आर्थिक मन्दीको असर बैंकको वासलातमा, नाफा २८ प्रतिशत घट्यो, कुनको कति ?



काठमाडौं । अर्थतन्त्रमा देखिएको मन्दीको प्रत्यक्ष प्रभाव वाणिज्य बैंकमा परेको छ । अर्थतन्त्रमा शिथिलता आउँदा अधिकांश वाणिज्य बैंकको नाफा घटेको छ । बैंकहरुले प्रकाशित गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा २८ प्रतिशतले घटेको हो ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा कृषि विकास बैंक भने घाटामा गएको छ । बैंकको घाटा ८८ करोड ८० लाख ७१ हजार रुपैयाँ छ । त्यस्तै ८ बैंकको नाफा बढेको छ भने ११ वटाको घटेको छ ।

असोज मसान्तसम्म बैंकहरुको कुल नाफा १३ अर्ब ४७ करोड २० लाख ४५ हजार रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा १६ अर्ब ५५ करोड ७ लाख ६२ हजार रुपैयाँ थियो ।

असोज मसान्तसम्ममा माछापुच्छ्रे बैंकको २०.१८ प्रतिशत, प्राइम बैंक ३१.७२, एनएमबि बैंक ६.५३, ग्लोबल आईएमइ बैंक ३.०४, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३३.४६, स्ट्यान्डर्ड चार्टर्ड बैंक २, हिमालयन बैंक ९८.३५ र प्रभु बैंकको नाफा ४६.६९ प्रतिशतले बढेको छ ।

यसैगरी, एभरेष्ट ९.४४, राष्ट्रिय वाणिज्य बैंक ३१.०३, लक्ष्मी सनराइज बैंक ७९.५३, सानिमा बैंक ११.९१, नेपाल बैंक ७६.४३, नबिल बैंक ६.५०, नेपाल एसबिआई २३.६१, सिटिजन्स बैंक १९.७०, एनआईसी एशिया बैंक ४२.४८, कुमारी बैंक ७३.६४ र सिद्धार्थ बैंकको नाफा ९१.३९ प्रतिशतले घटेको छ ।

मर्जर तथा एक्विजिसन प्रक्रिया पूरा गरेका बैंकहरुले वित्तीय विवरणमा मर्ज भएका आएका बैंकहरुको गत वर्षको तथ्यांक समावेश गरेका छैनन् । तलको टेबलमा बैंकहरुले गत वर्षको तथ्यांकमा मर्ज हुनुअघिको तथ्यांकमात्र समावेश गरेकाले नाफा १८ प्रतिशतले मात्र घटेको देखिएको छ ।

(यसअघि प्रकाशित समाचारमा तथ्यांकगत त्रुटि भएकाले सच्याइएको छ । – सम्पादक)


क्लिकमान्डु