विप्लवसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेकपाद्वारा आन्दोलनको घोषणा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध प्रकाउ पुर्जी जारी भएपछि आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

जिल्ला अदालत काठमाडौंले ३५ दिनको समय दिएर विप्लवसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

नेकपाले विज्ञप्ति जारी गर्दै तीन दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । पक्राउ पुर्जीविरुद्ध आज साँझ साढे ५ बजे मशाल जुलुस, २० गते दिनको ३ बजे न्यायाधीशको पुत्ला दहन र मंसिर २१ गते २ बजे देशव्यापी जनप्रदर्शनको कार्यक्रम नेकपाले घोषणा गरेको हो ।

काठमाडौं जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा व्यूताएर सोमबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, पीवीएम माइला लगायतका नेताको नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।

नेकपाले अदालतको उक्त आदेश २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङघन मात्र नभई देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला भएको ठहर गरेको छ ।

‘आम नागरिकलाई थाहा छ कि प्रतिबन्ध हटाउदा राज्यसँग गरिएको ३ बुँदे सहमति मध्य एउटा बुँदा पार्टी नेता कार्यकर्ता माथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दी कमरेडहरुलाई मुक्त गर्ने छ । राज्यका सहमतिलाई कानूनको अंग बनाएर समस्याहरुलाई समाधान गर्न मद्दत गर्नु पर्ने मुख्य अङ्ग अदालतले नै गैर कानूनी कदम चाल्नु भनेको देशमा शान्ति भाड्न अदालत र न्यायधीस नै सक्रिय बनेको त होइन भन्ने आशंका पैदा भएको छ’ विज्ञप्तिमा भनिएको छ ।

राज्यविरुद्धको कसुर सम्बन्धीको मुद्दामा उनीहरुमाथि पक्राउ पुर्जी जारी गरेको हो । उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो । २०८० साल मंसिर १० गतेको आदेश अनुसार ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ ।

विप्लवको नेकपा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा समाजवादी मोर्चामा आवद्ध छ । जुन मोर्चामा नेकपा माओवादी केन्द्रका साथै नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसमेत आवद्ध छ ।


क्लिकमान्डु