नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय
काठमाडौं । रुकुम पश्चिम जिल्ला अदालतले नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।
साढे ३ वर्षअघि चौरजहारी नगरपालिकाको सोती गाउँमा भएको हत्या घटनामा अदालतले २३ जनालाई जन्मकैदको फैसला गरेको हो ।
न्यायाधीश खड्गबहादुर केसीको इजलासले पुर्पक्षका लागि थुनामा रहेका उनीहरुलाई जन्मकैदको सजाय सुनाएको छ । यसअघि धरौटीमा छुटेका ८ जनाले भने सफाइ पाएका छन् ।
अन्तरजातीय विवाहका विषयमा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला सरकारी वकिल कार्यालयले २ नाबालकसहित ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
उनीहरुमाथि ६ जनाको ज्यान मारेको, अरु १२ जना घाइतेहरुको ज्यान मार्ने प्रयास गरेको र जातीय छुवाछुत गरेको आरोप थियो ।
जिल्ला अदालतले नवराज विककी प्रेमिकाकी बाबु र आमालाई जातीय छुवाछुतको अभियोगमा २-२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना फैसला गरेको छ ।