अख्तियारमा अर्थको प्रस्तुति: सार्वजनिक संस्थानले विचौलियाको प्रभावमा निर्णय गरे



काठमाडौं । सार्वजनिक संस्थानहरुमा विचौलियाको प्रभावमा निर्णय हुने गरेको उजुरी बढेको छ । अर्थमन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरेको प्रस्तुतिमा सार्वजनिक संस्थानमा विचौलिया हावी भइरहेको उजुरी मन्त्रालयमा बढिरहेको उल्लेख गरेको हो ।

मन्त्रालयको संस्थान समन्वय महाशाखाले अख्तियारमा गरेको प्रस्तुतिमा सार्वजनिक संस्थानका अध्यक्ष तथा पदाधिकारीले जथाभावी काम गरेको, भ्रष्टाचार, अनियमितता गर्दै अकुत सम्पत्ति आर्जन गरेको विषयमा मन्त्रालयमा उजुरी बढिरहेको जानकारी गराएको हो ।

विभिन्न सार्वजनिक संस्थानका प्रमुखहरुसँग अख्तियारले गरेको छलफलमा अर्थमन्त्रालयले लाइसेन्स, अनुमति लगायतका काममा लेनदेन वा मिलेमतो गरी भ्रष्टाचार भइरहेको विषयमा दिनानु दिन मन्त्रालयमा उजुरी बढिरहेको बताएको हो ।

‘सार्वजनिक संस्थानहरुले विचौलियाको प्रभावका आधारमा स्वार्थ प्रेरित निर्णय गर्ने गरेको, सेवाग्राहीलाई घुस दिन बाध्य बनाएरमात्र सेवा दिएको उजुरी बढिरहेका छन्,’ अर्थमन्त्रालयले अख्तियारमा गरेको प्रस्तुतिमा भन्यो, ‘सार्वजनिक संस्थानमा आर्थिक अनुशासन तोड्ने क्रम बढेको, जथाभावी खर्च गर्ने गरेको तथा खरिदमा अनियमितता/भ्रष्टाचार हुने गरेको,
कर्मचारी भर्ना बढुवा पदपुर्तीमा अनियमितता भइरहेको विषयसमेत उजुरी परिरहेका छन् ।’

सार्वजनिक संस्थानहमा राजनीतिकरण हुने तथा जथाभावी करारमा भर्ना हुने गरेको र सेवा सुविधा, सरूवा बढुवामा नातावाद कृपावाद हावी भएको, वित्तीय संस्थाले ऋण प्रवाह गर्दा घुस लिने गरेको, कानून विपरित सेवा सुविधा लिएको तथा सम्पत्ति/ श्रोत साधनको दुरूपयोग गरेको लगायतका विषयमा उजुरी बढेको मन्त्रालयले जनाएको छ ।


क्लिकमान्डु