने बताएका छन् ।
राष्ट्रिय हितको रक्षा, स्वाधिनता र स्वतन्त्रताको उपयोग गर्ने कुरामा सरकारले छिमेकी मुलुकहरुसँग कुरै गर्न नसक्ने अध्यक्ष ओलीको जिकिर थियो ।
पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको क्रममा बुधवार रुकुमपूर्वमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारको अपराधकर्ममाथि अदालतले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको दाबी गरे ।
अपराधीहरुलाई प्रोत्साहित गर्ने, समात्न नमान्ने, समातीहाल्यो भने पनि माफी दिने काम सरकारले गरिरहेको अध्यक्ष ओलीको भनाइ थियो ।
अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र अत्यन्तै अफ्ठ्यारो, असहज र बिग्रेको अवस्थामा रहेको उल्लेख गर्दै त्यसमा सुधार गरेर लैजाने काम एमालेले मात्रै गर्नसक्ने बताए ।