सार्वजनिक यातायातको विकल्प बन्न सक्छ पोडवे, लुम्बिनी प्रदेशबाट सञ्चालनको तयारी
![](https://clickmandu.com/wp-content/uploads/2023/11/Podway6.png)
काठमाडौं । बढ्दो सवारी साधनको प्रयोग र सीमित पूर्वाधारले नेपालका अधिकांश सडक अस्तव्यस्त छन् । उपत्यकाभित्रकै कुरा गर्ने हो भने १० किलोमिटर यात्रा गर्नका लागि कम्तिमा पनि एक घण्टा समय लाग्छ ।
अस्तव्यस्त सडक र ट्राफिक व्यवस्थापन हुन नसक्दा आम सर्वसाधारणले सधैं सास्ती भोग्दै आएका छन् । उपत्यकामा मात्रै नभएर उपत्यकाबाहिरको अवस्था पनि उस्तै छ। सर्वसाधारणले आँकलन गरेको समयमै पुग्न निकै कठिन छ ।
विकसित मुलुकहरुले सार्वजनिक यातायातलाई व्यवस्थापन गर्न विभिन्न प्रविधि अपनाएर यात्रा सहज बनाइरहेको अवस्था छ । धनी मुलुकले रेलमार्फत् वा अन्य विभिन्न प्रविधिको विकास गरेर सर्वसाधारणको यात्रालाई सहज बनाएका छन् ।
प्रविधिको प्रयोगले सार्वजनिक यातायातलाई व्यवस्थित गरिरहँदा नेपालले भने अधिकांश स्थानमा पुगेको सडकलाई कालोपत्रे समेत गर्न नसकेको अवस्था छ । साथै, सार्वजनिक यातायात सहज हुन नसक्दा धेरैले ज्यानसमेत गुमाएका छन् ।
यातायात सेवालाई छिटो र छरितो बनाउन विभिन्न समयमा सरकारले प्रतिबद्धता जनाएको छ । तर, बजेट अभावलगायत अन्य समस्याले गर्दा आयोजनाहरु कार्यान्वयनमा आउन सकेको छैन । सरकारले व्यस्त सहरलाई सार्वजनिक यातायातमा सहज बनाउन रेल, मनो तथा मेट्रोरेलको घोषणा गरे पनि सफल हुन सकेको छैन ।
![](https://clickmandu.com/wp-content/uploads/2023/11/Podway2.png)
पछिल्लो समय विश्वमा विकास भएको सस्तो र नवीन प्रविधिको प्रयोग गर्नुपर्ने बहस भइरहेको छ । काठमाडौं उपत्यकासहितका सहरी क्षेत्रका व्यस्त सडकमा रेल, मनोरेल तथा मेट्रोरेल सञ्चालनका विषयहरु उठिरहेको भए पनि सरकारले त्यसमा काम गर्न सकिरहेको छैन ।
जनघनत्व बढी भएको काठमाडौंसहितका सहरमा सहज र छिटो यातायातको व्यवस्था गर्न सरकार सफल नभए पछि निजी क्षेत्रले नवीन प्रविधि भित्र्याएर यातायातलाई व्यवस्थित बनाउने तयारी गरेको छ । पोडवे नेपाल कम्पनीले ‘पोडवे’ प्रविधि नेपाल भित्र्याउने तयारी गरेको छ ।
निजी क्षेत्रले नवीनतम प्रविधि ल्याउने भएपछि सरकारले त्यसका लागि सहज बनाएको छ । गत मंसिर ७ गते राजपत्रमा सूचना प्रकाशित गर्दै पोडवे प्रविधिलाई सरकारले कानूनी मान्यता दिएको छ ।
