भारतबाट आउने भएपछि उद्योगीले निकाल्न थाले बजारमा चिनी



काठमाडौं । सरकारले भारतबाट चिनी ल्याउने भएपछि स्वदेशी चिनी उद्योगीहरुले पनि धमाधम बजारमा चिनी निकाल्न थालेका छन् ।

सरकारले भारतबाट सस्तोमा चिनी ल्याउने भएपछि उद्योगीले आफ्ना गोदाममा भएको चिनी निकाल्न लागेको उपभोक्ताको बुझाई छ । सरकारले चिनी ल्याउन भारतलाई पत्र लेखेपछि स्वदेशी उद्योगीले ३ हजार टन चिनी बजारमा उपलब्ध गराउने प्रतिबद्धता गरेको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका प्रबक्ता गजेन्द्र ठाकुरले बताए ।

तर, उद्योगीहरु भने चिनीको अभाव सिर्जना भएपछि स्वदेशी चिनी पनि सामुहिक रुपमा तत्कालको मागलाई सम्बोधन गर्न ३ हजार टन चिनी उपलब्ध गराउने निर्णय गरेका बताउँछन् ।

मन्त्रालयकाअनुसार स्वदेशी उद्योगीले शुक्रबारदेखि नै साल्ट ट्रेडिङ कर्पोरेशनलाई चिनी उपलब्ध गराउन सुरु गरेका छन् । स्वदेशी उद्योगीले मूल्य अभिवृद्धि कर, लोड अनलोड, ढुवानी खर्च वाहेक यो चिनी ९५ रुपैयाँ प्रतिकिलोमा साल्टलाई उपलब्ध गराएको हो ।

साल्टका सहायक कार्यकारी प्रमुख संकेत भट्टराईका अनुसार स्वदेशी उद्योगीले चिनी उपलब्ध गराउने निर्णय गरेसँगै साल्टले तत्कालै चिनी खरिद गर्न ५ सय टन चिनी खरिद गर्न रकम जम्मा गरेको छ । उक्त चिनी उपभोक्ताले प्रतिकिलो १२० रुपैयाँमा खरिद गर्न पाउनेछन् ।

साल्टको अर्को टेण्डरमा आशय पत्र परेन
साल्टले दसैं अगावै आन्तरिक बजारबाट ५ हजार टन चिनी खरिद गर्न टेण्डर आह्वान गरेको थियो । स्वदेशी उद्योग र व्यापारीहरुबाट चिनी खरिद गर्न उक्त टेण्डर आह्वान गरिएको थियो ।
‘तर टेण्डरमा आशय पत्र बुझाउने म्यादभित्र एउटै आशय पत्र नपर्दा हामीले उक्त टेण्डर नै अहिले रद्द गरेका छौं,’ सहायक कार्यकारी प्रमुख भट्टराईले बताए ।

एभरेष्ट सुगर मिलबाट २ सय ८० टन चिनी बजारमा
बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको विशेष सक्रियतामा एभरेष्ट सुगर मिलबाट खरिद भएको २ सय ८० टन (६ हजार बोरा) चिनी बजारमा पुगेको छ ।

उक्त उद्योगले १ हजार टन चिनी उपलब्ध गराउने प्रतिवद्धता जनाएपनि हालसम्म २ सय ८० टन चिनी उपलब्ध गराएको चिनी आयातकर्ता कुलेश्वरस्थित गृहेश्वर ट्रेड लिंकका सञ्चालक सन्तोष खेतानले जानकारी दिए ।

खेतानका अनुसार उद्योगले १ हजार टन उपलब्ध गराउने आश्वासन दिएपनि शुक्रबारसम्म २ सय ८० टन मात्रै उपलब्ध भएको छ । उपलब्ध भएको चिनी पनि आइतबारसम्म मात्रै बजारको माग धान्ने उनले बताए । उपभोक्ताले हाल चिनी प्रतिकिलो ११५ रुपैयाँमा खरिद गर्दैआएका छन् ।


क्लिकमान्डु