आईपीओ निष्कासन गरेको मुक्तिनाथ कृषि कम्पनी नोक्सानमा, को-को छन् सञ्चालक ?



काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले साधारण सेयर निष्कासन गरेको छ । पहिलो चरणमा रोजगारीका लागि विदेशमा रहेका लगानीकर्ताले आईपीओमा आवेदन दिन पाउनेछन् । विदेशमा रहेका नेपालीका लागि निष्कासन सकिएपछि सर्वसाधारणका लागि सेयर निष्कासन गरिनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १४,००,००० कित्ता साधारण सेयर सर्वसाधारणलाई छुट्टयाएको छ । जसबाट ४२ हजार कित्ता सेयर कम्पनीका कर्मचारी, ७० हजार कित्ता सेयर सामूहिक लगानी कोष, १ लाख ४० हजार कित्ता विदेशमा रहेका नेपालीका लागि निष्कासन गरेको छ । यस्तै ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ ।

पहिलो चरणमा विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको कम्पनीको २०७९/०८० मा प्रति सेयर नेटवर्थ ९० रुपैयाँ ३२ पैसा रहेको छ । आव ०८०/०८१ मा १०१ रुपैयाँ १८ पैसा हुने, आव ०८१/०८२ मा १०७ रुपैयाँ ३९ पैसा र आव २०८२/०८३ मा ११३ रुपैयाँ ७९ पैसा हुने प्रक्षेपण कम्पनीको रहेको छ ।

यस्तै आव २०७९/०८० मा प्रति सेयर आम्दानी ३ रुपैयाँ ४८ पैसा रहेको छ । आव ०८०/०८१ मा ८ रुपैयाँ ७३ पैसा हुने, आव ०८१/०८२ मा १४ रुपैयाँ ३० पैसा र आव २०८२/०८३ मा २२ रुपैयाँ ९६ पैसा हुने प्रक्षेपण कम्पनीको रहेको छ ।

यस्तै आव २०७९/०८० मा ४ करोड ८३ लाख ८७ हजार ६६८ रुपैयाँ नोक्सानमा रहेको कम्पनीले आव ०८०/०८१ मा ६२ लाख ७२ हजार ४६२ रुपैयाँ नाफा कमाउने, आव ०८१/०८२ मा ५ करोड ६१ लाख ४३ हजार ९५१ रुपैयाँ  र आव २०८२/०८३ मा १० करोड ७६ लाख ९० हजार ५२३ रुपैयाँ हुने प्रक्षेपण कम्पनीको रहेको छ ।

यो कम्पनीले अन्य ८ वटा साना सहायक कम्पनीमा लगानी गर्ने छ । जसमा मुक्तिनाथ सिड बैंक, मुक्तिनाथ फर्टिलाइजर बैंक, मुक्तिनाथ नर्सरी बैंक, मुक्तिनाथ लाइभस्टक बैंक, मुक्तिनाथ हर्बल बैंक लि, मुक्तिनाथ फुड बैंक, मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी र मुक्तिनाथ टे्रडिङ्ग रहेका छन् ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा भरतराज ढकाल रहेका छन् भने सञ्चालकहरुमा सिताराम काफ्ले, तुलसी राम ढकाल, शिखा मास्के, मोहन कुमार बस्नेत, गोविन्द बहादुर राउत रहेका छन् ।

कम्पनीको अध्यक्षमा रहेका ढकालको मासिक मारिश्रमिक ३ लाख ३२ हजार ४५२ रुपैयाँ रहेको छ । उनले आव २०७९/०८० मा ४१ लाख ७३ हजार ७८८ रुपैयाँ पारिश्रमिक लिएका छन् । यस्तै निमित्त कार्यकारी प्रमुख रामशरण तिमल्सिनाले १९ लाख १५ हजार ३४४ रुपैयाँ, वरिष्ठ प्रबन्धक दिपान्जलि खकुरेलले १३ लाख ७१ हजार ३११ रुपैयाँ तलब भत्ता लिएका छन् । कम्पनीको सञ्चालक समितिको अध्यक्षले बैठकमा ७ हजार र सञ्चालकले ५ हजार भत्ता पाउने व्यवस्था रहेको छ । कम्पनीमा अध्यक्ष ढकालको १ लाख ४८ हजार कित्ता वरिष्ठ प्रबन्धक खकुरेलको ११ हजार ७९८ कित्ता सेयर स्वामित्व रहेको छ ।

कम्पनीमा सञ्चालक सिताराम काफ्लेको ७८ हजार २२० कित्ता, तुलसीराम ढकालको १ लाख ४० हजार २१७ कित्ता सेयर स्वामित्व रहेको छ । उनी इन्भेष्टर फोरमका अध्यक्ष समेत हुन् ।

यस्तै सञ्चालक शिखा मास्केको २० हजार कित्ता, मोहन कुमार बस्नेतको ५ हजार कित्ता र गोविन्द बहादुर राउतको ३ हजार कित्ता सेयर स्वामित्व रहेको छ । उनीहरु संस्थाको संस्थापक पनि हुन् । यस्तै संस्थापक मध्येकै नारायण कुमार श्रेष्ठको १ लाख ९ हजार २६३ कित्ता, गौतम प्रसाद खनालको ५६ हजार ६६६ कित्ता, भगवती लामिछानेको ६३ हजार ८८८ कित्ता र मुक्तिनाथ विकास बैंकको १५ लाख ५५ हजार ५५० कित्ता सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु