द्रुत बस सेवा फेरि सञ्चालनमा, थपियो गाडी



काठमाडौं । सरकारले रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा पुनः सञ्चालनमा ल्याएको छ । दसैंअघि शुभारम्भ गरिएको भए पनि केही द्रुत बस सेवा केही दिनमै बन्द भएको थियो ।

सञ्चालनको सुरुवाती चरणमा नै आलोचना खेपेको द्रुत बस सेवा असोज ३ गतेबाट सञ्चालनमा ल्याएको थियो । तर, महिनादिन नपुग्दै उक्त द्रुतत बस सेवा बन्द भएको थियो । उक्त सेवा बन्द भएसँगै सरकारको आलोचना भएको थियो ।

सरकारले द्रु्त बसलाई प्रभावकारी र व्यवस्थि बनाइ आइतबारबाट बस थप गरी सञ्चालनमा ल्याएको यातायात व्यवस्था विभागका सूचना अधिकारी इश्वरीदत्त पेनेरुले बताए । उनकाअनुसार यसअघि कम संख्यामा द्रुत बस सेवा सञ्चालनमा थियो । बजारमा द्रुत बस सेवा बन्द भएको अफवाह फैलाइएको भन्दै उनले बन्द नभएको बताए ।

‘सरकारले यसअघि २५ वटा बस द्रुत सेवाको लागि परिचालन गरिएको थियो,’ उनले भने, ‘दसैंको माहोलले गर्दा गाडीको संख्या कम भएको हो । बन्द भने भनेको थिएन ।’

सरकारले ११ वटा बस द्रुत बस सेवा सञ्चालनका लागि थप गरेको छ । थप गरेकोमध्ये आज २९ वटा सञ्चालनमा रहेको उनले जानकारी दिए । द्रुत बस सेवासँग सम्बन्द्ध निकायहरुसँग छलफल गरेर ३६ वटा बस सेवा दिने गरी व्यवस्थित बनाएको छ । त्यसमा आवश्यक परेमा अझै थप गर्ने योजना रहेको उनको भनाइ छ ।

द्रुत बस सेवाका गाडीहरु ३/३ मिनेटमा छुट्नेछ । सरकारले सञ्चालनको समय थप गरेको छ भने प्राथमिकताका आधारमा बस सेवा दिने भएको छ ।

‘सरकारले यसअघि देखिएको कमी कमजोरीलाई सुधार गरेर व्यवस्थापन गर्दै लैजाने भएको छ,’ उनले भने, ‘सरकारले समय थप गर्नेदेखि सेवा प्राथमिकता दिएको छ ।’

आज सूर्यविनायकदेखि रत्नपार्कको लागि १० बजेर १५ मिनेटबाट २९ वटा गाडी छुट्ने तालिका रहेको छ । सरकारले यसअघि बिहानको ९ बजेदेखि ११ बजेसम्म सबै गाडी सञ्चालनमा ल्याउने भनिएको थियो । उक्त समयलाई अहिले बिहान ८ बजेमा ल्याइएको छ ।

सर्वसाधारणलाई सहज हुने गरी ८ बजेदेखि नै द्रुत बस सञ्चालनमा ल्याएको उनको भनाइ छ । कतिपय बेला गाडीहरु रित्तै हिड्नुपर्ने अवस्थामा सिर्जना हुन्छ । त्यसैले सरकारले बिहान सूर्यविनायकबाट रत्नपार्क आउने गाडी सञ्चालनमा जोड दिएको छ भने बेलुका रत्नपार्कदेखि सूर्यविनायक जाने गाडीलाई प्राथमिकता दिएको छ ।

‘बिहान कार्यालय आउने र सहर छिर्नेको संख्या बढी हुन्छ भने बेलुका कार्यालयबाट घर जानेको संख्या बढी हुन्छ । सोहीअनुसार ट्राफिक व्यवस्थापन गरी व्यवस्थित बनाएको छ,’ उनले भने ।

अहिले गरेको व्यवस्थापनले गाडीको माग बढेमा थप गर्ने तयारी रहेको उनको भनाइ छ ।


क्लिकमान्डु