केही मारवाडी व्यवसायीको बदमासीले सिंगो समुदायकै बदनाम भयोः राकेश अडुकिया



केही समयअघि व्यवसायी दुर्गा प्रसाईंले राजधानीमा गरेको पत्रकार सम्मेलनमा उपस्थित भएपछि मेरा बारेमा धेरै टिका–टिप्पणी भयो । कतिपय साथीहरुले मारवाडी भएर मारवाडीविरुद्धमा विष बमन गर्ने प्रसाईंको अभियानमा किन सहभागी भएको ? भनेर प्रश्न पनि गरे । कतिपय पीडित साथीहरुले भने ठीक गर्यौं भने । तर, आज प्रष्टसँग भन्छु कि म दुर्गा प्रसाईंजीको क्याम्पमा पुगेको होइन । म उहाँलाई खोजेर गएको होइन र उहाँले बोलाएर गएको पनि होइन । पूरानो चिनाजान पनि होइन । संयोगले भेट भयो र उहाँले तपाईं पनि पीडित हुनुहुँदो रहेछ, कार्यक्रममा आएर बोलिदिनुपर्यो भन्नुभयो । गाउँ-गाउँबाट सहकारी र लघुवित्त पीडितले बोले । हामीले पनि हाम्रो पीडा बोल्यौं । मैले उहाँको अभियानलाई दुःख पोख्ने प्लेटफर्मको रुपमा मात्रै लिएको हुँ । मारवाडीबाटै ठगिनु परेको पीडा अभिव्यक्त गर्न म प्रसाईंजीको कार्यक्रममा उपस्थित भएको हुँ ।

पछिल्लो समय प्रसाईंजीले मारवाडीको विरुद्धमा बोलिरहनु भएको छ । यो समुदायमा आधारित होला र यहाँ साम्प्रदायिक दंगा हुनसक्ला भनेर हामी सजग छौं । ज-जसलाई पीडा छ आफ्नो पीडा पोख्नुहोस् तर समुदायमा आधारित भएर होइन भनिरहेका छौं । सीमित मान्छेले गर्दा ९९ प्रतिशत मारवाडी समुदायले बदनामीको भारी बोकिरहनु परेको छ । यहाँभन्दा दुःखलाग्दो कुरा अरु के हुनसक्छ र ?

अधिकांश मारवाडीले समाज सेवाको काम गरिरहेका छन् । दुःखका बेला मारवाडी समुदाय नै अग्रपंतिमा हुने हाम्रो संस्कार नै हो । तर, मारवाडी समुदायकै केही व्यक्तिले शक्तिको आडमा जे गरेर भए पनि पैसा कमाउने ध्याउन्नमा लाग्दा सिंगो समुदायकै बदनामी हुने अवस्था सिर्जना हुँदैछ । म पनि मारवाडी नै हुँ । तर, बिडम्बना म स्वयं पनि मारवाडीबाटै पीडित छु । यो कुरा मैले धेरै ठाउँमा गएर भनेँ । तर कहीँ पनि सुनुवाइ भएन । किनभने, सुनुवाइ गर्ने निकायमा तीनै सीमित मारवाडीको हालीमुहाली छ।

सबैको कुरा सुन्ने एउटा थलो त हुनुपर्यो नि ! तर, यहाँ छैन । कसैले नसुनेपछि आफ्नो पीडा राख्न र सबै मारवाडी बदनाम छैनन् र सबैलाई एउटै डालोमा राखेर गाली गर्नु हुँदैन भन्ने बुझाउन म प्रसाईंजीकोमा गएको हुँ ।

