पूर्वराजा शाहलाई माधव नेपालको चुनौती- पार्टी खोलेर चुनाव लड्नुस्



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनावमा लड्न चुनौती दिएका छन् ।

भक्तपुरमा बुधबार आयोजित एक कार्यक्रममा उनले आफू त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन चुनौती दिए ।

उनले प्रतिगमनको दिशामा देशलाई लैजान खोज्नै कुनै कार्य स्वीकार्य नहुने बताए । कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य नरहेको भन्दै उनले भक्तपुर र झापाका जनताले यसबारेमा सोच्नुपर्ने बताए ।

अध्यक्ष नेपालले जनताले सक्कली र नक्कली कुराको पहिचान गर्न सक्नुपर्ने तर्क गरे । उनले गठबन्धन भत्काउने कोशिश कुनै पनि हालतमा सफल नहुने बताए ।

के भने नेपालले ?

विगतमा उनीहरुले कसरी यो मुलुक चलाएका थिए, तिनीहरुका पनि हामीलाई एकएक कुराहरु सबै थाहा छ । त्यसो हुनाले संविधानलाई मास्न खोज्ने, प्रतिगमनको दिशामा लैजान खोज्ने, पुरानै अवस्थामा यो देशलाई फर्काउन खोज्ने त्यस्ता तत्वप्रति सबै होशियार हुनुपर्छ ।

कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य छैन । भक्तपुरमा यो आवाज अझै गुञ्जाउनुपर्छ, किनभने भक्तपुरबाट नै संकेत दिन खोजियो । झापाले त्यो आवाज उठाउनुपर्छ, झापाले नि संकेत दिन खोज्यो । अस्ति भएको निर्वाचन आफैँमा जनमत संग्रह हो ।

जनताले सिधै पार्टीलाई विश्वास गरेका छौँ भन्ने देखाए । अरुलाई पनि लाग्छ भने पार्टी बनाउन् आउन्, चुनावमा सामेल होउन् । असल काम गरेको छु, त्याग तपस्या र बलिदान गरेको छु भन्ने लागेको छ भने आए हुन्छ । दुःख उठाउन कहिले जानेको छैन, सुखमा जन्मियो, हुर्कियो, अनि जनतालाई भ्रममा राख्ने कोशिस सफल हुनेछैन ।

हामी अहिले देशका समस्या पहिचान गर्नेकुरामा अघि बढेका छौँ । यो गठबन्धन ५ वर्षको लागि हामीले बनाएका छौँ, यसलाई भत्काउने अनेक कोशिश भइरहेका छन् । ती कुनै कोशिस सफल हुनेवाला छैनन् । यो गठबन्धनको सरकार एकताबद्ध भएर नै अघि बढ्नेछ ।


क्लिकमान्डु