नेपाल पुनर्बीमाले १ अर्ब दाबी भुक्तान गर्न बाँकी, किन हुन सकेन भुक्तानी ?



काठमाडौं । दाबी भुक्तानीमा नेपाल पुनर्बीमा कम्पनी कमजोर देखिएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्ममा १ अर्ब ३८ करोडभन्दा बढी दाबी भुक्तानी गर्न बाँकी रहेको हो ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७१/७२ देखि आव २०७८/७९ सम्ममा भुक्तान गर्नुपर्ने रकममा भारी वृद्धि भएको छ । आव २०७१/७२ मा ४ करोड ६० लाख दाबी भुक्तानी बाँकी रहेकोमा आव २०७८/७९ मा १ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ भुक्तान गर्न बाँकी छ ।

दाबी भुक्तानीमा उदार बन्न नसकेको कम्पनीले ८ वर्षको अवधिमा खुद नाफा भने ३७० प्रतिशतले बढाएको छ । आव २०७१/७२ मा ३६ करोड खुद नाफा कमाएको कम्पनीले आव २०७८/७९ मा १ अर्ब ७० करोड रुपैयाँ पुर्‍याएको छ ।

समीक्षा अवधिमा कम्पनीले कुल बीमा शुल्क ७८ करोडबाट बढाएर १२ अर्ब ३६ करोड पुर्‍याएको छ । यस्तै जगेडा कोष ९१ प्रतिशतले वृद्धि भई १ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । यसबाहेक बीमा कोष १८ करोडबाट बढेर ३ अर्ब २ करोड र महाविपत्ति जगेडा कोष १० करोडबाट ८३ प्रतिशतले बढेर १८ करोड रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ ।

पुनर्बीमा कमिसनमा भने कमी आएको छ । गएको ८ वर्षमा कम्पनीले लिने कमिसन ९४ प्रतिशतले ऋणात्मक भएको हो । आव २०७१/७२ मा ३३ करोड २१ लाख रहेको पुनर्बीमा कमिसन आव २०७८/७९ मा १ करोड ६६ लाख रुपैयाँमा झरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकरकुमार रायमाझीले बीमकले भोग्नुपर्ने समस्या सामाधान गर्न कम्पनी अग्रसर रहेको बताएका छन् । ‘बीमकले विगतमा भोग्नुपर्ने सुरक्षणका अनेकन् समस्या समाधान गर्ने हाम्रो उद्देश्य छ,’ उनले भने । तर, कम्पनी भने दाबी भुक्तानीमै कमजोर रहँदै आएको छ ।

पुनर्बीमाले कसरी गर्छ दाबी भुक्तानी ?

सामान्यत: बीमा कम्पनीले उठाउने जोखिम भारको सीमित हिस्सा पुनर्बीमामा पुग्ने गर्छ । बीमा कम्पनीहरुले बीमितबाट उठाएको शुल्कको सीमित रकम पुनर्बीमा गरिन्छ । यो काम बीमा कम्पनीले पुनर्बीमा कम्पनीमा गराउँछन् ।

पुनर्बीमा नेपाली वा विदेशी कम्पनीमा पनि गर्न सकिन्छ । बीमितबाट उठेको शुल्कलाई विविधीकरण गरी बीमा कम्पनीहरुले पुनर्बीमा कम्पनीमा पुनः बीमा गराउने परिपाटी विश्वभर नै छ । यसले बीमा कम्पनीहरुको जोखिम पनि पुनर्बीमा कम्पनीसँग बाँडिने भएकाले बीमितको रकम फस्ने सम्भावनाको न्यूनीकरण गर्ने गर्छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)का सीईओ चंकी क्षेत्री बीमा कम्पनीले जोखिम न्यूनीकरण गर्नकै लागि पनि पुनर्बीमा गर्ने बताउँछन् । उनका अनुसार यसरी बीमाको पुनर्बीमा गर्दा दलालको माध्यमबाट प्रिमियमको २.५ प्रतिशत कमिसन तिर्नुपर्छ ।

दलालको सहयाताबिना नै गर्दा भने पुनर्बीमा कम्पनीलाई कुल प्रिमियमको १० देखि १५ प्रतिशतसम्म कमिसन बीमा कम्पनीले बुझाउनुपर्छ । त्यसबापत पुनर्बीमा कम्पनीले बीमाको सीमित हिस्साको जोखिम पनि बहन गर्छ । यसले बीमा कम्पनीलाई जोखिम बहनमा संरक्षण गर्ने काम गर्छ ।

सीईओ क्षेत्रीका अनुसार बीमा कम्पनीले वार्षिक र अर्धवार्षिक गरी दुई पटकसम्म बीमाको पुनर्बीमा गर्ने गर्छन् । बीमितबाट संकलित रकमलाई एकमुष्ट रुपमा पुनर्बीमा कम्पनीमा बीमा गरिने हुँदा पुनर्बीमा कम्पनीलाई बीमितको व्यक्तिगत विवरण प्राप्त हुँदैन ।

‘वार्षिक र अर्धवार्षिक रुपमा हामीले बीमितबाट उठाएको पैसाको एकमुष्ट बीमा गर्छौं, दाबी भुक्तानी आउन थालेपछि पुनर्बीमा कम्पनीबाट पैसा उठाएर बीमितलाई भुक्तानी गर्छौँ,’ उनले भने ।

नेपाल पुनर्बीमाको बीमा दाबी भुक्तानी गर्नुपर्ने रकम हरेक वर्ष बढ्दै जानुमा कोरोना बीमा पनि प्रमुख कारण हो । नेपाल सरकार, बीमा प्राधिकरण, बीमा कम्पनी र पुनर्बीमा कम्पनीले संयुक्त रुपमा बीमा रकम भुक्तान गर्ने सरकारको योजनाअनुरुप पुनर्बीमा कम्पनीबाट भुक्तान रोकिएको छ । सोही रकम जोडिँदा पुनर्बीमाको दाबी भुक्तानी गर्नुपर्ने रकम ह्वात्तै बढेको कम्पनीका सीईओ रायमाझीले बताए ।


सम्झना घिमिरे