काठमाडौंबासीले तिहारमा पाउलान् त ९० रुपैयाँ किलोमै चिनी ?




काठमाडौं । आवश्यक प्रक्रिया निर्धारित समयभित्रै सम्पन्न भए तिहारमा उपभोक्ताले भारतीय चिनी हालेको चिया खान पाउने भएका छन् । ‘भारतले छुट्याएको कोटाको चिनी नेपाली उपभोक्ताले अधिकतम ९० रुपैयाँ प्रतिकिलो मूल्यभित्रै खरिद गर्न पाउनेछन्,’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले भने ।

उनका अनुसार खरिद मूल्यमा मूल्य अभिवृद्धि कर, ढुवानी, लोड अनलोड खर्च र नाफा जोडेर अधिकतम ९० रुपैयाँ भित्रमा उक्त चिनी उपभोक्तालाई उपलब्ध हुनेछ ।

भारतले सरकारी कोटामा नेपाललाई २५ हजार टन चिनी उपलब्ध गराउने निर्णय गरेसँगै सरकारले भारतीय चिनीको सहयोगले तिहार मनाउने तयारी गरेको छ । चिनी भित्र्याउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत शुक्रबारै भारत सरकारलाई पत्राचार गरेको छ ।

भारत सरकारले सरकारद्वारा सरकारलाई (जीटुजी) प्रक्रियाअन्तर्गत नेपाललाई २५ हजार टन चिनी उपलब्ध गराउने कोटा छुट्टयाएको निर्णय बिहिबार मात्रै गरेको थियो ।

मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार भारतको उक्त निर्णयसँगै आगामी सन् २०२४ सेप्टेम्बर ३० तारिखभित्र छुट्टयाइएको कोटाको चिनी नेपालले खरिद गरि सक्नुपर्ने समयसीमा पनि तोकेको छ । भारतले नेपाललाई चिनी उपलब्ध गराउने निर्णय गरेसँगै नेपालले शुक्रबार नै उक्त परिमाणमध्ये तत्काल २० हजार टन चिनी उपलब्ध गराइदिन परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पत्राचार गरेको हो ।

‘सबै प्रक्रिया सकेर २० हजार टन चिनी तिहारअघि आइपुग्छ,’ प्रवक्ता ठाकुरले भने,‘बाँकी ५ हजार टन चिनी जगेडा कोटामा रहनेछ । अत्यन्त आवश्यक परेको वेला उक्त ५ हजार चिनी पनि आपूर्ति गर्छौं ।’

आगामी मंसिर पुसदेखि उखु क्रसिङ गर्ने नयाँ सिजन समेत सुरु हुन लागेको छ । नयाँ क्रसिङ सुरु हुँदा स्वदेशी उद्योगबाट नयाँ चिनी उत्पादन भएर बजारमा आउने हुँदा तत्कालका लागि ५ हजार चिनी जगेडा कोटामा राख्न लागिएको हो ।

मन्त्रालयका अनुसार भारतबाट ल्याउन लागिएको २० हजार चिनी ५० प्रतिशत भन्सार शुल्कमा ल्याउन लागिएको हो । सरकारले गत भदौ २७ गते ५० प्रतिशत भन्सार छुट सुविधामा खाद्य व्यापार तथा व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई १०–१० हजार टन चिनी आयात गर्न अनुमति दिएको थियो ।

उक्त निर्णयअनुसार खाद्य व्यापार तथा व्यवस्था कम्पनीले गत असोज १० गते १० हजार टन चिनी आयात गर्न ग्लोबल टेण्डर आह्वान गरेको थियो । खाद्य कम्पनीले सबै प्रक्रिया पुरा गरी यो चिनी आगामी पुसको दोश्रो सातासम्म मात्रै भित्र्याउन सक्ने जनाएको छ ।

यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनले १० हजार टन चिनी आपूर्ति गर्न असोज ५ गते १५ गते छोटो अवधीको टेण्डर आह्वान गरेको थियो । साल्टले आह्वान गरेको टेण्डरमा प्रतिकिलो १६० रुपैयाँदेखि १७० रुपैयाँसम्म खरिद मूल्यको आशय पत्र परेको छ । खरिद मूल्य नै निक्कै महँगो पर्दा साल्टले उक्त टेण्डर नै रद्द गरेको छ ।

‘अर्थ मन्त्रालयले साल्ट र खाद्यलाई ५० प्रतिशत भन्सार शुल्क छुटमा चिनी आयात गर्न दिने निर्णय गरेको थियो । निर्णयअनुसार ती दुबै संस्थाले टेण्डर पनि आह्वान गरेको थियो,’ प्रवक्ता ठाकुरले क्लिकमाण्डुसँग भने, ‘तर निक्कै महँगो खरिद मूल्यको आशय पत्र पर्दा उक्त चिनी खरिद गर्नुको कुनै अर्थ छैन ।’

मन्त्रालयका अनुसार टेण्डरमा परेको अत्याधिक महँगो मूल्य र लामो प्रक्रियाका कारण तत्कालै चिनी आउने सम्भावना कम हुँदै गएपछि अर्थ मन्त्रालयको निर्णय टेकेर भारतले उपलब्ध गराउने चिनीमध्ये १० हजार खाद्यलाई र १० हजार साल्टलाई ल्याउन अनुमति दिइएको हो ।


राजेश बर्मा