दुई दशकपछि आईपीओ ल्याउँदै टाटा, साढे ३७ करोड डलर लगानी जुटाउँदै



काठमाडौं । विश्व चर्चित भारतीय कम्पनी टाटाले दुई दशकपछि लगानी वृद्धिका लागि आईपीओ ल्याउने भएको छ । टाटा ग्रुपअन्तर्गत टाटा टेक्नोलोजिजले आईपीओ निस्कासन गर्ने तयारी गरेको हो ।

समाचार एजेन्सी रोयटर्सकाअनुसार टाटाले मोर्गन स्टेन्ली इन्भेष्टमेन्ट म्यानेजमेन्ट, ब्ल्याकरक र अन्य अमेरिकी कम्पनीहरुसँग आफ्नो आईपीओमा लगानी गर्नका लागि कुरा गरिरहेको छ ।

दुई अर्ब ५० करोड अमेरिकी डलर (३ खर्ब ३३ अर्ब ६७ करोड ६२ लाख नेपाली रुपैयाँ)को मूल्यांकनमा टाटाले हालका लागि ३७ करोड ५० लाख अमेरिकी डलर (५० अर्ब ५ करोड २२ लाख नेपाली रुपैयाँ) बराबरको लगानी जुटाउन लागेको हो ।

हाल टाटा टेक्नोलोजिजको आईपीओका लागि गरिएको कम्पनीको मूल्यांकन गत महिना गरिएको मूल्यांकन भन्दा २५ प्रतिशत धेरै हो ।

टाटा टेक्नोलोजिज विश्वव्यापी रुपमा नै प्रोडक्ट इञ्जिनियरिङ र डिजिटल सेवासम्बन्धि कम्पनी हो । कम्पनीले विश्वव्यापी रुपमा नै ओरिजिनल इक्विपमेन्ट म्यानुफेक्चरिंग गर्ने गर्छ । हाल ११ हजारभन्दा धेरै कर्मचारी रहेको यो भारतीय कम्पनीमा सीईओ भने वारेन हैरिस रहेका छन् ।


क्लिकमान्डु