भूकम्पपीडितलाई अस्थायी आवासका लागि सरकारले ५० हजार दिने
काठमाडौं । सरकारले जाजरकोट केन्द्रबिन्दु भइ गएको भूकम्पले क्षति भएका घरपरिवारलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक १७ गते जाजरकोट केन्द्र भएर गएको भूकम्बाट प्रभावित क्षेत्रहरुमा प्रभावित व्यक्तिहरुलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ- संवत् २०८० कात्तिक १७ गते राति जाजरकोट केन्द्र भएर गएको भूकम्पपछिको व्यवस्थापनका सम्बन्धमा भूकम्पबाट प्रभावित क्षेत्रहरूमा प्रभावित व्यक्तिहरूका लागि तत्काल अस्थायी आवास निर्माण गर्नुपर्ने देखिएको छ । जसमा भूकम्पका कारण आवासको पूर्ण क्षति भएका र आंशिक क्षति भए तापनि बसोबास गर्न योग्य नरहेका घरपरिवारलाई अस्थायी आवास निर्माणका लागि दुई किस्तामा गरी प्रति परिवार ५० हजार उपलब्ध गराउने ।