कम छैन मारवाडीको योगदान

कुनै पनि जात वा समुदायमा सबै राम्रा वा सबै खराब हुँदैनन् । इतिहास हेर्दा नेपालमा ५/६ प्रकारका मारवाडी आएका छन् । सुरुमा राजाले बोलाएर ३२ कोटी मारवाडी आए भनिन्छ । त्यसपछि बर्माबाट आएका छन् । विराटनगर र लहानमा पनि भारतका विभिन्न ठाउँबाट आएका मारवाडी छन् । नेपालमा थुप्रै प्रकारका मारवाडीको समूह छ । बर्माबाट लोटा लिएर आएको भन्दै मारवाडीलाई गाली गरिरहेको सुनिन्छ । लोटा लिएर त कोही पनि आएको होइन । त्यो बेला हङकङ, सिंगापुर दुबईभन्दा समृद्ध थियो बर्मा । त्यहाँबाट आउँदा खाली हात आउने कुरा भएन । त्यहाँबाट मारवाडीलाई भगाउँदा आज बर्मा समृद्ध भएको छ त ? पक्कै पनि छैन । यसको अर्थ बर्मामा मारवाडीको कुनै न कुनै योगदान पक्कै पनि थियो भन्ने हो । त्यो योगदान यहाँ पनि त आएको छ ।

भगवानलाई पनि साझेदार बनाउने मारवाडीहरुको संस्कार हो । यसको अर्थ के हो भने भगवानसँग साझेदारी गरेपछि सही बाटोमा लागोस्, नैतिक होस् भन्ने हो । र, अधिकांश मारवाडी सही बाटोमा छन् । नैतिकवान पनि छन् । समाज सेवाको भावले हामीहरुले मारवाडी सेवा समिति बनायौं, भवनहरु बनायौं । गौशालामा खुट्टा नभएकालाई खुट्टा लगाइरहेका छौं । वीरगञ्जमा खेतानजीहरुले कलेज खोल्नु भएको छ । केडियाजीहरुले आँखा अस्पताल खोल्नु भएको छ । यी त केही उदाहारणमात्रै हुन् ।

मारवाडीहरुलाई सामान्यरुपमा भन्दा साहुजीको ट्याग दिन्छौं । त्यो साहुजी भनेको के हामीले अगाडि राखेको नाम हो र ? होइन नि । पब्लिकले दिएको एउटा पदवी हो, सम्मान हो । आजभोलि सबै बिजनेस कम्युनिटिलाई साहुजी भन्छौं ।

मारवाडीले सुरु गरेको बिजनेश कल्चर

नेपालमा बिजनेस कल्चर नभएको अवस्थामा मारवाडीहरु यहाँ आएका थिए । मारवाडीको प्रवेशपछि नै भन्सार प्रणाली बन्यो । राज्यलाई कर आउन थाल्यो । यहाँ मारवाडीहरुले ठूलो संख्यामा रोजगारी सिर्जना गरेको छन् ।

आज एयरपोर्टमा हेर्छौं, नेपालकाको कति मान्छेहरु बाहिर गइरहेका छन् । मारवाडी समुदायको छोराछोरीहरु हेर्नुस् त, उनीहरु बाहिर पढेर नेपालमा काम सम्हाल्न आइरहेको छन् । के हामीले चाहीँ उता काम पाउदैनौं र ? बाहिर राख्न सक्दैनौं र बच्चाहरुलाई ? हामीले यहाँ लिएर आइरहेका छौं । मारवाडीले जहाँ बस्छ, त्यो ठाउँलाई घरखेत सम्झिन्छ । त्यसैले, मारवाडीले कसैलाई ठग्दै ठग्दैन । किनभने मारवाडी भनेको व्यवसायीहरुको समूह हो । उसलाई थाहा छ आफूले कति नाफा लिनुपर्ने हो । उसले मिहेनत गर्छ, रोजगारी सिर्जना गरेको हुन्छ, कर तिरेको हुन्छ, समाज सेवाको काम गरेको हुन्छ । उसले केही प्रतिशत लिएर समाज बनाउने काम गरिरहेको पनि छ । दुःख पर्दा ऊ अग्रपंतिमा आउँछ भने मारवाडीहरुले कसरी देश बिगार्छ ? केही खराब छन् भन्दैमा ९९ प्रतिशतले किन गाली खानु पर्ने ?

यहाँबाट सुरु भयो मारवाडीमा विकृति

विगतमा सबैले नैतिकरुपमा काम गर्दै आएका थिए । प्रजातन्त्र आयो । सबैले बैंकिङ लाइसेन्स पाए । तर, पछिल्लो ८÷१० वर्षमा बेथितिहरु आउन थाले । किनभने केही समूहसँग शक्ति केन्द्रिकृत भयो । जब मारवाडी समूदाय बैंकिङमा छिर्यो । त्यसपछि उनीहरुमा कसैले पैसा तिरेन भने उसको तीन पुस्ताको नाम पत्रिकामा निकालेर बेइज्जत गर्न सक्छौं भन्ने शक्ति पैदा भयो । र, शक्तिको दुरुपयोग गर्ने काम भयो । हेर्नुस् म पनि व्यापार गर्छु र तपाईं पनि व्यापार नै गर्नुहुन्छ । तपाईंले मेरो पैसा तिर्नु भएन भने म तपाईं वा तपाईंको कम्पनीसँग कुनै पनि कारोबार गर्दिन । व्यापार गर्दा खेरी कसैले पैसा तिरेन भने उसँग थप काम गरिँदैन । तर, तपाईंले त्योसँग काम गर्न सक्नुहुन्छ । इट्स फेयर इनफ ।

तर, तपाईं वा मैले कुनै बैंकबाट ऋण लिएर काम गर्छौं भने बैंक चलाउने व्यवसायीसँग तपाईं र मेरो तीन पुस्तालाई गाली गर्ने र बेइज्जत गर्ने शक्ति भयो । अर्को कुरा के हो भने बैंक चलाउनेहरु यति पहुँचवाला भए कि प्रधानमन्त्री, मन्त्री, नियामक निकाय लगायतमा सीधा पहुँच भयो । बैंक चलाउनेले तपाईं र मेरो चरित्रको बारेमा विभिन्न ठाउँमा भन्न सक्ने भए । यो मान्छे बदमास हो, यो राम्रो हो भनेर उनीहरुले नै राज्यसत्ता चलाउनेहरुलाई फ्यूलिङ गर्ने भए । र, राज्यको आँखामा पनि तपाईं र म खराब हुने भयौं । अहिलेको बेथिति पनि यही हो । यो बेथितिले हजारौं मान्छेहरु पीडित भएका छन् । त्यही हजारौंमध्येको एउटा पीडितमात्रै हुँ म ।

बिचरा हामीहरु आफ्नो जीविकोपार्जन गरिहेका छौं । कर तिरिरहेका छौं, काम गरिरहेका छौं । तर, केही मान्छेका कारण अहिले काम गर्ने स्वच्छ वातावरण भएन । मारवाडीमात्रै नभनौं, अरु जात पनि नभनौं । शक्तिलाई आफ्नो हातमा लिएका केही मान्छेले गर्दा सीधासाधा मान्छेले गरिखाने वातावरण बनेन । एउटा मान्छे छ, उसले सबै खालको व्यापार पनि गर्छ, बैंक पनि उसले चलाउँछ, बीमा पनि उसले नै चलाउँछ माइक्रोफाइनान्स र माइक्रोइन्स्युरेन्स पनि उसैले चलाउँछ । होटल पनि उसैले चलाउँछ । र, व्यापार पनि उसैले गर्छ । अब भन्नुस् अर्को मान्छेलाई के छ त गर्ने ठाउँ ?

व्यवसायीको महत्वपूर्ण कुरा भनेको वासलात हो । कुनै व्यवसायीले बैंकको कुनै पनि अध्यक्षको वासलातसँग प्रतिस्पर्धा नै गर्न सक्दैन । ऊ जुन ठाउँमा पुग्छ, उसले बैंकको ब्यालेन्ससिट अगाडि पेस गर्छ । म यो बैंकको अध्यक्ष, यो बैंकको सञ्चालक, मलाई एजेन्सी दिनुस् भन्छ । दुई मिनेटमा उसको काम बन्छ । उसको कारोबार हाम्रोभन्दा धेरै हुन्छ । अनि स्वस्थ प्रतिस्पर्धा कहाँ भयो ? या, त व्यापारिक घराना बैंकिङमा छिर्नु भएन । वा, बैंक वा बीमा कम्पनीको सञ्चालक भएको व्यक्ति कुनै पनि व्यवसायको निर्णायक भूमिकामा हुनु भएन । आफैं व्यापार गर्ने, आफैं रियलस्टेटको काम गर्ने, आफैं बैकिङ गर्ने, आफैं अरु बैंकबाट ऋण लिने अनि आफैंले अरुलाई कालोसूचीमा राख्ने उसलाई अधिकार कसरी आउँछ ? हाम्रो समस्याको मुख्य जड नै यही हो । त्यसैले, मेरो भनाइ के मात्रै हो भने जसले बैंकबाट ऋण लिएको छैन उसलाई बैंकको सञ्चालक बनाउनुहोस् ।

