गैंडाकोटमा पाँच वर्षदेखि सामूहिक पुष्पखेती



नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका-२ मा दिदीबहिनी किसान समूहले पाँच वर्षदेखि सामूहिक पुष्पखेती गर्दै आएको छ । स्थानीय महिला समूहमा आबद्ध भई २०७६ सालदेखि सामूहिक फूलखेती गर्दै आएका हुन् ।

सुरुमा ६ कठ्ठा जग्गामा पुष्पखेती गरिएकोमा अहिले व्यावसायिक रूपमा अगाडि बढाउँदै १५ कठ्ठा पुर्‍याइएको समूहमा आबद्ध लक्ष्मी अधिकारीले बताइन् । ‘व्यावसायिक पुष्पखेतीबाट राम्रो आम्दानी भएको छ । चार-पाँच जनाको समूह मिलेर खेती गरेका छौँ,’ उनले भनिन्, ‘बर्सेनि फूलको माग बढ्दो छ । स्थानीयस्तरदेखि जिल्ला बाहिरसमेत बिक्री गर्ने गरेका छौँ ।’

अधिकारीका अनुसार समूहले गत वर्ष डेढ लाख खर्च गरेर पाँच लाख आम्दानी गरेको थियो । ‘अरू खेती गर्नुभन्दा पुष्पखेती सहज भएकाले पनि दिदीबहिनीको यसतर्फ आर्कषण बढ्न थालेको छ,’ उनले भने ।

गैँडाकोट-२ की सरिता कार्कीले सामूहिक पुष्पखेतीबाट राम्रो आम्दानी भएको बताइन् । तिहारमा मात्र नभएर दैनिक रुपमा हुने औपचारिक कार्यक्रममा पनि सयपत्री फूलको आकर्षण बढेकाले फूलको बजार राम्रो रहेको उनको भनाइ छ । उनका अनुसार समूहले गरेको पुष्पखेतीमा कलकतिया, टेनिजवल प्रजातिका सयपत्री फूल लगाएका छन् ।

कावासोती नगरपालिका-७ की मिश्रा पराजुलीले आउँदै गरेको तिहारका लागि एक बिघा जमिनमा सयपत्री फूल लगाएकी छन् । चाडपर्वमा सयपत्री फूलको माग बढी हुने भएकाले ८ हजार बोट लगाएको उनले बताइन् । ‘फूल व्यवसायबाट राम्रो आम्दानी भएपछि दुई वर्षदेखि स्थानीय बजारको मागलाई मध्यनजर गर्दै फूल उत्पादन गर्न थालेका छौँ,’ उनले भनिन् ।

नवलपुरमा सामूहिक पुष्पखेतीतर्फ किसानको आकर्षण बढ्न थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ । नगदेबालीका रूपमा विकास गरी कम लगानीले धेरै आम्दानी लिन सकिने हुनाले जिल्लाका विभिन्न स्थानमा सामूहिक पुष्पखेती गर्न थालिएको केन्द्रका बाली संरक्षण अधिकृत मीरा चौधरीले बताइन् ।

उनका अनुसार अहिले गैँडाकोट, देवचुली, कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकामा सामूहिक पुष्पखेती गर्ने क्रम बढेको छ । ‘कृत्रिम मालामा प्रतिबन्ध लगाएपछि सामूहिक खेतीतर्फ स्थानीय उत्साहित भएको पाएका छौं,’ चौधरीले भनिन्, ‘जिल्लालाई फूलमा आत्मनिर्भर बनाउन केन्द्रमार्फत बीउ उपलब्ध गराउँदै आएका छौँ ।’


क्लिकमान्डु