सूर्यविनायकदेखि रत्नपार्कसम्म सुधारिएको सार्वजनिक यातायातः ‘बीआरटी’का नाममा बस थप्दै सरकार



काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्ने हो भने गन्तव्यमा पुग्न लाग्ने समयभन्दा दोब्बर समय निकालेर चढ्नुपर्ने हुन्छ । कुनै ठाउँ पुग्नलाई आधा घण्टा लाग्छ भने त्यहाँसम्म पुग्दा सार्वजनिक यातायातले ठाउँ-ठाउँमा रोक्ने, जहाँ पायो त्यहीँ यात्रुलाई ओराल्ने गर्दा एक घण्टाभन्दा धेरैको समय लाग्छ । त्यसमाथि निजी, सार्वजनिक, दुई पांग्रे, चार पांग्रे सबै किसिमका सवारी साधनहरु एउटै लेनमा हिड्ने हुँदा ट्राफिक जाम हुने र अव्यवस्थित रुपमा सडक रहने समस्या पनि उत्तिकै छ ।

यही समस्या समाधान गर्न सरकारले द्रुत गतिको सार्वजनिक यातायातको सेवा उपलब्ध गराउने भन्दै गृहकार्य गरेको धेरै भइसक्यो । पटक–पटक घोषणा हुने तर कार्यान्वयनमा नआउने निरन्तरता पाएको यो गृहकार्यलाई अन्ततः मूर्त रुप दिन लागिएको छ ।

सरकारले असोज १ बाट  ‘बीआरटी’ प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेको छ । साउन १५ मा प्रधानमन्त्री निवास बालुवाटारमा यातायात क्षेत्रसँग जोडिएका सरोकारवालाहरुसँग भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रत्नपार्कदेखि सूर्यविनायकसम्म ‘बीआरटी’ प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी रहेको बताएका थिए । सोहीअनुरुप हाल सम्बन्धित निकायहरुले यो सडकखण्डमा द्रुत गतिमा सार्वजनिक यातायात सेवा सञ्चालन गर्नका लागि गृहकार्य गरिरहेको छ ।

प्रधानमन्त्री दाहालले परीक्षणकै रुपमा ठूला बसहरुलाई सञ्चालन गर्दै ‘बीआरटी’ प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्ने भन्दै उक्त बैठकमा कुरा राखेका थिए । तर, सरकारका विभिन्न निकायले गरिरहेको गृहकार्य र अन्तर्राष्ट्रिय रुपमा ‘बीआरटी’को मापदण्डअनुसार चलिरहेका सार्वजनिक यातायातहरुबीच तुलना गर्ने हो भने सरकारको तयारी अपुरो देखिन्छ । २५ बसहरुलाई दिनमा सबैभन्दा धेरै यात्रुको चाप हुने समयमा साइड लेन (देब्रे लेन)मा नै सञ्चालन गर्ने तयारी गरेको सरकारले सार्वजनिक यातायातलाई सहज बनाउन सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको देखिन्छ ।

हाल सरकारको तयारी बिहानको समयमा ९ देखि ११ बजेसम्म र साँझको समयमा ४ बजेदेखि ६ बजेसम्म साइड लेनमा यो प्रणालीअन्तर्गत २५ वटा बस सञ्चालन गर्नेछ । त्यसका लागि यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी लगायतसँग समन्वयमा काम भइरहेको ती निकायका अधिकारी बताउँछन् ।

तर, बीआरटी र सार्वजनिक यातायात क्षेत्रका जानकारहरुका अनुसार भने सरकारले गरिरहेको तयारीमा अन्तर्राष्ट्रिय रुपमा सञ्चालनमा रहेको बीआरटीको प्रणालीमा आवश्यक आधारभूत कुराहरु पनि सम्पन्न नभएको देखिन्छन् । असोज १ गतेबाट सञ्चालन गर्ने तयारी भइरहे पनि विभिन्न पक्षबाट सरकारको तयारी नै नभएको देखिएको छ । ‘बीआरटी’का नाममा यो रुटमा थप बसहरु मात्रै थप्ने किसिमले सरकारको तयारी भएको छ ।

के हो बीआरटी ? कसरी हुन्छ सहज सार्वजनिक यातायात ?