पोडवेसँगै स्काई रेल, स्काई ट्रलिबस, जलमार्गलगायत वैकल्पिक यातायातसम्बन्धी नवीन प्रविधिको पहिचान, अध्ययन, नीति, कानून मापदण्ड, कार्यान्वयन र नियमन गर्ने भन्दै राजपत्र प्रकाशित गरेको छ । उक्त राजपत्र प्रकाशन भएसँगै नेपालमा पोडवे प्रविधि सञ्चालनका लागि बाटो खुला भएको हो ।
पोडवे नेपालले नेपालमा छिटो र सहज यात्राा लागि विश्वकै नवीन प्रविधि भित्र्याएको जनाएको छ । उक्त प्रविधि सञ्चालनमा आए नेपालकै नमुना यातायात बन्नेछ । विश्वका विभिन्न मुलुकले सुरु गरिसकेको पोडवे नेपालमा सञ्चालन गर्न भने चुनातीपूर्ण छ ।
तर, ढिलो/चाँडो नेपालले उक्त प्रविधि अपनाउनुपर्ने देखिएकाले पोडवे नेपालले पोडवेको सञ्चालनको तयारी गरेको कम्पनीका उपाध्यक्ष नील भट्टराई बताउँछन् ।
उनकाअनुसार कम्पनीले बेलारुसमा सञ्चालनमा रहेको प्रविधिबाट प्रभावित भई नेपालमा भित्र्याएको हो । आर्टिफिसियल इन्टिलिजेन्स (एआई)को विकास भएसँगै नवीन प्रविधिको उच्चतम विकास भइरहेको छ । त्यस्तै, एआईको सहायताले नै पोडवेको विकास भएको हो । उक्त प्रविधि नेपालमा सञ्चालनको तयारी भइरहेको छ ।
रेल लगायतको प्रविधि भन्दा पोडवेमा सञ्चालन खर्च कम पर्ने उनले जानकारी दिए ।
‘रेलको जस्तै आकासमा सेवा दिने पोडवेले रेलको आवातजावत तथा ढुवानीको सुविधा दिनेछ,’ उनले भने, ‘रेल सञ्चालनका लागि ठूलो जनशक्ति र पूर्वाधारको आवश्यकता पर्छ । तर, पोडवेमा जनशक्तिको आवश्यकता पर्दैन । त्यसमा न त ड्राइभर हुन्छ । न त सहचालक नै । पोडवे एआईमार्फत् स्वतः सञ्चालन हुनेछ ।’
![](https://clickmandu.com/wp-content/uploads/2023/11/Podway4.png)
करिब ४० वर्ष अध्ययन गरेर विश्वमा सन् २०२० मा मान्यता पाएको पोडवेमा २ जनादेखि ४० जनासम्मले एक पटकमा यात्रा गर्न सक्नेछन् । साथै, एक पटकमा ४८ टनसम्म मालसामान ढुवानी गर्न सक्ने उनको भनाइ छ ।
कम्पनीले नेपालमा मान्यता नपाउँदै सन् २०१९ मा नै उद्योग दर्ता गरेको थियो । कुनै पनि प्रविधिको विकास भए पनि अन्तर्राष्ट्रियरुपमा मान्यता नपाएसम्म सञ्चालन गर्न पाउँदैन । पोडवेले पनि मान्यता नपाएकाले सन् २०१९ सम्ममा मास ट्रान्सपोर्टेशनको लिस्टमा यो समावेश थिएन । सन् २०२० मा मान्यता पाइसकेपछि भने कम्पनीले अन्य काम सुरु गरेको उनले बताए ।
‘मास ट्रोन्सपोर्टेशनमा काम गर्ने भनिएता पनि उक्त प्रविधिले मान्यता पाइसकेको थिएन । त्यसपछि कार्य अगाडि बढाउन पाइएन । मान्यता पाइसकेपछि नेपालमा पनि उक्त कार्यको अध्ययन सुरु गरेको हो,’ उनले क्लिकमान्डुसँग भने ।
