सुन्तला किसानका व्यथा: विगतमा ३ करोड रुपैयाँसम्म गाउँ भित्रिन्थ्यो, अहिले खानलाई पनि किन्नुपर्छ



लमजुङ । बेँसीसहर नगरपालिका ११ स्याउत गाउँका सुरेशबाबु पाण्डेले करिब २० वर्षदेखि चार सय रोपनी जमिनमा सुन्तलाखेती गर्दै आएका थिए । पाँच सय बोट सुन्तला लगाएका उनले बर्सेनि तीन देखि पाँच लाखसम्म आम्दानी गर्थे ।

केही वर्षदेखि सुन्तलाका बोट मर्दै गए । यतिबेला रोगले सबै सखाप भइसकेको छ । ‘अहिले त परिवारले खाने सुन्तला पनि छैन,’ पाण्डेले भने ।

सुन्तला सखाप भएपछि उनले धान र मकैखेती गर्न थालेका छन् । ‘त्यतिबेला सुन्तला बिक्री गरेर परिवारको खर्च टार्न सहज भएको थियो, अचानक रोग लागेर मर्दै जाँदा बगैँचा नै सखाप भयो । पहिला आफैँले बिक्री गरिन्थ्यो तर अहिले आफैँले अरुसँग किनेर सुन्तला खानुपरेको छ,’ उनले भने ।

सोही गाउँकी भगवती पन्तको सुन्तलाबारी पनि अहिले सखाप भएको छ । ‘करिब ५० वर्षअघि स्याउत गाउँमै पहिलो सुन्तलाखेती हामीले गरेका थियौं । तेह्र रोपनी जग्गामा ६ सय वटा सुन्तलाका बोट लगाएका थियौँ, फल राम्रौ दिन्थ्यो । बर्सेनि ६-७ लाख आम्दानी गर्दै बालबच्चा पढाउन र घरखर्च चलाएर पनि बचत गर्ने गरेका थियौँ,’ उनले भनिन् ।

अहिले उनका बारीमा ५०-६० बोट सुन्तला मात्र छन् । त्यही पनि मसिना-मसिना दाना फल्छन् । ‘यस वर्ष ७०-८० हजारसम्म आइहाल्छ कि,’ पन्तले भनिन् ।

सुन्तला नभए पनि कागती हुन्छ कि भनेर उनले तीन वर्षअघि २० हजार तिरेर एक सयवटा कागतीको बिरुवा सारिन् । तर, त्यो पनि सबै मर्‍यो ।

रमेशराज पन्तको पनि उस्तै समस्या छ । विगतमा धेरै वर्षसम्म उनी सुन्तलाबाटै वार्षिक चार-पाँच लाखसम्म आम्दानी गर्थे । २०३६ सालमा एक हजार पाँच सयवटा बिरुवाबाट सुन्तलाखेती थालेका उनले २०४० सालदेखि आम्दानी लिन थालेका थिए ।

‘२०६० सालसम्म लगाएको सुन्तलाले गाउँ नै ढाक्ने गर्थ्यो, फागुनसम्म पनि सुन्तला टिपेर भ्याउन गाह्रो हुन्थ्यो तर अहिले ३०-४० वटा बोट धेरै स्याहारसुसार र मलजल गरेर बचाएर राखेको छु,’ उनले भने, ‘यस वर्ष एक-डेढ लाखसम्म कमाइ हुने अपेक्षा छ ।’

विगतमा प्रतिगोटा २५ पैसामा समेत बिक्री गर्नुपर्दा त्यतिबेला गाउँसम्म आउने सहज बाटो  थिएन, भाउ थिएन, आफैंले झारेर ढुवानी गर्नुपर्थ्यो । ‘अहिले सुन्तलाको माग छ, बाटो सहज छ तर सुन्तला बगैँचा छैन,’ उनले भने ।

साविकको जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचीकृत गरेको यस गाउँमा केही वर्षदेखि बोटमात्रै हुँदा किसान चिन्तामा छन् । उनीहरुको मात्रै नभई गाउँमा रहेका ८० घरपरिवारले नै लामो समयदेखि सुन्तला लगाउँदै आए पनि बोटमा रोग लागेपछि अधिकांशको सुन्तला मरिसकेको छ । विगतमा गाउँमा ३ करोड रुपैयाँसम्म भित्रिने गरेको किसान सम्झिन्छन् ।

बीस वर्षको बीचमा ग्रिनिङ भाइरसका कारण सुन्तलाको जरा मर्ने, पात मर्ने, हाँगा सुक्दै जाने, साना दाना लाग्ने, कम फल्नेजस्ता समस्या किसानले झेल्दै आए पनि समाधान गर्न नसक्दा गाउँभरिका सुन्तलाबारी नै सखाप भइसकेको उनीहरुले बताएका छन् ।

साविकको जिल्ला कृषि विकास कार्यालयमा पकेट क्षेत्रमा सूचीकृत स्याउत गाउँबाहेक तार्कुको गहते, करापुटारको बेतिनी, भोर्लेटारका लामासोती, उदिपुरको धिमिरे, भोटेओडारलगायत क्षेत्रमा रोग लागेर सुन्तलाका बोट मर्दै गएपछि बगैंचा मासिँदै गएको छ । जिल्लामा उत्पादित सुन्तला कम हुँदा बाहिरी जिल्लामा उत्पादित सुन्तलाले बजार ओगेटेको छ ।

यतिबेला सुन्तला प्रतिकिलो १४० देखि १५० रुपैयाँमा बिक्री हुँदै आएको छ । कत्ले, पतेरोलगायत कीराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन (उत्पादनमा ह्रास हुने रोग), ग्रिनिङ भाइरसजस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोटजस्ता काममा किसानले ध्यान नदिएकाले सुन्तला बगैँचा मासिने क्रम बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा एक हजार दुई सय हेक्टर क्षेत्रफलभन्दा बढीमा सुन्तला खेती हुने गरे पनि केही वर्षदेखि करिब १५० हेक्टर जमिनमा मात्र सुन्तलाखेती हुने गरेको कार्यालयले जनाएको छ ।


क्लिकमान्डु