‘बीआरटी’ अर्थात ‘बस र्‍यापिड ट्रान्जिट’ भनेको बसमा आधारित सार्वजनिक यातायात प्रणाली हो, जसलाई सामान्य रुपमा चल्ने सार्वजनिक सवारी साधनभन्दा बढी क्षमता, सुविधा र गुणस्तरीय रुपमा सञ्चालन गरिएको हुन्छ । यसका लागि निश्चित मापदण्ड भएका बसहरुको प्रयोग गरिन्छ । सँगै सडक पूर्वाधारलाई पनि यही अनुरुप तयार गरिएको हुन्छ ।

साधारण रुपमा सञ्चालनमा रहने सार्वजनिक सवारीमा भएका समस्या यस्तो प्रणालीमा हुँदैनन् । तोकिएको समयमा नै आगामन र प्रस्थान हुनेदेखि भाडा तिर्ने विषयमा हुने झन्झट, ट्राफिकको समस्या, जामजस्ता समस्याहरुको समाधानका लागि यो प्रणालीको सुरुवात गरिएको हुन्छ ।

संसारभरमै पहिलो बीआरटी बस सेवा सन् १९७१ मा बेलायतको न्यु टाउनमा सुरु भएको थियो । हालसम्म विश्वभरका १६० भन्दा धेरै सहरहरुमा बीआरटी सेवा सञ्चालनमा रहेको छ, जसमध्ये धेरै ल्याटिन अमेरिकामा छ । संसारकै उत्कृष्ट बीआरटी सेवा कोलम्बियामा छ ।

सन् २००० मा सुरु भएको कोलम्बियाको बोगोटाको बीआरटी सेवा यात्रुहरुको संख्या, गाडीको गतिलगायतका विभिन्न आधारमा यसलाई उत्कृष्ट मानिन्छ । ‘ट्रान्स मिलेनियो’ नाम दिइएको यो बीआरटी ११३ किमि छ भने दैनिक यसको प्रयोगबाट २१ लाख ५० हजारभन्दा धेरै यात्रुले आवातजावत गर्ने गरेका छन् ।

जानकारहरुका अनुसार बीआरटी सेवाअन्तर्गत सार्वजनिक यातायातलाई सञ्चालन गर्दा यसका लागि डेडिकेटेड लेन हुने र त्यो लेनमा यही प्रणालीअनुसारका बस मात्रै चल्ने भएकाले साधारण सार्वजनिक यातायातमा जस्तो झन्झट हुँदैन । डेडिकेटेड लेन र अलाइनमेन्ट, भाडा तिर्ने कुरामा सहजता, चढ्न र ओराल्नका लागि मात्रै बस रोकिने, यात्रुलाई कुरेर नबस्ने, तोकिएकै समयमा प्रस्थान र आगमन हुनेजस्ता मापदण्डअनुरुप हुने भएकाले यस्तो प्रणाली हुँदा सार्वजनिक यातायातको सेवा सहज हुन जान्छ ।

यसका लागि थुप्रै पक्षहरुलाई ध्यान दिनुपर्ने हुन्छ । न्यूनतम ४० फुटभन्दा ठूला बस सञ्चालनमा हुन्छन् । ‘प्रिमियम’ शैलीको सार्वजनिक बस सेवा भएकाले यसलाई तोकिएका ठाउँहरुमा रोक्ने, सस्तो मूल्यमा सहज सेवा दिने, द्रुत गतिमा हुने, रोकिने ठाउँहरुबीचमा निश्चित दूरी हुनेजस्ता विभिन्न पक्षहरुको ख्याल गरिएको हुन्छ । मेट्रो रेलजस्ता महँगा पूर्वाधारहरुमा खर्च गर्नुको सट्टा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने र यात्रुलाई सहजै उत्कृष्ट सेवा उपलब्ध गराउनका लागि यो प्रणालीमा बसहरु सञ्चालन गरिन्छ ।

सरकारको तयारी साइड लेनमा ‘बीआरटी’, सहज होला सार्वजनिक यातायात ?