कम्पनीले सुरुमा नेपालको वातावारणमा सम्भव छ वा छैन भनी अध्ययन गरेको थियो । अध्ययनका लागि बेलारुस र क्यानाडाबाट इन्जिनियर ल्याइएको उनले बताए । उक्त अध्ययनमार्फत् सर्वसुलभ मूल्यमा मास ट्रान्सपोर्टेशनको सेवा दिन सक्ने निष्कर्ष निस्कियो । एक किलामिटरको दूरी यात्रा गर्न १० रुपैयाँमा सेवा दिन सक्ने निष्कर्ष उक्त अध्ययनले निकालेको उनले जानकारी दिए । काठमाडौं जस्ता ठूलो शहरमा प्रविधिको प्रयोगले सर्वसुलभ सुविधा दिन सक्ने उनले बताए ।
लुम्बिनीबाट पाइलट प्रोजेक्टको रुपमा सञ्चालनमा ल्याउने
सरकारले अनुमति दिएमा एकै पटकमा देशका विभिन्न ६/७ वटा स्थानबाट पोडवे सञ्चालनको गर्ने योजना कम्पनीले बनाएको थियो । तर, सरकारले ऐन, कानून बनाउन ढिला गरेसँगै कम्पनीले लुम्बिनीलाई पाइलट प्रोजेक्टको रुपमा विस्तार गर्ने तयारी गरेको छ ।
![](https://clickmandu.com/wp-content/uploads/2023/11/Podway1.png)
कम्पनीले पहिलो चरणमा लुम्बिनी प्रदेशबाट पोडवे सञ्चालनको तयारी गरेको उनले जानकारी दिए ।
कम्पनीले लुम्बिनीमा ६ किलोमिटर लामो पोडवे बनाउने निर्णय गरेको छ । ‘कम्पनीले कोशी लगानी प्राधिकरणमा ८३ किलोमिटर सञ्चालनका लागि प्रस्ताव गरेको छ । काठमाडौं उपत्यकामा पनि विभिन्न चरणमा सञ्चालनका लागि छलफल गरी एक सय किलोमिटर बनाउने तयारी गरेको थियो । तर, नीतिगत अभावका कारण अघि बढ्न सकेको छैन,’ भट्टराईले भने ।
लुम्बिनीको पाइलट प्रोजेक्ट आयोजनाका लागि २ अर्ब ४० करोड रुपैयाँ लगानी गर्ने तयारी भएको उनको भनाइ छ । कम्पनीले आगामी ९ महिनाभित्र डीपीआर तयार गर्ने र त्यसपछि निर्माणको कार्य अगाडि बढ्ने उनको दाबी छ । एक वर्षभित्र पूर्वाधार निर्माण गरी अगाडि बढ्न सक्ने उनले जानकारी दिए ।
पोडवेमा सामूहिक लगानी गर्ने हो भने करिब १० वर्षमा देशभर उक्त सेवा विस्तार गर्न सकिने उनको भनाइ छ । अन्य यातायातको पूर्वाधार विकास गर्न निकै खर्चिलो हुँदा उक्त लगानीको २० प्रतिशतमात्रै पोडवेमा लगानी गरे यातायात क्षेत्रमा ठूलो परिवर्तन आउने उनी बताउँछन् ।
लागत कम, छिटो र सहज ढंगले यात्रा गर्न सक्ने प्रविधिमा सरकारको तवरबाट कार्य तीब्र गतिमा भए डेढ वर्षभित्र सञ्चालनमा ल्याउने तयारी हुने उनले बताए ।
दुर्घटना नहुने, जाम नहुने, समयमा पुग्ने भएकाले नेपालले यो प्रविधिलाई तीब्र गतिमा विकास गर्नुपर्ने देखिएको उनले जिकिर गरे।
![](https://clickmandu.com/wp-content/uploads/2023/11/Podway.png)
प्रतिघण्टा १५० किलोमिटरको गति
रेलको सुविधा जस्तै सेवा दिने पोडवेको गति प्रतिघण्टा १५० किलोमिटर छ । भारतमा सञ्चालनमा रहेको रेलको प्रतिघण्टा एक सयदेखि १०२ किलोमिटर गति हुन्छ । पोडवे रेलभन्दा बढी गतिमा सञ्चालन हुनेछ ।
पोडवे सञ्चालनका लागि छुट्टै ट्र्याकको व्यवस्था हुनेछ । जुन स्वाचालित हुनेछ । आवातजावतको छुट्टैछुट्टै रुट हुने भएकाले केबलकारको जस्तै पोडवेले सुविधा दिनेछ ।
पोडवे एआईले कन्ट्रोल हुने भएकाले सेवा अटोमेटिक हुनेछ । त्यसमा कस्ट एण्ड कन्ट्रोलमा मानिसको भूमिका हुनेछ । पोडवेको प्रत्येक दुई किलोमिटरमा स्टेशन हुनेछ । पोडवे स्टेशनमा रोक्ने तथा झर्ने समयमा अटोमेटिक सुविधा दिनेछ । पोडवेमा कुनै पनि स्टेशनमा कोही यात्रु झर्नु र रोक्नु छैन भने जानकारी दिएमा नरोकी जान्छ। जसमा कम्प्यूटरको सहायताले सेवा प्रदान हुन्छ ।
पोडवे निर्माणका लागि जग्गा विवाद अर्थात् मुआब्जाको कुरा नआउने भएकाले निर्माणका लागि सबैभन्दा सहज हुने उनको दाबी छ । ‘पोडवे सञ्चालनका लागि बाटोको माथिमाथि वा करिडोर भए पनि हुन्छ । पोडवे आकाशमा नै चढ्ने तथा ओरल्ने हुँदा जग्गाको विवाद आउँदैन’ उनले भने ।
तर, त्यसका लागि बाटो वा पेटी र करिडोरमाथिको सञ्चालनका लागि सरकारले अनुमति दिन जरुरी छ । अहिले पोडवे बेलारुस र अमेरिकामा सञ्चालन भइरहेको छ । त्यस्तै, मौरिसस, मलेसियामा अध्ययन भइरहेको छ भने भारतले पनि ३ सय किलोमिटर लामो पोडवे सञ्चालन गर्ने घोषणा गरेको छ ।
पोडवेमा एक पटकमा ४२ जना यात्रुले यात्रा गर्न सक्नेछन् । जसमा एक घण्टाको समयमा ५० हजारको संख्यामा आवतजावत गर्न सक्ने भट्टराई बताउँछन् । कम्पनीले ५० वटा पोडको व्यवस्था गरेमा एक पटकमा २ हजार मानिस अट्नेछन् ।
![](https://clickmandu.com/wp-content/uploads/2023/11/Podway3.png)
रेल एउटा स्टेशनमा ३ मिनेटदेखि ५ मिनेटसम्म रोक्छ भने पोडवे १५ सेकेन्ड मात्रै रोकिन्छ । १५ सेकेन्डभित्र चढ्ने र ओरल्ने काम गर्नुपर्नेछ । सर्भिस स्पिड एआईले कन्ट्रोल गर्ने भएकाले रियल टाइममा नै यात्रु तोकेको स्थानमा पुग्ने भट्टराई बताउँछन् ।
‘सबैले दिगो र पुहुँचयोग्य यातायातको सुविधा हुनुपर्छ । अहिले नेपालका निजी क्षेत्रले लगानी गर्ने तयारी गरेको छ,’ उनले भने, ‘निजी क्षेत्रको लगानीले नपुगेको खण्डमा विदेशी लगानी भित्र्याउने कम्पनीको योजना छ । कम्पनीसँग विदेशी लगानीको पनि सुनिश्तिता छ ।’
विश्वभर उक्त क्षेत्रमा लगानी गर्न आकर्षित भएकाले लगानीको अभाव नहुने उनको दाबी छ ।