इजरायल-प्यालेस्टाइन द्वन्द्व: पश्चिम एसियाभरि हिंसा फैलिने खतरा



एक साताभन्दा लामो समयदेखि चलिरहेको इजरायल–प्यालेस्टाइन द्वन्द्वका कारण चरम मानवीय संकटको स्थिति आएको छ ।

प्यालेस्टाइनी लडाकू समूह हमासले इजरायलका विभिन्न शहरमा एकैपटक गरेको आक्रमणका कारण हजारभन्दा बढी इजरायलीको मृत्यु भइसकेको छ । त्यस आक्रमणमा १० जना नेपालीसहित सयभन्दा बढी विदेशी पनि मारिएका छन् ।

हमासको यो आक्रमणपछि प्रत्याक्रमण गरिरहेको इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले हजारभन्दा बढी लडाकू र प्यालेस्टाइनी सर्वसाधारणको हत्या गरिसकेको छ । इजरायलीहरूले गाजामा लगातार बम प्रहार गरेर आवासीय भवनहरू ध्वस्त पारिरहेका छन् । दुवै पक्षले ठूलो संख्यामा एकअर्काका बन्दीहरू पनि राखेका छन् ।

हिंसाको यस सिलसिलामा इजरायलले चेतावनी दिएपछि गाजामा रहेको लाखौं प्यालेस्टाइनीहरू थातथलो छोडेर पलायन हुन बाध्य भएका छन् । इजरायली बन्दीहरूलाई छुटाएर हमासलाई गलाउनका लागि इजरायलले गाजामा नाकाबन्दी गरी बिजुली र पानीको आपूर्ति कटौती गरेपछि त्यहाँ चरम मानवीय संकट आएको छ ।

यो युद्धअपराध र नरसंहार हो भनी विभिन्न सरोकारवालाहरूले आलोचना गरेका छन् । प्यालेस्टाइनीहरूप्रति अलिकति पनि दयाभाव नराखिकन कारवाही चलाउनका लागि उत्तेजित बनाउँदै इजरायलका रक्षामन्त्री योआभ गालान्टले उनीहरू “मानवपशु”हुन् भनी कठोर टिप्पणी गरेका छन् र यसले इजरायलको नियत स्पष्टसँग झल्काएको छ ।

गाजावासीहरूलाई इजिप्टतर्फ जान दिने किसिमको समाधान इजरायलले प्रस्ताव गरेको भए पनि त्यो जातिसफायाको एक प्रक्रिया भएको भनी आलोचना गरिएको छ । जातिसफाया भन्नाले कुनै पनि ठाउँमा बसिरहेका कुनै जाति वा धर्मका व्यक्तिलाई बल प्रयोग गरी पूर्णरूपमा त्यस ठाउँबाट हटाउने काम हो । इजरायलले गाजावासी प्यालेस्टाइनीहरूलाई त्यहाँबाट इजिप्ततर्फ धपाएर कहिले फिर्ता नआऊन् र त्यहाँ यहुदीहरूको अकण्टक राज चलोस् भनी यस्तो प्रस्ताव ल्याएको देखिन्छ । त्यही कुरा बुझेर होला शायद इजिप्टले प्यालेस्टाइनीहरूलाई मानवीय सहायता त उपलब्ध गराउने तर पलायनका लागि सुरक्षित कोरिडोर नखोल्ने भनिरहेको छ ।  

इजरायलले दबाब बढाएको भए पनि हमासले आफू लामो अवधिको युद्धका लागि तयार रहेको बताएको छ । त्यसो त हमासको विधानमै इजरायल नामक देशलाई पूरै निर्मूल बनाउने र यहुदीहरू सखाप पार्ने उल्लेख छ अनि अमेरिका र इजरायलले उसलाई आतंकवादी समूह भनी घोषणा गरेका छन् । निहत्था सर्वसाधारणमाथि आक्रमण गरी हत्या गर्ने हमासको क्रियाकलाप आतंकवादको एक नमूना नै हो ।

त्यसो त इजरायल आफैंले प्यालेस्टाइनी समूह फतहलाई काउन्टर दिन खडा गरेको समूहका रूपमा हमासलाई लिइन्छ । हमासको आतंकवादी गतिविधिलाई देखाएर प्यालेस्टाइनीहरूको बेग्लै राज्य बनाउने आकांक्षालाई तुहाउन इजरायलले खेल खेलेको बताइन्छ । 

हमासले इजरायलविरुद्ध लडाइँ गरिरहेकै बेलामा लेबननमा रहेको शक्तिशाली लडाकू समूह हेज्बोल्लाहले इजरायल सीमामा रहेका सैन्य पोस्टहरूमा आक्रमण गरी प्यालेस्टाइनीहरूको पक्षमा दोस्रो युद्धमोर्चा खोलिदिने चेतावनी दिएको छ । इरानको समर्थन रहेको हेज्बोल्लाहले सिरियामा सरकारविरोधी पश्चिमसमर्थित समूहहरूका विरुद्ध लामो समयदेखि लड्दै आएकाले युद्धको राम्रो अनुभव बटुलेको छ र यस द्वन्द्वमा उसको प्रवेशले यसलाई क्षेत्रीय लडाइँमा परिणत गर्न सक्ने खतरा छ ।

इजरायल र प्यालेस्टाइनबीच विगत ७५ वर्षदेखि चलिरहेको द्वन्द्वको यो पछिल्लो कडी मात्र हो । इजरायलका सत्तारूढ उग्रदक्षिणपन्थीहरूले गाजा र पश्चिम किनारमा यहुदीहरूको बस्ती बसाउने अनि प्यालेस्टाइनीहरूलाई धपाउने नीति लिनुका साथै मुसलमानहरूको तेस्रो सबभन्दा पवित्र तीर्थस्थल अल–अक्सा मस्जिदमा धावा बोलेपछि हमासले अहिलेको कारवाही चलाएको हो । हमासले यसलाई अल–अक्सा बाढी नाम दिएको छ । 