रत्नपार्कदेखि सूर्यविनायकसम्म तत्काललाई यो सुविधा सुरु गर्ने तयारीमा रहेको सरकारले देब्रे लेन वा साइड लेनमा नै यसलाई सञ्चालन गर्ने तयारी गरेको छ । यो लेनमा अहिले सबैभन्दा धेरै सार्वजनिक यातायात कुद्ने गर्छन् । निजी सवारी साधन तथा दुई पांग्रे सवारी साधनबीचको लेनबाट यात्रा गरिरहेको देख्न सकिन्छ भने साइडको लेनमा अहिले नै अव्यवस्थित रुपमा सवारी साधन चल्ने गरेका छन् ।

विश्वभरमा हेर्ने हो भने प्रायः बीचको लेन वा साइड लेनबाहेकका लेनहरुमा बीआरटी सेवालाई सञ्चालन गरिएको हुन्छ । साइडका लेनहरुमा अन्य सवारी साधनहरुको आवतजावत हुने र बीचको लेनमा यस्तो प्रणालीमा चल्ने बसहरुको आवातजावत हुने हुँदा भीड नहुने, ट्राफिक जाम नहुनेजस्ता सुविधाहरु उपभोग गर्न मिल्छ ।

तर, नेपालमा भने सरकारले साइड लेनमा नै बीआरटी सेवालाई सञ्चालन गर्ने तयारी गरेको छ । असोज १ बाट सुरु गर्ने तयारीमा रहेको सरकारले यसका लागि हालको सडककै साइडको लेनमा २५ बस यो प्रणालीमा सञ्चालन गर्ने तयारी गरिएको छ ।

सडक विभागका अनुसार हाल देब्रे लेनमा नै यसलाई सञ्चालन गर्नका लागि सडकलाई मार्किङ गर्ने तयारी छ । सडक विभागका प्रवक्ता रामहरी पोखरेल भन्छन्, ‘देब्रे लेनमा नै यसलाई सञ्चालन गर्ने तयारी छ । ९ देखि ११ र ४ देखि ६ बजेसम्मको पिक समयमा यो प्रणालीका बस चल्नेछन् । यी बस कुद्ने लेनमा अरु बस चाहिँ चल्नेछन् तर साना गाडीहरु र अन्य सवारी साधनलाई चल्न नदिने किसिमले तयारी भएको छ ।’

सरकारले तयारी गरेको ‘बीआरटी’का लागि समन्वय गरिरहेका यातायात क्षेत्रका जानकार सागर वन्तका अनुसार अहिले धेरै काम भइसकेको छैन । उनी भन्छन्, ‘त्यसमा धेरै काम भइरहेको छैन । काम मेरोबाट सुरु भएको छैन । सडक विभागले काम सुरु गराउनुपर्ने हो । सडक विभागले सडकको डिजाइन गराउनुपर्ने हो । मार्किङ गर्नुपर्ने हो । यातायातलाई सडक विभागले बसहरुलाई अर्गनाइज्ड गर्नु भन्नुभएको छ । त्यसबाहेक काम अघि बढेको छैन ।’

देब्रे वा साइड लेनमा नै द्रुत गतिमा ‘बीआरटी’ प्रणालीको परीक्षणात्मक सुरुवात गर्ने तयारी गरिरहेको सरकारले यसको व्यवस्थापन गर्न नसकेमा सार्वजनिक यातायातको यात्रा सहज होइन, थप झन्झटिलो हुने जानकार बताउँछन् । देब्रे लेनमा नै गर्न नसकिने नभए पनि हालको अवस्थामा जुन रुटमा सरकारले यसको सुरुवात गर्ने तयारी गरेको छ, त्यसका लागि भने धेरै नै ट्राफिक प्रहरी खटाउनुपर्ने वा व्यवस्थापनका लागि धेरै काम गर्नुपर्ने उनीहरु बताउँछन् ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक तथा सार्वजनिक यातायात क्षेत्रका जानकार आशिष गजुरेल भने हाल यसलाई बीआरटी नभनेर द्रुत बस सेवाका रुपमा सुरुवात गर्न खोजिएको बताउँछन् ।

