काठमाडौं महानगरले ३६ ठाउँमा राख्दै स्विच थिचेर बाटो काट्न मिल्ने ट्राफिक लाइट



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र ३६ ठाउँमा स्विच थिचेर बाटो काट्न मिल्ने पेलिकन क्रसिङ प्रणाली जडान गर्ने भएको छ ।

महानगरले सोमबार बबरमहलमा राखेको पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बालेर बाटो काट्न मिल्ने प्रविधिलाई ३६ ठाउँमा राख्न लागेको हो । महानगरका सडक सुरक्षा विज्ञ प्रशान्त खरेलले सडक विभागसँग सहकार्य गरेर यो प्रणाली जडान गर्न लागिएको जानकारी दिए ।

हाल बबरमहलमा राखिएको यही प्रणालीलाई सोमबार सञ्चालनमा ल्याइएको थियो । खरेलका अनुसार बबरमहलमा राखिएको यो प्रणालीका लागि जिल्ला अदालतसँग पनि विद्युतका लागि सहकार्य गरिएको छ ।

बबरमहल क्षेत्रमा भने आकस्मिक रुपमा दुर्घटना बढ्यो भनेर गुनासो आएसँगै महानगरले आफ्नै खर्चमा यो प्रणाली जडान गरेको उनले बताए । थप प्रविधि जडान गर्नका लागि यो साताभित्र टेन्डर खुलाउने प्रक्रियामा छ ।

‘विद्यालयअगाडि बालबालिकालाई बाटो काट्न सहज होस् भनेर प्रविधि थप जडान गर्न लागिएको हो । यो साताभित्रमा नै टेन्डर खुलाइनेछ,’ खरेलले भने ।

सोमबार बबलमहलमा उक्त ट्राफिक लाइटको उद्घाटनमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले बटन थिचेपछि ५ सेकेण्डमा हरियो बत्ती बल्ने र तोकिएको ३० सेकेण्डभित्र पैदलयात्रुले जेब्रा क्रसिङ गरिसक्नुपर्ने जानकारी दिए ।

एकपटक थिचिसकेपछि २ मिनेट भने बत्ती बल्ने छैन । उनले प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्ने र प्रयोग गर्न जान्दा राम्रो हुने बताए ।


क्लिकमान्डु