पर्यटकीय सिजनमै पाँचतारे होटलका ६०० कोठा बन्द !



काठमाडौं । यो वर्षको पर्यटकीय सिजनमा ऐतिहासिक पर्यटक आगमन हुँदासमेत पाँचतारे होटलले पूर्ण क्षमतामा पर्यटकलाई सेवा दिन सकेनन् । पर्यटकीय सेवामा खटिने चारवटा पाँचतारे होटलका ६ सय वटा कोठा भने अहिले पनि बन्द छन् ।

सेप्टेम्बरदेखि डिसेम्बरसम्मलाई नेपालमा पर्यटकीय सिजन मानिन्छ । पर्यटकीय सिजनका कारण आन्तरिक गन्तव्यमा चहल पहल बढ्नुका साथै पर्यटन व्यवसायले सेवा सुविधामा कुनै सम्झौता नगर्ने बेला पनि हो । यही बेला पर्यटकीय सेवामा भ्याइनभ्याइँ हुने समय भएपनि भएकै केही पाँचतारे होटलले भने सेवा दिन सकेका छैनन् ।

मूख्य व्यापार व्यवसाय हुने सिजनमै काठमाडौंको होटल डेला अन्नपूर्ण, होटल सांग्रिला र पोखराको होटल द फूलबारी बन्द छ । काठमाडौंको याक एण्ड यति भने आंशिकरूपमा मात्रै सञ्चालनमा छ ।

काठमाडौंको ५ दशक लामो बिरासत बोकेको होटल डेला अन्नपूर्ण कोरोना महामारीपछि खुलेकै छैन । महामारीका कारण असहज अवस्थामा पुगेको उक्त होटल मर्मत तथा रिनोेभेसनका नाममा बन्द छ । होटल बन्द भएपनि होटल परिसर भित्रको क्यासिनो भने चलिरहेको छ । होटलले २० देखि ३० वटा कोठा प्रयोग गरेर क्यासिनो चलाइरहेको छ । औपचारिक रूपमा भने हो होटल बन्द भएको जानकारी पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागलाई दिएको छ ।

अन्नपूर्ण होटलमा १५३ वटा कोठा रहेको छ भने २३० वटा बेड क्षमता (शैय्या) छ । यो होटलमा साढे ३ सय कामदार थिए । कोरोनापछि होटल बन्द गरेर व्यवस्थापनले मजदुरलाई ३ वर्षदेखि घर पठाएको छ भने होटल संचालनको कुनै टुंगो छैन । होटल व्यवस्थापनले भने महामारीपछि रोकिएको पर्यटक आगमन, आम्दानी गुमेको र मजदुर फूसर्दिला भएको बेलाबाटै होटल रिनोभेसनमा गएको बताएको छ ।

काठमाडौंको अर्को पाँचतारे होटल सांग्रिला पनि दुई वर्षदेखि रिनोभेसमै छ । १ सय कोठा रहेको सांग्रिला होटलमा १६९ पर्यटकलाई दैनिक रात बस्न दिने क्षमता राख्छ । होटलमा २ सय जना मजदुरले काम गर्थे । होटल पूर्ण मर्मतमा रहेकोले पछिल्लो दुई वर्षदेखि सेवा ठप्प रहेको सांग्रिलाका कार्यकारी निर्देशक प्रविण पाण्डेले बताए ।

पाण्डेले क्लिकमान्डुसँग भने ‘अझै दुई वर्ष होटल सञ्चालन गर्न समय लाग्ने भएको छ । पछिल्लो दुई वर्षदेखि कम भएको पर्यटक आगमनको बेलाबाट रिनोभेसन गरिरहेको छ । यो होटलले यो पर्यटकीय सिजनमा पनि पर्यटकलाई सेवा दिन सकेन । होटल मर्मतसम्भारमै भएकोले जतिसक्दो छिटो सक्ने तयारीमा छौं ।’

पोखरामा रहेको होटल द फूलबारी पनि बन्द छ । यो होटल पछिल्लो एक दशकदेखि नवीकरण पनि भएको छैन भने पर्यटकीय सेवा दिन सक्ने अवस्थामा पनि छैन । १६५ कोठाको यो होटलमा २०० शैय्या छ । लामो समयदेखि होटल सञ्चालन नभएकोले यसका भित्रि संरचना अब रिनोभेसन नगरी चल्न सक्दैनन् ।

पियुसबहादुर अमात्यले चलाएको यो होटलले लिएको ऋण तिर्न नसकेपछि होटल यस अघि नै लिलामीमा गएको थियो । तर, आर्थिक मन्दीका कारण होटल लिलामीमा हुन नसकेपछि ऋणदाता नेपाल बैंके अमात्यसँग नेगोसिएसन गरेर नियमित किस्ता तिर्ने शर्तमा होटलको लिलामी रोकेको हो ।

नेपाल आएका पर्यटकमध्ये ८० प्रतिशतको रोजाइ पोखरा पर्ने गरेकोले पोखरामा बाह्रै महिना पर्यटकको चाप हुने गरेको छ । पर्यटकको चाप हुने क्षेत्रकै यो फूलबारी होटल लामो समयदेखि बन्द छ ।