‘अहिले यसलाई बीआरटी पनि भनेका छैनौं, द्रुत बस सेवा भनेका छौं,’ उनी भन्छन्, ‘सकेसम्म चाहिँ जहाँ पायो त्यहाँ नरोक्ने, टाइमटेबलमा हिँड्ने गर्न खोजेको हो । अहिले यसलाई ठ्याक्कै बीआरटीको कन्सेप्टमा चलाउन खोजेको पनि होइन । अहिले भइरहेको बसको अवस्थाभन्दा अलिकति सुधारिएको शैलीमा चलाउन खोजिएको हो । त्यसैले अहिले बाहिरको जस्तो बीआरटी, डेडिकेटेड लेन दिने, प्रायोरिटी सिग्नलिङ सिस्टम बनाउने, डिजिटल बिलिङ गर्नेजस्ता कुरा केही होइन । अहिले यसलाई परीक्षणका रुपमा गर्ने र यसबाट अनुभव लिने, के-के समस्या आउँछ, हेरेर सिक्दै जाउँ भन्ने रुपमा सुरु गर्न लागिएको हो ।’

गजुरेल विगतमा यी विषयलाई लिएर गफ मात्रै भएकाले हाललाई भने परिक्षणात्मक रुपमा पाइलट प्रोजेक्टका रुपमा यसलाई सुरुवात गर्न लागिएको बताउँछन् ।

बीआरटीका लागि विभिन्न समयमा भएका अध्ययन र मापदण्डसम्बन्धी गाइडलाइनलाई हेर्ने हो भने यसका लागि मुख्य कडी ‘डेडिकेटेड लेन’ नै हो । तर, सरकारको तयारी भने बिहान ९ देखि ११ र साँझमा ४ देखि ६ बजेसम्म देब्रे लेनमा यो प्रणालीका बस सञ्चालन गर्ने भन्ने छ । यसले कस्तो प्रतिफल दिन्छ भन्नेमा नै आशंका गर्ने ठाउँ देखिएको जानकारहरु बताउँछन् ।

गुजरेल भने बीआरटीका लागि डेडिकेटेड लेन, ट्रापिक सिग्नलिङजस्ता कुरा मुख्य भएको बताउँछन् । उनी भन्छन्, ‘अब हामीले तत्कालै लागू गर्न नसकिने, गफ मात्रै हुने जस्तो भयो । त्यसैले अहिले यसलाई पाइलट प्रोजेक्टका रुपमा बिहानको पिक समय र साँझको पिक समयमा सुरु गरौं भन्ने रुपमा अघि बढिएको छ । यसलाई चाहिँ परीक्षणात्मक रुपमा हेरौं र यसको अनुभवबाट नै अघि बढ्न सकिन्छ भनेर सुरु गर्न लागिएको हो । नत्र अध्ययन हुने, घोषणा हुने मात्रै भयो ।’

हाललाई सरकारको तयारी द्रुत सेवा दिँदा कस्तो हुन्छ भन्ने विषयमा परीक्षणात्मक रहेको उनले बताए । बीआरटी लागू गर्नका लागि धेरै लगानी गर्नुपर्ने, लेनहरु चाहिने, बसस्टपहरु चाहिनेजस्ता कुरा उल्लेख गर्दै उनी हाललाई यो लागू गरिएको रुपमा लिन नमिल्ने बताउँछन् । उनी भन्छन्, ‘बीआरटी भनेर लागू गरिएको पनि होइन ।

त्यसका लागि धेरै लगानी पनि लाग्छ, खर्च हुन्छ । त्यही अनुसारको बस लिएर आउनुपर्छ । त्यही अनुसारको लेन चाहिन्छ । बसस्टपहरु चाहिन्छ । त्यो लागू कुनै पनि हुँदैन । अहिले भइरहेको बसको सेवाभन्दा फरक किसिमले सुधारिएको रुपमा सञ्चालन गर्न खोजिएको हो । आएका समस्या सुधार गर्दै लैजाने र यसलाई एक चरणमा लगेर बीआरटीकै सुरुवात गर्ने भन्ने रुपमा यसलाई अहिले लागू गर्न लागिएको हो । यसलाई सकरात्मक रुपमा लिनुपर्छ ।’

