रविको प्रश्न: एनसेललाई कर तिर्न नपर्ने आश्वासन दिएर कुन-कुन नेताले कति रकम खाए ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेलको जन्मदेखि नै चलखेल भएको भन्दै त्यसको छानबिनका लागि तयार हुने हो ? भन्दै प्रश्न गरेका छन् ।
स्पाइस नेपालको नाममा अहिलेको एनसेल जन्मदादेखि नै चलखेल भएको र टेलियासोनेराले बेचेर मलेसियाली कम्पनी आजियटाले किन्दा नियमअनुसार कर तिर्न नपर्ने आश्वासन नेताहरुले दिएकोले त्यसको खुला छनबिनका लागि तयार हुनुपर्ने उनको जिकिर छ ।
‘स्पाइस नेपालको नाममा अहिलेको एनसेल जन्मदादेखि नै चलखेल थियो,’ लामिछानेले भनेका छन्, ‘टेलियासोनेराले बेचेर मलेसियाली कम्पनीले किन्दा नियमानुसारको ट्याक्स तिर्न नपर्ने आश्वासनका नाममा कुन-कुन दलका कुन-कुन नेताले कति कति रकम खाए, कुन-कुन निकायका दैला दैलामा बाँडे र पचाए, खुला छानबिन गर्न तयार हुने हो ?’
सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको सेयर खरिद-बिक्री प्रक्रिया कुनै अनियमितता भएको पाइएमा सम्बन्धित सबैलाई कारबाहीको दायरामा ल्याइने जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विज्ञप्ति जारी गर्दै नेपाली र नेपालीको हित संरक्षण गर्न तथा प्रचलित कानुनको पालना गर्न/गराउन सरकार प्रतिबद्ध रहेको बताएकी हुन् ।
सरकारले एनसेलको सेयर खरिदबिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवं यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा सरकारको राजस्वलगायत विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्ने मन्त्री शर्माले बताइन् ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका स्वीकृति नलिई र नियामकलाई जानकारीसमेत अस्वभाविक प्रावधान र मूल्यमा भएको देखिने उक्त कारोबारका सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार नै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको मन्त्री शर्माले उल्लेख गरेकी छन् ।