आर्थिक सूचकांक राम्रै छ, तर व्यवसायीहरु सटर बन्द भएको भयै छ भन्छन्: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार आर्थिक संकट समाधान गर्नेतर्फ केन्द्रित रहेको बताएका छन् ।

सोमबार सञ्चारकर्मीसँगको छलफलमा प्रधानमन्त्री दाहालले नेपालमा आर्थिक सङ्कट रहेको र यसको समाधान तत्कालै खोज्नुपर्छ भन्ने कुरा सबैतिरबाट आएकाले यसका लागि सरकार केन्द्रित भएको बताए ।

एकपटक आर्थिक ‘एजेन्डा’मा धक्का दिएर अर्थतन्त्रमा सुधार ल्याउन सकियो भने अब मुलुक राम्रोसँग अघि बढ्छ भन्ने आफ्नो आत्मविश्वास रहेको भन्दै उनले भने ,’यसका लागि निजी क्षेत्र तथा सरोकारवालासँग बारम्बार छलफल गरिरहेका छौँ र अब फेरि अर्को यस्तै राष्ट्रिय स्तरको छलफलको तयारी पनि गरिरहेका छौँ ।’

आर्थिक सूचकाङ्क हेर्दा राम्रै देखिएको उनको भनाइ छ । ‘पर्यटक आगमन, रेमिट्यान्सको अवस्था एवं वैदेशक मुद्राको सञ्चिति हेर्दा पनि सबै ठिकै देखिन्छ । तर वातावरण छैन भन्ने छ अनि व्यवसायीहरु सटर बन्द भएको भयै छ भन्छन् । त्यसैले अब यो के हो त भन्ने बारेमा पुनः एकपटक गम्भीर रुपमा छलफल गर्नेछौँ,’ उनले भने ।

लघुवित्त तथा सहकारीसम्बन्धी नीति, बैंकको ब्याज तथा व्यवसायीलाई दिने प्याकेज आदि विषयमा सरकारले धेरै निर्णय पनि गरिसकेको तर कता कता यस विषयमा गाँठो नफुकेको पो हो कि भन्ने देखिएकाले सरकार यसको आवश्यक निदानका लागि लाग्ने उनले विश्वास दिलाए ।


क्लिकमान्डु