बैंककै सञ्चालकले अर्को बैंकबाट कर्जा लिएर डुलिरहने । तर, अरुले १० लाख ऋण नतिर्दा उसको साखा सन्तानलाई गाली गर्ने अधिकार उसले कसरी पायो ? त्यो त पाउँदैन नि । अस्तीको एउटा अन्तर्वार्तामा व्यापारीसमेत रहेका एक बैंकका अध्यक्षले मसँग ७ अर्ब रुपैयाँ बराबरको ऋण छ भने । ए बाबा, तपाईं ७ अर्बको ऋण बोकेर बैंकको अध्यक्ष भएर बस्ने अनि अर्कोले १० करोड रुपैयाँ तिरेन भने राष्ट्र बैंकदेखि अर्थमन्त्रालयलाई यो मान्छे फटाहा हो भन्न मिल्यो ? तपाईंले यो के गरिरहनु भएको छ ?

विशाल, संघाई र गोल्यान ग्रुपबाट यसरी भएँ पीडित

नामै लिएरभन्दा म एनआईसी एशिया बैंकबाट पीडित हुँ । मेरो त्रिपुरेश्वर चोकको १२ हजार वर्गफिटको सम्पत्तिमा उसले के गर्यो भने अप्रिलमा १६ करोडको सम्पत्ति मूल्यांकन गरेर १२ करोड रुपैयाँ ऋण दियो । चार महिनामा उसले सम्पत्तिको दोस्रो पटक मूल्यांकन गर्यो, सम्पत्तिको मूल्यांकन ५ करोड रुपैयाँमा झर्यो । त्यसको चार महिनामा फेरि भ्यालुएसन गर्यो र ४ करोड रुपैयाँमा झार्यो । त्यसपछि उसले हालसाविक गरेर ५ करोड रुपैयाँमा त्यो सम्पत्ति खायो । १६ करोडको मूल्यांकन भएको सम्पत्ति एक वर्षभित्रै कसरी ४ करोडमा झर्छ ? मेरो मूल प्रश्न यही हो । यति मैले दिएको सूचना गलत हो भने मलाई फर्जी सूचना दिएकोमा कारबाही हुनुपर्थ्यो । मैले दिएको सूचना सही हुँदाहुँदै बैंकले कसरी १ वर्षमै मेरो सम्पत्तिको मूल्य १२ करोड रुपैयाँले घटाउन सक्छ ? यदि, सुरुको भ्यालुएसन गलत थियो भने त्यो भ्यालुएटर र बैंकका कर्मचारीलाईचाहीँ कारबाही नहुने अनि मैलेचाहीँ सम्पत्ति नै गुमाउनु पर्ने ? यो कस्तो खालको बैंकिङ हो ?

तपाईंलाई म ग्यारेन्टीका साथ भन्छु कि असल काम गर्ने मारवाडी कोही पनि देश छाडेर जाँदैनन् । बदमासको त के भर हुन्छ र ? तर, तीनै बदमासहरुले ‘ह्याबक क्रियट’ गरिरहेका छन् ।

त्यसपछि एनआईसीले धितो पुनर्मूल्यांकनले कर्जा थेग्न नसक्ने भयो भनेर ऋण तिर्न आउनु भन्ने चिठ्ठी पठाइदियो । एनआईसी एशिया बैंकले मेरो सम्पत्तिको मूल्यांकन घटाएन मात्रै, थप पैसा पनि माग्यो । मैले पैसा तिरेँ पनि । पछि मैले बैंकले भनेजति पैसा तिरेर मेरो सम्पत्ति फिर्ता गर्छु भने, तर बैंकले मानेन । मैले बैंकको हिसाबअनुसारको पैसा तिरेर मेरो सम्पत्ति फिर्ता लिन्छुभन्दा नपाउने ? यो कस्तो नियम वा नियत हो ? मैले बुझ्न सकेको छैन ।

