अन्तरिक वायुसेवामाथि दोहोरो नीतिः नयाँ लाइसेन्स बाँडिरहने, मर्जमा दबाब दिने



काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीमाथि सरकारले दोहोरो नीति लिएको सरोकारवालाहरुको गुनासो छ । सरकारले सहजीकरणका नाममा कडाइ गर्दै जान थालेपछि आन्तरिक वायुसेवा कम्पनीहरु पनि गुनासो गर्न थालेका छन् ।

हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र तालुकवाला निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच समन्वय नगरी नीति नियम बनाउँदा आन्तरिक वायुसेवा कम्पनी मारमा पर्न थालेको सरोकारवालाहरुले बताए । एकातिर सरकारले नयाँ वायुसेवा कम्पनीलाई लाइसेन्स बाँडिरहेको छ भने अर्कोतर्फ नियामक निकायमार्फत मर्जरमा जाऊ भनेर दबाब दिने काम भइरेहेको उनीहरुको भनाइ छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हवाई महाशाखाका सहसचिव बुद्धिसागर लामिछाने भने कुनै वायुसेवा कम्पनीलाई उडान अनुमति रोक्ने वा मर्जरमा जान कुनै दबाब नदिएको बताउँछन ।

‘मन्त्रालयले वायुसेवा सञ्चालनको इजाजत दिने हो । यस्तो इजाजत हवाई नीतिले तोकेको मापदण्ड पूरा गर्ने सबैले पाउँछन,’ लामिछानेले भने । उडान सञ्चालन गर्न दिने निकाय प्राधिकरण भएकोले तोकिएको शर्त पूरा गरेका वायुसेवालाई कसैले रोक्न नपाउने तर्क पनि लामिछानेले गरे ।

पर्यटन मन्त्रालयले नयाँ वायुसेवा कम्पनीलाई इजाजतपत्र (लाइसेन्स) बाँड्न रोकेको छैन । तर, मन्त्रालय मातहतको नियामक निकाय उड्डयन प्राधिकरणले भने भदौ १५मा जारी गरेको वायुसेवा सञ्चालनको संशोधित नियमावलीमाबाट ३ वटा वायुयान राख्न नसक्ने वायुसेवा कम्पनीलाई मर्जरमा जान दबाब दिएको छ । प्राधिकरणले एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्टमा (एओसीआर) १० औं संशोधन गरेर वायुसेवा सञ्चालन गर्न ३ वटा जहाज अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।

यही नियमावलीले ५ वर्षभित्र ५ वटा जहाज संख्या पु¥याउन नसक्ने वायुेवालाई मर्जरमा जानुपर्ने व्यवस्था पनि गरेको छ ।
पर्यटन मन्त्रालयले जारी गरेको हवाई नीति २०६३ ले नै आन्तरिक नियमित उडान संचालन गर्ने वायुसेवा कम्पनीसँग कम्तिमा ३ वटा वायुयान हुनैपर्ने व्यवस्था गरेको छ । यो व्यवस्थामा कम्तिमा एउटा वायुयान दुर्गम क्षेत्रका विमानस्थलमा संचालन गर्न उपयुक्त हुनुपर्ने छ । यही नियमावलीलाई कडाइ गरेर दुर्गम क्षेत्र उडानमा दबाब दिन नसकेको प्राधिकरणले संचालनमा रहेका वायुेवालाई मात्रै कडाइ गरेको बताएको छ ।

