अलैँचीबाट २४ करोड आम्दानी
लमजुङ । अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरी २४ करोड रुपैयाँ आम्दानी गरेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन इकाइ लमजुङका अनुसार जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट यस वर्ष यतिका रकम आम्दानी भएको हो ।
आर्थिक वर्ष २०८०र८१ मा अलैँची दाना बिक्रीबाट सो रकम आम्दानी भएको परियोजना कार्यान्वयन इकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारले जानकारी दिए । यहाँ विसं २०४१ बाट अलैँचीखेती विस्तार हुँदै आएको छ । अधिकृत मिजारका अनुसार यस वर्ष जिल्लाका किसानले प्रतिकिलो एक हजार दुई सय रुपैयाँका दरले अलैँची बिक्री भएको छ ।
गत वर्ष तीन सय ८० मेट्रिक टन अलैँची दाना बिक्रीबाट २० करोड रुपैयाँ आम्दानी भएको थियो । आव २०७९र८० मा प्रतिकिलो अलैँची कम्तीमा पाँच सय ५० रुपैयाँदेखि सात सयसम्म बिक्री भएको थियो । उत्पादनका हिसाबले अलैँची दाना उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा जिल्लाका किसानले यस वर्ष हालसम्मकै बढी आम्दानी गरेका छन् ।
आव २०७८र७९ मा तीन सय ३५ मेट्रिक टन अलैँची दाना बिक्रीबाट १५ करोड रुपैयाँ आम्दानी भएको थियो । त्यस्तै, एक दशकअघि १३ करोड रुपैयाँ अलैँची दाना बिक्रीबाट आम्दानी भएको थियो । आव २०७७र७८ मा तीन हजार पाँच सय क्विन्टल अलैँची दाना बिक्रीबाट १८ करोड २० लाख आम्दानी भएको थियो । उक्त वर्ष नौ सय ५० देखि साढे एक हजार रुपैयाँ बढी मूल्यमा बिक्री गरेका थिए ।
आव २०७६र७७ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची दाना बिक्री गरेर किसानले १२ करोड आम्दानी गरेका थिए । त्यस्तै आव २०७५र७६ मा सात सय ५० क्विन्टल अलैँची दाना बिक्रीबाट किसानले पाँच करोड २५ लाख रुपैयाँ आम्दानी गरेका थिए ।
मस्र्याङ्दी गाउँपालिका–७ लुदीका सोमबहादुर तामाङले यस वर्ष गत वर्षको तुलनामा कम उत्पादन गरी बढी आम्दानी गर्नुभएको छ । दुई सय ७५ किलो अलैँची दाना बिक्रीबाट तीन लाख ७१ हजार दुई सय ५० रुपैयाँ आम्दानी गरेको उनले बताए । उनका अनुसार गत वर्ष साढे तीन क्विन्टल अलैँची दाना बिक्री गरेर करिब दुई लाखमात्र आम्दानी भएको थियो ।
जिल्लाभरिका अधिकांश किसानले एक हजार दुई सयमा प्रतिकिलो अलैँची बिक्री गरे पनि यहाँका तामाङसहित गाउँलेले एक हजार तीन सय ५० रुपैयाँ प्रतिकिलो अलैँची दाना बिक्री गरेको बताइएको छ । तामाङले मात्र नभई जिल्लाका अधिकांश अलैँची किसानको अलैंची खेतीबाट अलैँची दाना उत्पादन कम गरेका छन् । जिल्लाका किसानले कुनैबेला प्रतिकिलो दुई हजार दुई सय रुपैयाँसम्म अलैँची दाना बिक्रीबाट लिने गरेको थिए ।