ज्ञानेन्द्रलाई राजा घोषणा गर्न माग गर्दै मोटरसाइकल र्‍याली आयोजना



काठमाडौं । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा घोषणा गर्न माग गर्दै मोटरसाइकल र्‍याली गर्ने भएको छ ।

राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी शाही युवा शक्तिले गणतन्त्रको खारेजी र ज्ञानेन्द्रलाई तेस्रोपटक राजा घोषणामा दबाब सिर्जना गर्न कात्तिक १८ गते मोटरसाइकल र्‍याली आयोजना गर्न लागेको जनाएको हो । र्‍याली मध्याह्न साढे १२ बजे बिजी महल अगाडिबाट सुरु हुने बताइएको छ ।

कार्यक्रममा शाही युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपति खड्काले जनताले आफूहरुलाई राजा कहिले आउँछन् भनेर विशेष चासोका साथ सोधिरहेको बताए । राजा, राजसंस्था र हिन्दु राष्ट्रका लागि जनता स्वस्फूर्त सडकमा आउन आवश्यक रहेको उनको भनाइ छ ।


क्लिकमान्डु