बैंकको काम साँवा, ब्याज र हर्जना लिने हो । ब्याज लेओस् । उसको पैसा आयो । प्रोपर्टी त लिने होइन नि । प्रोपर्टी चाहीँ मेरो फिक्स्ड एसेट होे । बैंकको पैसा तिरेपछि मैले मेरो सम्पत्ति पाउनुपर्छ । तर, विशाल ग्रुपको मुख्य लगानी रहेको एनआईसी एशिया बैंकले मेरो सम्पत्ति खायो । मेरो सम्पत्तिको १६ करोड रुपैयाँको भ्यालुएशन पनि बैंककै मान्छेले गरेको हो । र, ४ करोडको भ्यालुएशन पनि बैंककै मान्छेले गरेको हो । मैले त गरेको होइन नि ! कारबाही गर्दा त्यो भ्यालुएटरलाई कारबाही गरिदिएको भए पनि म मान्थेँ । वा, ४ करोड जसले भ्यालुएसन गरिदियो, उसलाई कारबाही गरिदिएको भए पनि मान्थेँ ।

यो विषय लिएर म राष्ट्र बैंक पनि गएँ । त्यहाँ सुनुवाइ भएन । म अदालत गएँ । तर, त्यहाँ पनि सुनुवाइ भइसकेको छैन, विचाराधीन छ । कुनै बैंकबाट ऋण लिनु अपराध हो । मैले चाहीँ २० वर्षसम्म मुद्दा खेपेर बस्ने ? मेरो के कसुर ? मैले लिँदा ८ प्रतिशत ब्याजमा दिन्छु भन्ने तर मलाई नै थाहा नदिई २० प्रतिशतसम्म पुर्याउने । २० प्रतिशत ब्याज पनि मैले तिरेँ । तर, मेरो शाखा सन्तानको बेइज्जत भयो । र, म १० वर्षसम्म पनि मुद्दा खेपेर बसिरहेको छु । के को लागि ? ज–जसले आफ्नो साँवा र ब्याज तिरेर सम्पत्ति फिर्ता लिन चाहन्छ भन्ने नियम राष्ट्र बैंकले निकाल्यो भने अदालतबाट मुद्दा फिर्ता लिँदै सम्पत्ति फिर्ता लिनेको लाइन लाग्छ ।

यतिधेरै बैंकहरु छन् । भिडको मात्रै कुरा होइन, म प्रवृत्तिको कुरा गर्दै छु । सबै बैंकले मुख्य कार्यालय चाहियो भनेर कति रियलस्टेट ओगटेर बसेका छन् । त्यो के रियलइस्टेट बैंकलाई चाहिने हो ? बैंकहरु कसको पैसा त्यसमा लगानी गरेर बसेका छन् ? कसले कमाइरहेको छ भन्दा सीमित मान्छेहरुले । जनताको पैसामा सीमित मान्छेले मात्रै कमाइरहेपछि असन्तुष्टि हुनु स्वाभाविक हो ।

जुन अहिले भइरहेको छ । र, यो मुद्दा दुर्गा प्रसाईंजीले जोडतोडका साथ उठाइरहनु भएको छ । उहाँको यो एजेन्डा व्यवहारिक छ भनेर म उहाँको अभियानमा सहभागी भएको हुँ । त्यसबाहेकका उहाँका एजेन्डामा मेरो कुनै टिप्पणी छैन । किनभने, राजनीतिमा मलाई चासो छैन । भयरहित वातावरण बिजनेश गर्न पाउनुपर्छ भन्ने मेरो माग हो ।

एनआईसी बैंकमा तपाईं एउटा एलसी खोल्न जानुभयो भने ६ महिनामा बैंकका सञ्चालक र तीनका आफन्तहरुले तपाईंको एजेन्सी खोसिदिन्छन् । मसँग थुप्रै प्रमाणहरु छन् । राम्रो बिजनेश गरिरहेको मान्छे एनआईसीसँग जोडियो भने कालोसूचीमा परिहाल्छ । र, ५/७ वर्षमा ऊ टाट पल्टिन्छ ।

