सीमा समस्या समाधानका लागि बैठक बस्न नेपालले गर्‍यो भारतलाई पत्राचार



काठमाडौं । नेपाल सरकारले सीमा समस्या समाधानका लागि यथाशीघ्र बैठक बस्न भारतलाई पत्राचार गरेको छ । सीमासम्बन्धी समस्याको प्राविधिक विषय समाधान गर्न बनेको बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी)को बैठकका लागि नेपालले भारतलाई प्रस्ताव गरेको हो ।

बीडब्लूजीको बैठक यथाशीघ्र आयोजना गर्न प्रस्ताव गरी भारतलाई पत्राचार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । तर, अहिलेसम्म भारतका तर्फबाट कुनै जवाफ आएको छैन ।

संसदको दोस्रो अधिवेशनमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले कालापानी, लिपुलेक, लिम्पियाधुराको सीमा समस्या समाधानका लागि सरकारले गरिरहेको कूटनीतिक प्रयासको प्रगति माग गरेका थिए ।

जवाफमा परराष्ट्र मन्त्रालयले बीडब्लूजीको बैठक बोलाउन प्रस्ताव गरी पत्राचार गरिएको जानकारी दिएको हो । ‘बीडब्लूजीको बैठक यथाशीघ्र आयोजना गर्न नेपालको तर्फबाट प्रस्ताव गरी भारतीय पक्षलाई पत्राचार गरिएको’ लिखित जवाफमा उल्लेख छ ।

मन्त्रालयले ‘सीमासम्बन्धी नसुल्झिएका विषयलाई सुल्झाउन कूटनीतिक स्तरमा वार्ताका लागि नेपालको तर्फबाट भारत सरकारसमक्ष निरन्तर प्रयास हुँदै आएको’ जनाएको छ ।

बीडब्लूजीको पछिल्लो बैठक भारतको देहरादुनमा सन् २०१९ अगष्ट २८ देखि ३० सम्म बसेको थियो । त्यसपछि अर्को बैठक राख्ने प्रयास नेपालको तर्फबाट निरन्तर भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अप्रिल १ देखि ३ सम्म तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा द्विपक्षीय संयन्त्रमार्फत सीमासम्बन्धी विषय सम्बोधन गर्न भारतीय पक्षलाई आग्रह गरेका थिए ।

गत मे ३१ देखि जुन ३ तारिखसम्म प्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा पनि यो विषयमा छलफल भएको थियो ।

प्रचण्डले पनि द्विपक्षीय संयन्त्रमार्फत सीमासम्बन्धी विषय सम्बोधन गर्न भारतीय पक्षलाई आग्रह गरेका थिए । त्यस क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सीमालगायत थाँती रहेका सबै समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।


क्लिकमान्डु