४२ करोडमा ‘रेट्रोफिट’ गरिएको सिंहदरबारको पुरानो भवनमा सरे प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको कामको प्रकृति र गुण नयाँ ढंगबाट अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बुधबार सिंहदरबार पश्चिम तर्फको (रेट्रो फिटिंग भएको) भागमा बनाइएको कार्यालयमा सरेसँगै उनले सरकारका कामकारबाही अब नयाँ ढंगबाट अघि बढाउने बताएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मात्रै नसारिएको बताउँदै उनको कामको प्रकृति र गुणपनि अब नयाँ ढंगले जाने संकल्प रहेको महशुस गरेको बताए ।

पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुम्म परेर बस्नुपरेको अनुभव सुनाउँदै उनले अब ताजा भइ काम गर्न पाएको महशुस गरेको बताए । नयाँ भवन शुभारम्भले नयाँ गति पक्रिने र एकता अझ बलियो बन्ने बताए ।

१२० वर्ष पुरानो यो भवनलाई त्यसको मुल संरचना जस्ताको त्यस्तै राखेर भूकम्पबाट भएको क्षतिलाई पुनःनिर्माण भएको छ ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै शहरी विकासमन्त्री सीता गुरुङले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको प्रवलीकरण गर्ने काम लगभग पूरा भएको जानकारी दिइन् ।

पहिलो चरणको आयोजनाको ठेक्काअनुसार ४२ करोड हाराहारीको रकममा प्रवलीकरण गर्ने काम सम्पन्न भएको उनले जानकारी दिइन् ।

‘२०७२ सालको भूकम्पले क्षतविक्षत भएको संरचनाको प्रवलीकरण गर्ने काम लगभग पूरा भएको छ । बाँकी नसकिएको भनेको इन्टेरियरको संरचना बनाउनु पर्नेछ, त्यसका लागि अर्को आयोजनाका लागि ठेक्का अघि बढाएकाले अलि सम्पन्न भएको होइन की भन्ने देखिन्छ, तर जुन ४२ करोड हाराहारीको रकममा प्रवलीकरण गर्ने भन्नेकुरा सम्पन्न भएको छ’ उनले भनिन् ।

०७२ सालमा गएको भूकम्पबाट क्षति भएको संरचनालाई रेट्रो फिटिङ गरेर अहिले प्रधानमन्त्री सोही कार्यालयमा सरेका हुन् ।


क्लिकमान्डु