९० प्रतिशत टिकट बिक्री भएपछि दसैंलाई हवाई भाडा घट्यो, एउटै गन्तव्यको भाडा २५ सयसम्म सस्तियो



काठमाडौं । करिब ९० प्रतिशत टिकट बिक्री भइसकेपछि वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाएका छन । आइतबार पर्यटन मन्त्रालयमा भएको पर्यटनमन्त्री सुदन किराँती र सम्बन्धित वायुसेवाका प्रतिनिधिबीचको छलफलमा अधिकतम सीमाको भाडाको प्रतिशत कम गर्ने र न्यूनतम तथा मध्यम सीमाको भाडादरको प्रतिशत बढाउने सहमति भएको हो ।

सोही सहमतिअनुसार सोमबारबाटै लागू हुने गरी अधिकतम हवाई भाडाको प्रतिशत कम गरेर त्योभन्दा कम दरलाई बढाएको सम्बन्धित वायुसेवा कम्पनीले बताएका छन् ।

पर्यटनमन्त्री किराँतीले चासो लिएर सम्बन्धित वायुसेवा कम्पनीसँग छलफल गर्दासम्म दसैंका लागि हवाई टिकट अधिकांश गन्तव्यमा ९० प्रतिशतभन्दा बढी बिक्री भइसकेको छ । बिक्री भइसकेको टिकटको पैसा फिर्ता गर्न नमिल्ने भएकाले अब जति अधिकतम सीमाका टिकट उपलब्ध छन्, त्यसैलाई कम गरेर बिक्री गर्नेबाहेकको विकल्प नभएको बुद्ध एयरका वरिष्ठ बजार निर्देशक रुपेश जोशीले बताए ।

‘कतिपय गन्तव्यमा टिकटै पाइँदैन । कुनै सहुलियत नदिने अनि सरकारले नै तोकेको भाडादरभित्र रहेर बिक्री भएको टिकटमा के घटाउनु छ र ?’ उनले भने, ‘अब जति टिकट बिक्न बाँकी छ, त्यो घट्छ ।’

वायुसेवा कम्पनीले सरकारले दिएको सीमाभित्रै बसेर हवाई भाडा तय हुने बताएका छन् । ‘हवाई भाडा घटाउनलाई त बढाएको पनि त हुनुपर्‍यो नि ?’ यति एयरका प्रवक्ता सुदर्शन बर्तौलाले भने ।

उनका अनुसार धनगढीको विषयमा सामाजिक सञ्जालमा भएको अनावश्यक हल्लाको विषय मन्त्रीसमक्ष पुगेको हो । ‘हामीले भाडादरको अवस्था, भाडादर तय हुने विषय र सस्तो बिक्री सकिएर बाँकी रहेको अधिकतम सीमाको मात्रै बाँकी रहेको विषयमा मन्त्रीलाई स्पष्ट पारेका छौं,’ उनले भने ।

मन्त्री किराँतीले जनतालाई आश्वस्त पार्न सकिने आधार तय गरौं भनेकाले बाँकी रहेको अधिकतम सीमाको भाडादरलाई कम गर्ने सहमति भएको वायुसेवा कम्पनीले बताएका छन् ।

वायुसेवा कम्पनीका अनुसार अहिले नै काठमाडौंबाट बाहिरिने यात्रुले भरतपुर, सुर्खेत, तुम्लिङटारसहितका केही गन्तव्यमा टिकटै पाउँदैनन् । ती गन्तव्यमा वायुसेवा कम्पनीले उपलब्ध गराएका सबै टिकट बिकिसकेका छन् भने अरु गन्तव्यमा पनि सीमित सिटमात्रै बाँकी छ ।

वायुसेवा कम्पनीहरुले अधिकतम भाडादरको प्रतिशत कम र न्यूनमको बढी प्रतिशत बनाउँदा काठमाडौंदेखि धनगढीसम्मको टिकटमा २ हजारदेखि २५ सय रुपैयाँसम्म घटेको छ । अब टिकट काट्ने यात्रुलाई भाडा कम भए पनि बिक्री भइसकेको यात्रुको हकमा भने फिर्ता हुने छैन ।


क्लिकमान्डु