‘पर्मिट’ नदिइएको रुटमा यातायात व्यवसायीका चलिरहेकै २५ बस

हाललाई यातायात व्यवसायीलाई नै सहभागी गराएर सरकारले यसलाई सुरुवात गर्न लागेको छ । यातायात व्यवस्था विभागका अनुसार २५ बस उनीहरुले नै उपलब्ध गराएर यो रुटमा सञ्चालन गर्नेछन् । हाल यो रुटका लागि नयाँ बसलाई पर्मिट नदिइएको अवस्था छ । यस्तोमा यातायात व्यवसायीले सञ्चालन गरिरहेकै अन्य रुटका बसलाई यहाँ ल्याएर सञ्चालन गर्न दिने तयारी सरकारको छ ।

यातायात मन्त्रालयको विकास सहायता समन्वय महाशाखामा रहेका सहसचिव अर्जुनजंग थापाका अनुसार अहिले भइरहेकै बसहरुलाई बीआरटीलाई छुट्याउने हो । अहिले चलिरहेकै बसहरुमध्येबाट लामा बस छानेर यो प्रणालीमा सञ्चालन गर्नका लागि छुट्याउन उनले बताए । उनी भन्छन्, ‘३६ देखि ४० वटा सिटभन्दा बढी सिट भएका लामा बस यातायात व्यवसायीले छुट्याएर दिनुहुन्छ । तिनीहरुलाई नै यो प्रणालीमा सञ्चालन गर्ने हो । नयाँ बस किन्ने भन्ने छैन ।’

सरकारले यातायात व्यवसायीलाई समावेश गरेर यसलाई परीक्षण गर्ने बताउँदै उनले सरकारले अलग्गै किनेर गर्नुहोस् नभनेको पनि बताए । हालको परीक्षण सफल भएमा भने व्यवसायीलाई लामा बस किन्नका लागि प्रोत्साहन गरिने थापाले बताए ।

‘रुट पर्मिट’को विषय हाल सरकारले गरिरहेको यो गृहकार्यसँग सम्बन्धित नै नरहेको सबै निकायका अधिकारी बताउँछन् । स्रोतका अनुसार सरकारले यो सडकखण्डमा ‘बीआरटी’का नाममा थप बस सञ्चालनका लागि अनुमति मात्रै दिन लागेको हो । स्रोतले भन्यो, ‘यो रुटमा अहिले पर्मिट दिइएको छैन । बीआरटीको तयारी नै बिना यसरी सुरु गर्नु भनेको रुट पर्मिट दिने नयाँ शैली हो । नत्र भने भएका साझाका ३८ वटा विद्युतीय बसलाई यहाँ सञ्चालन गरौं न !’

मन्त्रालयका सहसचिव थापाका अनुसार अहिले धुलिखेल, बनेपालगायतका रुटमा चलिरहेका बस छनोट गरेर यो प्रणालीमा सञ्चालन गर्ने तयारी छ । उनी भन्छन्, ‘ अहिले यही रुट सूर्यविनायकबाट रत्नपार्कमै चलिरहेका बसमध्ये र धुलिखेलसम्म चलिरहेकामध्येका केही बस छनोट गरी सुरु गर्ने तयारी गर्नेछौं । जक्सनहरुमा कसरी सञ्चालन गर्ने भन्ने बारेमा काम भइरहेको छ ।’

यो परीक्षणात्मक रुपमा गरिएको सुरुवात सफल भएमा भविष्यमा नयाँ र लामा बस किन्न व्यवसायीलाई प्रोत्साहन दिनुपर्ने हो वा अन्य सुविधा उपलब्ध गराउनुपर्ने हो भन्ने विषयमा अगाडि बढ्ने थापाले बताए ।

‘अहिले हामीले ट्रायल गर्नेछौं र नजिता के आउँछ भन्ने हेर्नेछौं,’ उनी भन्छन्, ‘नतिजा सकारात्मक आयो र बढावा दिनुपर्ने भयो भने सरकारले उहाँहरुलाई ठूलो बस ल्याउनका लागि सुविधा दिनुपर्ने हो वा अरु केही हो त्यसका लागि अगाडि बढ्छौं ।’

यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुका अनुसार प्रधानमन्त्रीसँग भएको भेटवार्तापश्चात हाल सडकको डिजाइन गर्ने, मार्किङ गर्नेलगायतका काम हुने चरणमा छ । त्यस्तै, यो रुटमा ‘बीआरटी’ अन्तर्गत चलाइने बस तयार गर्नेलगायत काम भएको पनि उनले बताए ।

