सामाजिक सुरक्षा कर ५७.७८ अर्ब संकलन, सामाजिक सुरक्षा कोषलाई दिन अर्थ मन्त्रालयको आनाकानी



काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध नभएका श्रमिकबाट गत आर्थिक वर्ष २०७९/८० मा मात्रै साढे ८ अर्ब रुपैयाँ सामाजिक सुरक्षा कर संकलन भएको छ ।

आन्तरिक राजस्व कार्यालयको तथ्यांकअनुसार आव २०६६/६७ यताका १३ वर्षमा ५७ अर्ब ७८ करोड रुपैयाँ सामाजिक सुरक्षा कर संकलन भएको छ ।

आर्थिक वर्ष २०६७/६८ को आर्थिक ऐनले सामाजिक सुरक्षा करको व्यवस्था गरेको हो । यो व्यवस्थाअनुसार पारिश्रमिक आयआर्जन गर्ने व्यक्तिहरूबाट करयोग्य आयको पहिलो स्ल्याबमा १ प्रतिशत कर लगाउने व्यवस्था छ ।

यही व्यवस्थामा टेकेर सरकारले २०६७/६८ मै ७० करोड ६९ लाख रुपैयाँ सामाजिक सुरक्षा कर संकलन गरेको थियो ।

सामाजिक सुरक्षा कोषमा आबद्ध भएकाहरुले भने यस्तो कर तिर्नु पर्दैन । कोषमा आबद्ध भएकाहरुको हकमा भने २० प्रतिशत सम्बन्धित रोजगारदाता र ११ प्रतिशत श्रमिकबाट गरेर ३१ प्रतिशत संकलन हुन्छ । कोषमा आबद्ध नभएकाको हकमा मात्रै सरकारले १ प्रतिशत सामाजिक सुरक्षा कर लिँदै आएको छ ।

यो रकम पनि सामाजिक सुरक्षा कोषमा दाखिला गनुपर्ने व्यवस्था सामाजिक सुरक्षा ऐनले गरेको छ । तर, सरकारले यो रकम कोषलाई दिएको छैन । नेपालमा आार्थिक वर्ष २०६६/६७ देखि सामाजिक सुरक्षा कर लागू भएको हो ।


क्लिकमान्डु