विद्युतीय सवारीलाई प्रवर्धन गर्दा राजस्व घट्यो: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले विद्युतीय सवारीलाई प्रवर्धन गर्ने नीति लिँदा राजस्व घटेको बताएका छन् ।

शुक्रबार अर्थसमितिको बैठकमा अर्थमन्त्री महतले इन्धनबाट चल्ने सवारीभन्दा विद्युतीय गाडीमा कम कर लाग्ने र पछिल्लो समय विद्युतीय सवारीको आयात बढेकाले राजस्व बढ्न नसकेको बताए ।

‘ इन्धन गाडी आउँदा ३०० प्रतिशतसम्म कर लाग्छ,’ महतले भने, ‘विद्युतीय सवारीमा १० प्रतिशत देखि बढीमा ४५ प्रतिशत सम्म भन्सार लाग्छ । जसले गर्दा राजस्वमा कमी आएको हो ।’

गत आर्थिक वर्षमा सोचेजस्तो आर्थिक वृद्धि हुन नसकेको उनले बताए । मन्त्री महतले चालु आव सुरु भएयता अर्थतन्त्रमा केही ठोस सुधारको आधार सृजना दाबी गरे । तर, राजस्वमा भने सुधार हुन नसेकेको उनको भनाइ छ ।

गत आवको असोजको तुलनामा ९.३ प्रतिशतले राजस्व बढेको महतले बताए । चुनौतिका बाबजुत पनि राजस्व बढेको उनको दाबी छ ।

कतिपय कर घटेको र कतिपय प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसकिएको अर्थमन्त्री महतले बताए ।

नेपालमा सामाजिक सञ्जालबाट कर उठाउन नसकेको भन्दै अब दर्ता गराएर करको दायरामा ल्याउन बाँकि रहेको बताए ।

सरकार वैदेशिक ऋण र अन्तरिक ऋणबाट विदेशी तथा स्वदेशि ऋणको साँवा ब्याज, कर्मचारीको तलब सामाजिक सुरक्षा बापतको रकम ब्यहोर्न परेको मन्त्री महतको तर्कछ ।

अन्य देशले लिने ऋण नेपालको भन्दा बढी रहेको बताए । लिएको ऋण अनुत्पादक क्षेत्रमा लगानी नगर्ने उनको दाबी छ । सहुलियतपूर्ण ऋण र अनुदानलाई जोड दिएको, जलवायु परिवर्तनबाट पाउने पैसामा फोकस हुने महतले बताए।

अप्पर अरुण आयोजनाले कार्बन उत्सर्जन कम गर्न सहयोग गर्ने भएकाले विश्व बैंकले लगानी गर्न रुची देखाएको अर्थमन्त्री महतले संसदीय समितिलाई जानकारी दिए ।

यस्तै एसियाली विकास बैंकले अर्धजलाशय युक्त दुधकोशी आयोजनामा लगानी गर्न लागेको मन्त्री महतले जानकारी गराए ।

नेपालमा बैदेशिक लगानी बढाउन कानुनमा संशोधन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

‘वैशाख पहिलो साता लगानी सम्मेलनको लागि तयारी गरिरहेका छौं,’उनले भने,’त्यसका लागि बिहीबारको मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगिएको छ।’


क्लिकमान्डु