काठमाडौंको बानेश्वरमा रहेको द होटल एभरेष्ट भने २०७२ को विनाशकारी भूकम्पछि बन्द भएको थियो। उक्त होटल केही समय बन्द गरेर आवश्यक रिनोभेसनपछि अहिले सञ्चालनमा छ । यो होटल सञ्चालनमा आइसकेको भएपनि सरकारी निकायमा भने अद्यावधिक गराएको छैन । होटलले पछिल्लो एक दशकदेखि नवीकरणसमेत गराएको छैन ।

भूकम्पले हल्लाउँदा होटलको एउटा मूख्य पिलर चर्किएको थियो । रेक्ट्रोफिट गरेर सञ्चालन गर्न सकिने भएपनि तत्कालालई भने होटल बन्द भयो । कोरोना महामारीपछि पुनः मर्मत गरेर होटल भने सञ्चालनमा आइसकेको छ । होटलले सेमिनार हलदेखि रेस्टुरेन्टसम्म सञ्चालन गरिरहेको छ तर कोठा भने सबै तयार नभएकोले औपचारिक सञ्चालनको जानकारी नदिएको बताएको छ । यो होटल बन्दसँगै यसको क्यासिनो पनि सञ्चालनमा छैन ।

पर्यटन विभागकाका अनुसार भने यो होटलले मर्मत गरेर सञ्चालनको तयारी गरिरहेको जानकारी दिएको छ । होटलमा दैनिकजसो भब्य कार्यक्रम हुने भएपनि होटलले भने अझै सञ्चानलको औपचारिक जानकारी दिएको छैन । पर्यटन विभागका होटल शाखाका अधिकृत चुनबहादुर तामाङले सञ्चालनको प्रक्रिया पूरा गरेर होटल नवीकरणमा आउने जानकारी दिएको बताए। उनका अनुसार पनि होटलको कोठा अहिले सञ्चालनमा छैन ।

तामाङका अनुसार यो होटल कहिलेबाट सञ्चालनमा आउने भन्ने कुनै योजना पनि आएको छैन । उनले भने ‘होटल सञ्चालमा आउँदा स्तर वर्गीकरणको लागि पर्यटन विभाग आउनै पर्छ । पर्यटन विभागले नै तीन तारे माथिका सबै होटलको स्तर वर्गीकरण गरेर कुन तारा स्तरको हो भनेर प्रमाणपत्र दिने गरेको छ । यस्तो प्रमाणपत्रको लागि होटलले तोकिएको शर्त पूरा गरेर आउनुपर्ने हुन्छ ।’

नेपालमा १८ वटा पाँचतारे होटल कुन कहाँ ?

हाल नेपालसम्म १८ वटा पाँचतारे होटल पर्यटन विभागमा दर्ता भएका छन । दर्ता भएका होटलमध्ये केहीको नवीकरण भएको छैन भने केही होटल मर्मतसम्भारका क्रममा छन् । दर्ता भएकामध्ये अन्नपूर्ण, सांग्रिला, फूलबारी, एभरेष्ट होटल अहिले सञ्चालनमा छैनन् । सञ्चालनमा रहेकामध्ये ८ वटा काठमाडौंमै छन । काठमाडौंमा सोल्टी, ¥याडिसन, हायात रिजेन्सी, याक एण्ड यति, द मल्ल, मेरिओट, अलफल्ट र ह्यात प्यालेस छन् ।

कास्कीको पोखरामा फूलबारी र ग्राण्ड होटल छन् । रुपन्देहीमा टाइगर वान, बाँकेमा सोल्टी शिवक्रिम र होटल सेन्ट्रल प्लाजा सञ्चालनमा रहेको छ । झापामा होटल द किङ्सबेरी र बारामा इच्छा होटल पाँचतारेका रूपमा सञ्चालनमा रहेको पर्यटन विभागको तथ्यांकमा उल्लेख छ ।

अहिले पर्यटकीय सिजन भएकोले नेपाल आउने पर्यटक पनि मासिकरूपमा बढ्दै गएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार गत महिना अक्टोबरमा १ लाख १७ हजार पर्यटक आएका छन । यस्तो पर्यटक आगमन गत वर्षको अक्टोबरमा ८८ हजार ५ सयमात्रै थियो ।

नेपाल पर्यटन बोर्डका प्रवक्ता मणि लामिछाने सामाजिक सञ्जालमार्फत प्रवद्र्धन बढेको, नेपाल चिनेका पर्यटकको रोजाइ यही सिजनमा बढ्ने गरेको बताउँछन् ।

उनले भने ‘वर्षेनी सेप्टेरम्बरदेखि डिसेम्बरसम्म) नेपालमा पर्यटक आगमन बढ्ने गरेको छ । अहिलेको समय वर्षा रोकिएको, जाडो लागि नसकेको र हरियालीसहितको दृश्यावलोकन हुने भएकोले पर्यटक आकर्षिक हुने समय भएको पनि लामिछानेले बताए ।


क्लिकमान्डु