यो देशमा केही गर्दा पनि नहुनेः उपसभामुख राना



काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालमा ठूला महल बनाउन दिन नहुने बताएकी छन् । हरेक मानिसले घर बनाउँदै जाँदा नेपालमा खालि जमिन खेतीका लागि बाँकी नरहने हुँदा अब ठूला महल बनाउने कार्य रोक्नुपर्ने उनको भनाइ छ ।

विश्व शौचालय दिवसको अवसरमा ललतिपुरमा शुक्रबार आयोजित कार्यक्रममा उनले दुई-तीन जनाका लागि हरेक मानिसले घर बनाउँदै जाने हो भने भविष्यमा नेपालालाई खानका लागि खाद्यान्न अपुग हुने बताइन् । उनले राम्रो काम गर्दा असहयोग गर्ने परिपाटीका कारण  नेपालमा जे गरे पनि नहुने अवस्था देखिँदै गएको तर्क गरिन् ।

‘महल बनाउनका लागि जो नक्सा पास गर्न आउँछन् नि त्यो म मेयर भए रोकिदिन्थेँ । सबैले घर बनाउँदै जाने दुई, तीन जनाका लागि भने कहाँ बच्छ, सबै जंगल फाँड्छन् । खानलाई पनि पुग्दैन जस्तो लाग्छ, विश्वको अवस्था हेर्ने हो भने,’ उनले भनिन् ।

भारतले चिनी रोकिदिँदा सबै मानिस बाहिर जानुपरेको उदाहरण उनले पेस गरिन् । ‘विदेशी फूललाई ब्यान्ड गर्नुभयो, बालेन्द्र साहले तर यता नेपालीले मालाको मूल्य नै बढाए,’ उपसभामुख रानाले भनिन्, ‘कोरोनाको बेलामा मैले खाना खुवाउँदा दरबारमार्गमा फोहोर भयो भनेर विरोध गरे । मैले खाना खानेहरुलाई पनि बोलाएर त्यहीँ बेस्करी सफा गरेको छु ।’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मेयर बनेलगत्तै काठमाडौंका शौचालय व्यवस्थापनका लागि गरेको पहलमा होटल व्यवसायीहरुले नै असहयोग गरेकोप्रति उनले दुःख व्यक्त गरिन् ।

यो वर्षको विश्व शौचालय दिवसको नारा ‘परिवर्तनको गति बढाउँदै’ भन्ने रहेको छ । यस वर्ष पनि संयुक्त राष्ट्र संघको आह्वानमा १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ । दिगो विकास लक्ष्यको छैठौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय समावेश छ ।

तर, सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्‍याउने र पूर्णरूपमा सरसफाइको अवस्थामा पुर्‍याउनमा प्रगति भने सुस्त गतिमा छ । राष्ट्र संघका अनुसार विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन् ।


क्लिकमान्डु