‘सडक विभागले मार्किङ गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘ हामीले बसको व्यवस्थापन र उपलब्धताको काम लगभग क्लियर गरिसकेका छौं ।’

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले नै आफूहरुलाई यो प्रणालीमा सञ्चालन गर्ने बसहरु उपलब्ध गराउन लागेको उनले बताए । हाल बनेपा र धुलिखेल रुटमा सञ्चालन भइरहेका बस अब यो प्रणालीमा सूर्यविनायकदेखि रत्नपार्कसम्मको रुटमा सञ्चालन हुनेछन् । पनेरु भन्छन्, ‘अहिले नै नयाँ किन्नुहोस् भन्ने अवस्था पनि भएन । उहाँहरुले आफूसँग भएको राम्रा बसचाहिँ यो प्रणालीमा प्रयोग गर्ने हो ।’

इन्डाेनेसियाकाे जकार्तामा सञ्चालित बीआरटी । तस्बिर स्राेतः दाहनिल

व्यस्त हुने समयमा मात्रै ‘बीआरटी’, के छ व्यवस्थापनको तयारी ?

सरकारले हाललाई बिहान ९ देखि ११ र साँझ ४ देखि ६ सम्म यो प्रणालीका बस सञ्चालन गर्ने तयारी गरेको छ । अन्य सवारी साधन र यात्रुको पनि चाप उत्तिकै हुने समयमा यो प्रणालीका बस सञ्चालन गर्ने तयारीमा व्यवस्थापन पक्ष निकै महत्वपूर्ण देखिन्छ ।

पनेरुका अनुसार तोकिएको समयमा साइडको लेनमा बीआरटीकै बस मात्र चल्ने र अन्य आपतकालीन सेवाका सवारी साधन जस्तै: एम्बुलेन्स, दमकल मात्रै चल्नेछन् । अरु समयमा सामान्य साधारण सार्वजनिक सवारी पनि चल्नेछन् ।

सडक विभागका प्रवक्ता रामहरि पोखरेल यो प्रणालीमा बस सञ्चालन हुँदा यसलाई व्यवस्थित बनाउन प्रहरी परिचालन गर्ने तथा ट्राफिकलाई राख्ने तयारी भइरहेको छ । ट्राफिक प्रहरी, ट्राफिक लाइटलगायत राखेर व्यवस्थापन गरिने उनी बताउँछन् ।

पनेरु भने साउन १५ मा भएको प्रधानमन्त्री र यातायात क्षेत्रका अधिकारी तथा विज्ञहरुबीचको भेटवार्तामा उनले पिक टाइममा मात्रै नभएर अरु समयमा पनि सञ्चालन गर्ने कि भनेर चासो राखेका थिए । उनी भन्छन्, ‘निर्णय नै भएको चाहिँ होइन । यो फाइनल कुरा होइन । तर, प्रधानमन्त्रीले यसबारेमा विचार गर्नुस् भन्नुभएको हो । उहाँले चासो राख्नुभएको अनुसारले पनि गर्न सकिन्छ ।’

हाललाई भने त्यो रुपमा जाने हो वा पिक टाइममा मात्रै सञ्चालन गर्ने हो भन्नेमा कुनै टुंगो लागेको छैन । प्रधानमन्त्रीसँगको भेटवार्तामा उनले पिक टाइमबाहेकको समयमा पनि परीक्षण गरेर हेर्ने कि भन्नेबारे चासो राखेको त्यहाँ पुगेका अधिकारी बताउँछन् ।

यातायात मन्त्रालयका सहसचिव अर्जुनजंग थापाका अनुसार भेटवार्तामा प्रधानमन्त्रीले पिक आवरमा भन्दा पनि अरु समयमा सञ्चालन गरेर हेर्ने कि भन्ने विषयमा आदेश दिएका थिए । अनुभवबिना नै व्यस्त हुने समयमा गर्दा झन्झट हुने भन्ने विषयलाई लिएर प्रधानमन्त्रीले चासो राखेको उनले बताए ।