उड्डयन प्राधिकरणले मर्जरमा दबाब दिनेगरी नीति ल्याएको भएपनि पर्यटन मन्त्रालयबाट लाइसेन्स (इजाजत) लिएर प्राधिकरणबाट उडान सञ्चालन (एओसी) लिनुपर्छ । पर्यटन मन्त्रालयबाट इजाजत लिएर प्राधिकरणमार्फत एओसी लिने प्रक्रियामा चार हेलिकप्टर कम्पनी छन्् । जसमध्ये आरएस हेलिकप्टर र शिवम एयरले एओसी पाउने अन्तिम चरणमा छ । सगरमाथा हेलिकप्टर र धौलागिरि हेलिकप्टरले एओसीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइरहेको प्राधिकरणले जानकारी दिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल नयाँ वायुसेवा कम्पनी आउन रोक नलगाएको र सञ्चालनमा रहेकालाई मर्जरको बाटो खुला गरेको बताउँछन् । ‘एओसीआरमा संशोधन गरेर जहाजको संख्या ५ वर्षमा कम्तिमा ५ वटा पुर्यानुपर्ने व्यवस्थालाई कार्यान्वयन गर्न नसके मर्जरमा जान भनिएको हो,’ भुलले क्लिकमाण्डुसँग भने ।

हाल १-२ वटा मात्रै जहाज राखेर सञ्चालन भइरहेका वायुसेवालाई कि जहाज संख्या बढाउनुस् अन्यथा मर्जरमा जानुस् भनिएको भुलले बताए । तर, आन्तरिक वायुसेवा कम्पनीले सरकारको दोहोरो नीतिको विरोध गरेका छन ।

वायुेवालाई संचालनमा सहजता प्रदान गर्ने र हवाई सेवामा जोेड दिनुपर्ने निकायले नै हतोत्साहित गरिरहेको आरोप निजी वायुसेवा संचालकहरूको छ । सरकार र उड्डयन प्राधिरकरणबीच सामन्जस्यता नमिलेका कारण आन्तरिक वायुसेवा कम्पनी मारमा परिरहेको हेलिकप्टर सोसाइटीका महासचिव योगराज शर्मा कँडेलले बताए ।

‘पर्यटन मन्त्री र उड्डयन प्राधिकरणको महानिर्देशबीचको द्वन्द्वको मारमा नीजि वायुसेवा परेका छन्,’ वायुसेवा सञ्चालक संघका प्रवक्तासमेत रहेका कँडेलले भने ।

सरकारको नीति एकातिर नियामकको काम अर्कोतिर हुँदै गएको, नियामकको अराजकता बढेको र वायुसेवामाथि अनावश्यक दबाब सिर्जना गरेर आतंक सिर्जना गर्न खोजिएको आरोप पनि वायुसेवा सञ्चालक संघको छ । सरकारले अनुमति दिएका वायुसेवालाई सञ्चालन गर्न दिन्न भन्ने अधिकार नियामकको नहुने भएकोले कानून अनुसार दर्ता भएका र प्रक्रिया पूरा गरेका वायुसेवालाई नरोक्न तथा अनावश्यक दबाब नदिन पनि कँडेलले आग्रह गरे ।

हाल आन्तरिक उडानमा ८ वटा नियमित उडानका वायुसेवाकम्पनी छन् भने १२ वटा हेलिकप्टर कम्पनी छन् । उड्डयन प्राधिकरणको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका फिक्स विङ्सका नियमित उडानका वायुसेवा कम्पनीमा बुद्ध एयर, नेपाल एयरलाइन्स, श्री एयरलाइन्स, सीता एयर, समिट एयर, सौर्य एयरलाइन्स, तारा एयर र यति एयरलाइन्स छन् । गुण एयरलाइन्स हाल सञ्चालनमा छैन तर केहि समयमा सञ्चालनमा आउने तयारीमा छ ।

हेलिकप्टर कम्पनीमा एयर डाइनेस्टि, अल्टिच्यूड एयर, अन्नपूर्ण हेलिकप्टर, फिस्टेल एयर, हेलि एभरेष्ट, कैलाश हेलिकप्टर, माउन्टेन हेलिकप्टर, प्रभु हेलिकप्टर, श्री हेलिकप्टर र सिम्रिक एयर छन् । मुस्ताङ र मनाङ हेलिकप्टरसँग भने जहाज नभएकोले उडान अनुमति पाएको छैन । मुस्ताङले एउटा हेलिकप्टर दुई साता अगाडि मात्रै थप गरेकोले दशैंपछि उडान गर्ने तयारी गरिरहेको छ ।


क्लिकमान्डु