यी सबै काम त बैंकका कर्मचारीले गर्न सक्ने कुरा भएन । यस्तो हर्कत सञ्चालक समितिले गर्ने हो । सञ्चालक समितिमा विशाल ग्रुप र संघाई ग्रुपका मान्छेहरु छन् । उनीहरुको नियत नै अर्कालाई सिध्याएर आफूले सम्पत्ति कुम्ल्याउने हो । जुन आम मारवाडीले गरिरहेको अभ्यासभन्दा विल्कुल फरक छ ।

विशाल ग्रुप र सांघाई ग्रुपबाट मेरो मात्रै होइन, सबैको व्यवसायमा हानी भइरहेको छ । यसले त उहाँहरुलाई क्षणिक लाभ भयो होला तर नेपालका व्यवसायी, बैंक र त्यसमा पनि मारवाडी समुदायको त बदनाम भइरहेको छ । उहाँहरुलाई कसैको मत्लब छैन । जसको सम्पत्ति भेटे पनि खाइहाल्नु हुन्छ । हामी मारवाडीलाई त बाँकी राख्नुहुन्न भने अरुलाई त के छाड्नुहुन्छ र ?

कमलादीमा मेरो जेएसबी टावर थियो । त्यो अर्का मारवाडी पवन गोल्यानजीले खाइदिनु भयो । पवनजी अध्यक्ष रहेको एनएमबि बैंकले मेरो त्यो सम्पत्ति खायो । मोतिलालजी अध्यक्षरहेको तत्कालीन सनराइज बैंकले लिलामी गर्यो र एनएमबि बैंकले कर्पोरेट अफिस चाहियो भनेर किन्यो । बैंकलाई चाहिन्छ भने उसले आफ्नो टेन्डरमा निकाल्नु पर्ने हो कि होइन ? मलाई यो ठाउँमा, यस्तो प्रयोजनका लागि यस्तो किसिमको जग्गा चाहियो भनेर सूचना निकाल्नु पर्ने हो कि होइन ? त्यसमा विभिन्न मान्छेले प्रस्ताव पेश गर्न सक्छन् । यहाँ के गरियो भने एउटा बैंकले लिलामी निकाल्ने, अर्काले किनिदिने अनि सञ्चालकहरुले आफ्नो व्यक्तिगत नाममा नामसारी गर्ने । यो भनेको सेयरधनीको पैसा फसायो र आफू मालामाल भयो । त्यसको ब्याज कसले तिर्ने ? बैंकलाई नोक्सान भयो कि भएन ? त्यो जग्गा होल्ड हुँदाहुँदै प्रहरी प्रधान कार्यालयअघि बाजुला रेष्टुरेन्ट भएको ठाउँको प्रोपर्टी एनएमबि बैंकले १ अर्ब रुपैयाँमा किनेको छ । त्यहाँ पनि बैंककै प्रधान कार्यालय बनाउने रे ! बैंकको मुख्य कार्यालय कति ठाउँमा बन्ने हो ? के अहिले एनएमबि बैंकको मुख्य कार्यालय छैन ? तर, यहाँ के छ भने रियलस्टेट व्यापारीहरु नै बैंकको अध्यक्ष छन् । त्यही कारणले ऋणीले आफ्नो ऋण तिर्छु, ब्याज तिर्छुभन्दा उसलाई फर्काउन दिँदैनन् । लिलाम बढेर यत्रो मुद्दा छन् । कसको विरोधमा छन् यी मुद्दाहरु ? त्यो हेर्यो भने प्रष्ट भइहाल्छ । बैंकले ऋणीविरुद्ध होइन कि ऋणीले बैंकविरुद्ध मुद्दा लड्नु परेको छ । ऋणीले मुद्दा जितेको अवस्थामा पनि बैंकलाई साँवा ब्याज तिर्नुपर्छ । अहिले नै हामी साँवा ब्याज तिरेर सम्पत्ति फिर्ता लिन्छौं भन्दा किन नदिने ? मुद्दानै लड्नुपर्ने ? वकिललाई खुवाउनु पर्ने ?