‘प्रधानमन्त्रीज्यूले पिक आवरमा भन्दा अरु समयमा पनि सञ्चालन गरेर हेर्नुहोस् भन्ने आदेश दिनुभएको थियो त्यो भेटवार्तामा,’ उनले भने, ‘पिक आवरमा गर्न लागेका छौं । अनुभव नभई गर्दा झन्झट होला भन्नुभएको थियो । अरु समयमा पनि गर र त्यसपछि पिक आवरमा गर्नु भन्ने आदेश दिनुभएको थियो । अब यसलाई कसरी अघि व्यवसायीहरुले कसरी अघि बढाउनुहुन्छ त्यो पछि थाहा हुन्छ ।’

तत्काललाई भने सरकारको तयारी बिहान ९ देखि ११ र साँझ ४ देखि ६ सम्मका लागि नै यो प्रणालीका बसहरु सञ्चालन गर्ने नै छ । यातायात व्यवस्था विभागका सूचना अधिकारी पनेरुका अनुसार यसलाई व्यवस्थापन गर्नका लागि पनि गृहकार्य भइरहेको छ ।

‘साइड लेनमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा ट्राफिकसँग कुरा भएको छ,’ उनी भन्छन्, ‘कुन ठाउँमा बत्ती राख्ने, कुन ठाउँमा म्यानुअल्ली ट्राफिक राखेर यसलाई सहज बनाउने भन्ने बारेमा कुरा भएको छ । केही थप संख्यामा ट्राफिक पनि राखिन्छन् । सडकमा व्यवस्थापनका लागि ट्राफिकले मिलाउने र मार्किङ गर्ने काम हुन्छ ।’

सडक पनि विभिन्न ठाउँमा व्यवस्थित गर्नुपर्ने अवस्थामा रहेको उनले बताए । सडक विभागले त्यसमा काम गर्ने उनी बताउँछन् । भन्छन्, ‘अहिले हाम्रो सडकको संरचना नै त्यस्तै छ । मिलाउनुपर्ने ठाउँहरुमा मिलाइन्छ । भएको सडक भत्काएर नयाँ बनाउने भन्ने पनि अवस्था छैन ।’

वर्षाका कारण मार्किङमा ढिलाइ, परीक्षण सफल भएमा चक्रपथमा पनि विकास गरिने

असोज १ बाट बीआरटीको सुरुवात गर्ने भनिए पनि विभिन्न कारणले तोकिएको समयमा नहुने देखिन्छ । सडक विभाग आफैं यसमा आशंका गरिरहेको छ । वर्षाका कारण मार्किङमा समस्या भइरहेको विभागका प्रवक्ता पोखरेल बताउँछन् ।

‘बीआरटीका लागि सडकको मार्किङ गर्ने कामका लागि हामी फाइनल गर्दैछौं,’ उनले भने, ‘सकेसम्म असोज १ गते गर्ने भनेको हो । तर, पानी परिरहेका कारण हामीलाई पनि कामका लागि असहजता भइरहेको छ । मौसम यस्तो भएको छ । कतिको भ्याइन्छ भन्ने हो । सकेसम्म असोज १ बाट सञ्चालन गर्ने तयारी छ ।’

परीक्षणात्मक रुपमा सुरु गरिएको यो बस सेवा सञ्चालन सफल भएमा सरकारको तयारी भने चक्रपथमा पनि यस्तै सेवा उपलब्ध गराउने रहेको छ । मन्त्रालयका सहसचिव थापाका अनुसार विस्तारित चक्रपथअन्तर्गतका सडक खण्डहरुमा पनि यो सुविधा उपलब्ध गराइनेछ ।

‘यो सफल भएमा अबको योजना भनेको चक्रपथअन्तर्गतको विस्तार भएको जुन सडकखण्ड छन्, त्यहाँ पनि यो सुविधा उपलब्ध गराउने किसिमले सोचेका छौं,’ उनी भन्छन्, ‘महाराजगन्ज खण्डमा रहेको सडकमा पनि यसलाई सञ्चालन गर्न सक्छौं । अहिलेको प्रशिक्षण सफल भएमा चक्रपथको विस्तारलाई त्यही रुपमा निर्माण गर्न सकिन्छ । यो पटकको ट्रायलले हामीलाई पछिका लागि आइडिया दिन्छ ।’


युवराज भट्टराई