बाख्रापालनदेखि बजारीकरणसम्म किसानलाई सहारा नेपालको सहयोग



झापा । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैंमा ६९ लाख ६० हजार मूल्यको खसीबोका बिक्री गरेको छ ।

संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका किसानबाट ती खसीबोका नगदै किनेर उपभोक्तालाई बिक्री गरेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताए । किसानबाट किनिएका खसीबोकाको स्वास्थ्य परीक्षण गरेरमात्र बजारमा बिक्रीका लागि पठाइने गरेको उनको भनाइ छ ।

उनका अनुसार विगत वर्षमा पनि संस्थाले आफ्ना सदस्य किसानको खसीबोका किनेर चाडपर्वका बेला खुला बजारमा बिक्री गर्दै आएको थियो । यसपालि पहिलोपल्ट इलामबाट संकलित खसीबोका काठमाडौंसम्म लगेर बिक्री गरिएको थियो ।

संस्थाको कृषि क्षेत्रका प्रमुख डा. कमलेश्वर भाटले यसपालिको दसैंमा औसत ३० किलोका ४ सयवटा खसीबोका बिक्री भएको जानकारी दिए । ती खसीबोका जिउँदै तौलिएर खोरबाटै नगदमा किनिदिँदा किसान चाडका बेला लाभान्वित भएका थिए ।

झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर र पाँचथरमा खसीबोका बिक्री गरिएका थिए । खसीबोका जिउँदै तौलिएर प्रतिकिलो ५८० रुपैयाँका दरले बिक्री गरेको उनले बताए । ‘हामी कृषकलाई व्यावसायिक बाख्रापालनमा प्रोत्साहित गर्न ऋणसँगै निःशुल्क तालिम, प्राविधिक सहयोग र बीमा प्रदान गर्छौं,’ उनले भने, ‘किसानले उत्पादन गरेका खसीबोका बजारीकरणमा पनि प्रत्यक्ष रूपमा सघाउँछौँ । उनीहरूका खसीबोका किनेर बिक्री गरिदिन्छौँ ।’

संस्थाले ६ जिल्लामा ४ सयवटा फ्रेस हाउसमा लगानी गरेको र ती फ्रेस हाउसले पनि किसानका खसीबोका अरु बेला किन्ने व्यवस्था मिलाएको उनले बताए । किसान र फ्रेस हाउसबीच व्यापारिक सम्बन्ध गाँसिदिँदा दुवै पक्षलाई फाइदा भइरहेको र बजारीकरणको  समस्या नभएको उनको भनाइ छ ।

संस्थाले यसपालि दसैंअघि जुम्लाबाट स्याउ किनेर सदस्यलाई बिक्री गरेको थियो । कर्णाली प्रदेशको स्याउलगायत विभिन्न उत्पादनको बजारीकरण र बीउबिरुवा उत्पादनमा संस्थाले सहयोग पुर्‍याउने नीति लिएको संस्थाका निर्देशक खतिवडाले बताए ।

बाख्रापालक किसानलाई निःशुल्क प्राविधिक सहयोग पुर्‍याउन संस्थाले पशु चिकित्सकसहित १०  कर्मचारी परिचालन गर्दै आएको छ । एक लाख ५७ हजार ९२० सदस्य रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा ७४ हजार १३० ऋणी छन् । संस्थाबाट कृषि कर्जा लिनेको संख्यासमेत उल्लेख्य छ ।


क्लिकमान्डु