मैले एनआईसी एशियासँग मुद्दा लडेको १० वर्ष भयो । अझै १० वर्ष लाग्नसक्छ । २० वर्ष कुनै पनि व्यवसायीको कमाउने प्राइम टाइम हुन्छ । तर, त्यो समय मुद्दा मामिलामा सकाइदियो नि । अनि कसरी यो देशमा उद्यमशिलताको विकास हुन्छ । नयाँ उद्यमीहरु कसरी जन्मिन्छन् ? तर, यहाँ केही घरानाले पछिल्लो १५/२० वर्षमा गरेको प्रगति हेर्नुस् त, यो कसरी भइरहेको छ ? बैंकबाट ऋण लिनु पाप हो ? र, सजाय ऋणीले मात्रै भोग्नुपर्ने ? जसको क्षमता छ उसले त २० वर्ष मुद्दा लड्छ । क्षमता नहुने त एक वर्ष पनि मुद्दा लड्न सक्दैन । मुद्दा जितिहाल्यो भने पनि बैंकको साँवा ब्याज तिर्नुपर्छ । मुद्दा लड्दा खर्च भएको पैसा कसले तिर्ने ? मेरो सम्पत्ति १६ करोडको थियो, त्यसबाट बाँकी पैसा त मैले तिरेँ नि । मतलब मेरो सम्पत्ति पनि जाने, त्यसपछि त्यो पैसा चाहीँ मैले बाहिरबाट बोकेर आएर तिर्नुपर्ने ? सम्पत्ति बेचेर तिर्छु भन्दा नपाउने ? सम्पत्ति बेचेर तिर्न पाउने वातावरण भएको भए त त्यो सम्पत्ति मात्रै जान्थ्यो । तर, यहाँ तिरेको पैसाको त कुनै हरहिसाब नै हुन्न । त्यो चाहीँ बाहिरबाट ल्याएर तिर्नुपर्ने ? यो कस्तो कानुन हो ? के ऋणीहरु कमाएर बैंकका साहूजीलाई पैसा तिर्न मात्रै जन्मिएका हुन् ? बैंकले त अर्को पुस्तालाई पनि खत्तम पारिदियो । बैंकका मालिकलाई के दम्भ छ भने– हाम्रो एउटा निर्णयले तिमीहरुको तेस्रो पुस्तासम्मलाई पनि बिगारिदिन्छौं ।

जब कसैलाई अर्काको ३ पुस्तालाई गाली गर्ने तागत भयो नि, तब उसले केही देखिरहेको छैन । आज विश्वका कुन ठाउँमा ऋणीको तीन पुस्ता पत्रिकामा निकालेर गाली गर्ने अधिकार बैंकलाई छ ? यहाँ किन छ त ? तपाईंले ऋण लिनुभयो, तिर्नुभएन । उसको सम्पत्ति लिलाम गरेर असूल गरे भइहाल्यो नि ।

केही खराब मान्छेहरुले गर्दा यहाँ पूरा बिजनेश र मारवाडी समुदाय बदनाम हुनु परेको छ । कसका कारणले गाली खाइरहेका छौं भनेर हाम्रै समुदायभित्रका साथीहरुले प्वाइन्ट आउट गर्नुपर्दैन ? अनि खराब व्यक्ति यी यी हुन् भनेर समाजलाई चिनाउनु पर्दैन ?

बैंकको ऋण तिर्दिन भन्न मिल्दैन

बैंकको ऋण नतिर्ने त कुरा नै आउँदैन । बैंकको ऋण तिर्नु परिहाल्छ । ब्याज तिर्नै पर्छ, साँवा तिर्नै पर्छ । त्यसमा चाहीँ कुनै पनि दुईमत नै छैन । तर, यहाँ समस्या के हो भने ऋणको सावाँब्याज तिरेर मेरो सम्पत्ति लिन्छु भन्दा पनि पाइँदैन । यत्रा मुद्दाहरु छ अदालतमा । के मान्छे आफ्नो चाहनाले लिलाम बदरका लागि मुद्दामा गएको हो र ? आज एउटा सूचना निकाल्नुहोस् त जो–जो लिलामको मुद्दामा गइरहेको छ, तीनिहरुले आफ्नो साँवा ब्याज ल्याएमा सम्पत्ति फिर्ता हुन्छ भनेर । लिलामका अधिकांश मुद्दा एकैपटक सकिन्छन्

मेरो जग्गा खानेहरुले नै मलाई सुन काण्डमा मुछे

१ क्विन्टल सुन तस्करी प्रकरणमा केही मिडियाहरुमा मेरो नाम पनि आयो । कारण यही जग्गा हो । नत्र अरुलाई के मतलब छ र ? जोसँग बगाउनलाई पैसा थियो, उसैले मेरो नाम मिडियामा दियो । बैंकसँगको विवादमा सर्बोच्च अदालतमा जग्गाको फैसला सुनाउने मिति तोकिएको थियो । न्यायालयमा म खराब चरित्रको मानिस भएको भ्रम छर्ने उदेश्यले सुन तस्करी प्रकरणमा मेरो नाम जोडियो । म नेपालभित्रै रहँदा विदेश भाग्यो भनेर मिडियामा समाचारहरु आए । यहाँका धेरै मिडियाहरु बिकाउ छन् । विगतमा पनि यस्ता घटनाहरु व्यहोर्दै आएको छु । अरुलाई हेप्ने प्रवृत्ति यति बढिसकेको छ अस्वस्थ प्रतिस्पर्धामा उत्रिँदा १९ वर्षको छोरालाई समेत हुँदै नभएको सुन तस्करी प्रकरणमा जोडियो । मेरो छोरालाई प्रहरी लगाएर पक्राउ गरियो । राज्यका निकायले उसलाई थुन्न मानेन । तर, मेरो जग्गा हत्याउने रिसले टिनेजर छोरालाई बिनाकसुर एक रात नियन्त्रण गरिएको त सबैलाई थाहै छ । उसको टिनेज मानसिकतामा कस्तो असर पर्यो होला ? त्यसको विरोधमा कसैले बोल्यो ? कहाँ छ मारवाडी परिषद् ? यहाँ हाम्रा कुरा कसैले सुन्दैन । त्यसैले म चुपचाप नै बसेँ ।

व्यापारीले व्यापार गर्ने हो, शक्तिको खेलमा लाग्ने होइन

बिजनेसमेनहरुको धर्म पैसा कमाउने हो । पैसा कमाउने धर्ममा मात्रै हामीलाई सीमित राखिदिए हुने हो । हामीलाई राजनीतिक शक्तिदेखि अरु पावरहरु हाम्रो हातमा हुनु हुँदैन । तर, केही समूह राजनीतिक शक्तिलाई हातमा लिएर अरुलाई सिध्याउन लागि परेका छन् । जसले, कालान्तरमा उनीहरुलाई नै ब्याक फायर गर्नेछ । किनभने, यस्तो कुरा भगवानले हेरिरहेका हुन्छन् ।

असल मारवाडी कसैसँग डराउनु पर्दैन

अहिले त्यही सीमित समूहले दुर्गा प्रसाईंले उठाएका विषयका कारण मारवाडीहरु देशमा बस्न नसक्ने अवस्था आउन लाग्यो भनेर त्रास फैलाइरहेका छन् । तपाईंलाई म ग्यारेन्टीका साथ भन्छु कि असल काम गर्ने मारवाडी कोही पनि देश छाडेर जाँदैनन् । बदमासको त के भर हुन्छ र ? तर, तीनै बदमासहरुले ‘ह्याबक क्रियट’ गरिरहेका छन् । हाम्रा मिडियाहरु पनि त्यस्तै समाचार छापिदिन्छन् । तपाईंले केही बदमासी गरेको छैन भने डराउनु पर्दैन । मलाई सुन तस्करीको आरोप लगाउँदै १५/२० दिन लगातार समाचारहरु आए । मैले छोरालाई उल्टै देशमा बोलाएँ । आरामसँग नेपालमै बसेर खराब प्रवृत्तिविरुद्ध लडिरहेको छु ।

(व्यवसायी राकेश अडुकियासँग क्लिकमान्डुका लागि युवराज भट्टराईले गरेको कुराकानीको सम्पादित अंश ।)


क्लिकमान्डु