सिंहदरबारमा निजी क्षेत्रसँग प्रधानमन्त्री र मन्त्रीहरुको बैठक



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारको विषयमा छलफल गर्न बोलाएको बैठक बसिरहेको छ ।
मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्रीसहित उपप्रधान तथा रक्षामन्त्री, गृहमन्त्री, अर्थमन्त्री, पर्यटनमन्त्री, भूमिसुधार, शहरी विकास मन्त्री, कृषि तथा पशुपन्क्षी विकास मन्त्री, श्रममन्त्री लगायत सहभागी छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तथा दुवै डेपुटी गभर्नर निलम ढुंगाना र बमबहादुर मिश्र पनि बैठकमा छन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट पनि बैठकमा सहभागी छन् ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कर्मर्शका अध्यक्षहरु क्रमश:चन्द्र ढकाल, राजेश अग्रवाल र राजेन्द्र मल्ला तथा वरिष्ठ उपाध्यक्षहरु अन्जन श्रेष्ठ लगायत योजना आयोगका सदस्यहरु बैठकमा सहभागी छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमानअध्यक्ष शेखर गोल्छा र नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णु अग्रवाल पनि सिंहदरबार पुगेका छन् ।

अर्थशास्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्ले तथा अर्थशास्त्री विश्वास गौचन पनि बैठकमा भाग लिन पुगेका छन् ।

अर्थतन्त्रको बाह्य क्षेत्र सुधार हुँदासमेत आन्तरिक अर्थतन्त्र चलायमान हुन नसक्नुको कारणका विषयमा प्रधानमन्त्रीले निजी क्षेत्रको धारणा सुन्न चाहेको बताइएको छ ।

बैठकको सुरुमा अर्थमन्त्री डा प्रकाशशरण महतले देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी गराएका छन् ।


क्लिकमान्डु