लघुवित्तपीडित भन्छन्: दुर्गाजी ! चिहानको राजसंस्था त्याग्नुस्, अनि मात्र सहकार्य हुन्छ



काठमाडौं । लघुवित्त वित्तीय संस्थाविरुद्ध संघर्ष गर्दै आएकाहरुले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई राजसंस्था त्यागेमात्र सहकार्य हुने स्पष्ट पारेका छन् । ‘लघुवित्त वित्तीय संस्थाविरुद्धको संघर्ष समिति’ले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी दुर्गा प्रसार्इं राजसंस्थाको मुद्दा त्याग्न तयार भएमात्र सहकार्य हुने बताएका हुन् ।

कार्यक्रममा समितिका अध्यक्ष मनिराम ज्ञवालीले राजतन्त्रको मुद्दा बोक्ने प्रसाईंबाट वित्तीय अराजकताबाट पीडित जनताले मुक्ति नपाउने ठोकुवा गरे । बैंक, सहकारी र लघुवित्त पीडित जनताको सहानुभूति लिएर राजतन्त्र फर्काउने प्रसाईंको द्वैध चरित्रसहितको सपना पूरा नहुने उनको जिकिर छ ।

‘दुर्गाजी ! जनताको पीडक राजसंस्थाको मुद्दा त्यागेर आउनुस्, भोलिबाटै हामी हातेमालो गर्न तयार छौं तर तपाईं पीडितको फेरो समाएर चिहानको कंकाललाई जीवित पर्ने सोच त्याग्नुस्,’ ज्ञवालीले भने, ‘राजतन्त्र फालेर बल्ल बोल्ने र आन्दोलन गर्ने अवसर मिलेको छ, यही आन्दोनलनबाट सरकारले सम्बोधन गर्नेमा हामी विश्वस्त छौं ।’

लघुवित्त पीडितको नारा बेचेर प्रसाईंले राजसंस्था ल्याउने आधार बनाउन लागेको भन्दै सहभागीले आक्रोश व्यक्त गरे । आफूहरुले २२ महिनादेखि आन्दोलन गर्दै आएको मुद्दा उठाएर प्रसाईंले संघर्षलाई डाइभर्ट गर्न लागेको उनीहरुको आरोप छ ।

‘ठूलो त्याग गरेर सामन्ती राजतन्त्र फाल्यौं, पुनः त्यसैको पुन:स्थापना गर्न पीडित जनतालाई भ्रमित पार्दै बितण्डा मच्चाउने प्रसाईंको सपना पूरा हुनै सक्दैन,’ संघर्ष समितिका संरक्षक अगस्त अधिकारीले भने ।

संघर्ष समितिका सुदूरपश्चिम प्रदेश इन्चार्ज मणिप्रसाद चौलागाईंले आफूहरुको आन्दोलन र दुर्गा प्रसाईंको आन्दोलनमा आकाश-पातालको अन्तर रहेको धारणा राखे । सरकारले वित्तीय माफियाहरुलाई कारबाही गर्न नसके आफूहरुले सडकबाट कारबाही गर्ने चेतावनी उनले दिए ।


क्लिकमान्डु