एनसेलको सेयर बिक्री सम्झौताबारे छानबिन गर्न सांसदहरुको माग



काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सदस्यहरुले एनसेलनको सेयर बिक्री सम्झौताबारे सरकारले छानबिन गर्नुपर्ने बताएका छन् ।

बुधबार समितिको बैठकमा सांसदहरुले एनसेल खरिद बिक्रीको जाँचका लागि आयोग गठन गरेर टुंगोमा पुग्नुपर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देनले छानविन आयोग गठन गरेर टुंगोमा पुग्नुपर्ने बताए ।

एक्जियटा ६ वर्षपछि सरकारलाई हस्तान्तरण गर्दा केही पनि बाँकि नरहने भएपछि सेयर बिक्रीको नाटक रचिएको उनको भनाइ छ ।

टावरका लागि नयाँ कम्पनी खोल्ने र सबै टावर अर्को कम्पनीलाई बेच्ने र त्यो पनि आफ्नो मान्छेलाई कम्पनी खोल्न लगाउने काम भएको उनले बताए । एनसेलको सेयर खरिद बिक्री तत्काल रोक्न उनले माग गरे ।

नेकपा एमालेका सांसदसमेत रहेका समितिका सदस्य गोकुल बास्कोटाले कानुन बलियो नहुँदा एन‍सेलका नाममा फाइदा लिन खोज्नेहरु भएको उनले बताए ।

एनसेलको खरिद बिक्री रोक्नु पर्ने उनले माग राखे । आफू सरकारमा हुँदा विदेशी लगानी भएको कम्पनीले समय सकिनु ७ वर्षअघि सेयर बिक्री गरेर जान नदिने गरि कानुन बनाउन खोजेको भए पनि सफल नभएको बताए ।

सांसद अमरेशकुमार सिंहले एनसेलको सेयर बिक्री वितरणको काम नेपाली माफियाले गरेको दाबी गरे ।

११ अर्ब मुनाफा गरेको कम्पनी कसरी ६ अर्बमा बिक्री भयो भन्दै उनले प्रश्न गरे । सिंहले एमाले सरकारमा हुँदा ऐन संशोधन गर्न नदिएको दाबी गरे । २०२१ मा सिंगापुरमा नेपालका तत्कालीन प्रधानमन्त्रीका छोराले यसबारे डिल गरेको उनको आरोप छ ।

माओवादी केन्द्रका सांसद राजन दाहालले एनसेलको सेयर खरिद बिक्री रोक्न माग गरे । आधिकारिक जानकारी हुने निकायमा जानकारी नगराउनु, नेपालमा लगानी गर्ने वातावरण छैन भन्नु गलत भएको उनले बताए ।

एनसेलले नेपालका बैंकहरुबाट लिएको ऋण नतिरेसम्म र पुरानो कर चुक्ता नगरेसम्म सेयर खरिद बिक्री गर्न दिन नहुने उनको भनाइ छ ।

नेकपा एमालेका सांसद योगेश भट्टराईले एनसेल प्रयोग गरेर तिरेको पैसा यसै छोडन नहुने बताए । एनसेलले बैंकबाट लिएको ऋण नतिरेको खण्डमा बैंकमा राखेको निक्षेपका कारण जनतालाई समेत असर पर्ने बताए ।

उनले एनसेलले सेयर ६ अर्बमा नै बिक्री गर्न लागेको हो र एनसेललाई समस्या परेको हो भने उक्त सेयर सरकारलाई किन्न सुझाव दिए ।

उनले एनसेलको सेयर खरिद बिक्री तत्कालका लागि रोक्न आग्रह गरे ।


क्लिकमान्डु