पूर्वमन्त्री खाणका स्वकीय सचिवसहितलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लगियो
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिएकाहरुलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लगिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले शुक्रबार धरौटीमा छाड्न आदेश दिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीयसचिव नरेन्द्र केसी, हज समितिका अध्यक्ष शमशेर मियाँ र हरिभक्त महर्जनलाई विभाग लगिएको हो ।
अदालतको आदेशपछि केसी र मियाँले १०/१० लाख र महर्जनले १५ लाख रुपैयाँ धरौटी बुझाएका थिए ।
धरौटी रकम बुझाएकाहरूलाई सुन्धारा कारागार प्रशासनले विभागमा पठाएको हो । शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गर्नुपर्ने राय प्रहरीले दिएको थियो । उनीहरूमाथि अब विभाग र अख्तियारले पुनः अनुसन्धान गर्नेछ ।