२०८४ मा एमालेको एकल बहुमतको सरकारः ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मिसन-२०८४ एकल बहुमतको सरकार रहेको बताएका छन् । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा उनले एमालेको समृद्ध नेपाल, सुखी नेपाली आवधिक लक्ष्य मिसन २०८४ मा एकल बहुमतको सरकारको भएको बताएका हुन् ।

उनले जनताका बीचमा गए, सम्झाए, जनताबाट मत प्राप्त गरे असम्भव नरहेको बताए । अहिले अनेक प्रकारका उद्देश्य र तत्व सल्बलाइरहेको ओलीको भनाइ छ । आफूलाई अध्यावधिक नगरेका कारण कांग्रेस बुढो भएको उनले बताए । कांग्रेसको कुनै नीति र विधि नरहेको उनले टिप्पणी गरे ।

‘पार्टी पुरानो बुढो नहुने होइन, विचार र सिद्धान्तको अभावमा पार्टी बुढो भएको छ । आफूलाई अद्यावधिक गर्न सकेन भने बुढो हुन्छ । हामी नेपाली कांग्रेसलाई देखिरहेका छौँ, पार्टी कसरी बुढो हुन्छ भन्दा नेपाली कांग्रेस जसरी,’ उनले भने । अध्यक्ष ओलीले उद्देश्य र गन्तव्य बोकेर हिँडेको पार्टी पुरानो नहुने बताए ।


क्लिकमान्डु