अहिलेको द्वन्द्वको प्रतिक्रिया विगतको भन्दा फरक देखिएको छ । विगतमा इजरायली र प्यालेस्टाइनीहरूको भिडन्त हुँदा इजिप्ट र अन्य क्षेत्रीय शक्तिहरूको मध्यस्थतामा वार्ता हुने गरेको थियो अनि अन्ततोगत्वा इजरायल नै हावी हुने गरेको थियो । अनि विश्वभरि इजरायलको पक्षमा आवाज उठ्ने गरेको थियो । प्यालेस्टाइनको पक्षमा अरब मुलुक र अन्य केहीले आवाज उठाउने गरेको भए पनि त्यो त्यति चर्को हुँदैनथियो ।

तर यसपालि पश्चिममा इजरायलको पक्षमा आवाज उठिरहेको भए पनि अन्यत्र चाहिँ प्यालेस्टाइनको पक्षमा मुखर स्वरहरू सुनिएका छन् । गैरपश्चिम खेमाको प्रतिनिधित्व गर्ने ब्रिक्स समूहमा भारत बाहेक अन्य मुलुक प्यालेस्टाइनको पक्षमा उभिएका छन् र हिंसा चाँडो अन्त्य गर्नुपर्ने बताइरहेका छन् । प्यालेस्टाइनलाई बेग्लै राज्य दिने गरी द्विराज्यीय समाधान (टु स्टेट सोलुशन) मा चीनरुससहितका शक्तिशाली गैरपश्चिम मुलुकहरूको धारणा राखेका छन् ।

पश्चिम एसियामा विगत केही महिनायता देखिएका क्रान्तिकारी परिवर्तनको परिणामस्वरूप अहिलेको स्थिति आएको हो भन्न सकिन्छ । चीनको मध्यस्थतामा इरान र साउदी अरबले सम्बन्ध सुधारका लगि सहमति गरेका थिए । त्यसपछि साउदीहरूले यमनमा विगत आठ वर्षदेखि चलिरहेको युद्ध अन्त्य गर्नका लागि त्यहाँका विद्रोही हूतीहरूसँग सम्झौता गरे । अनि लामो समयसम्म बहिष्कार गरिएको सिरियालाई पुनः अरब लीगमा ल्याइएको थियो ।

यी सबै गतिविधिका कारण पश्चिम एसियामा शान्ति र समृद्धिको लहर आउने आशा बढेको थियो । तर यस क्षेत्रीय शान्तिले अमेरिकी साम्राज्य सञ्चालकहरूको टाउको दुखाएको छ किनकि पश्चिम एसियामा हुने युद्ध र अस्थिरतालाई देखाएर नै अमेरिकाले आफ्नो प्रभुत्व कायम गर्ने हो । अरबहरूलाई इरानको डर देखाएर आफ्नो सैन्य उपस्थितिलाई जायज ठहर्‍याउने अमेरिकाको प्रयासलाई चीनको पहलले असान्दर्भिक बनाइदिने खतरा मडारिएको थियो । त्यसैले यस क्षेत्रमा विद्यमान सबभन्दा पुरानो र हल गर्न नदिइएको द्वन्द्व चर्किंदा अमेरिकाले आफ्नो सान्दर्भिकता स्थापित गर्न पाएको छ ।

त्यसो त अमेरिकाले पश्चिम एसियाबाट ध्यान हटाएर चीनका विरुद्ध केन्द्रित गर्नका लागि इजरायल र प्रभावशाली अरबी मुलुकहरूसँग अब्राहम एकर्ड्स गराएको थियो । त्यसैको आडमा इजरायलले अरब मुलुकहरूसँगको सम्बन्ध सुधार भइसकेको भनी प्यालेस्टाइनीहरूलाई पेलेर जान सकिने सोच बनाउन थालेको थियो । तर बहुसंख्यक अरब मुलुकवासीहरू इजरायलको पक्षमा नरहेकाले अरब शासकहरूलाई जनताको विरुद्ध जाने छुट छैन । त्यसैले यो द्वन्द्व शुरू भएपछि साउदी अरब र इजरायलबीच हुन लागेको सम्बन्ध सामान्यीकरण वार्ता पनि स्थगित गरिएको छ ।  

अहिले इजरायलको समर्थनमा अमेरिकाले शक्तिप्रदर्शनका लागि भूमध्यसागरमा यूएसएस जेराल्ड आर फोर्ड नामक युद्धपोत तैनाथ गरेको छ भने छिट्टै यूएसएस ड्वाइट डी आइजनहावर नामक युद्धपोत पनि त्यही ठाउँमा पठाउन लागेको छ । यी युद्धपोतहरू इरानलाई चेतावनी दिनका लागि तैनाथ गरिएको हुन सक्ने विश्लेषकहरू बताउँछन् । तर अमेरिकी युद्धपोतहरूले आफूलाई तर्साउन नसक्ने हमासले बताएको छ ।

दुवै पक्ष आआफ्नो अडानमा कायम रहँदा अहिलेको द्वन्द्व कसरी अघि बढ्छ भन्न सकिँदैन तर पहिलेको जस्तो गरी इजरायल पूर्णरूपमा हावी हुने सम्भावना चाहिँ देखिँदैन । गाजामा विशाल बमहरू फ्याँकेर त्यसलाई पूरै ध्वस्त बनाउन इजरायल सक्षम हुने छैन किनकि क्षेत्रीय शक्तिहरूले उसलाई त्यसो गर्नबाट रोक्नेछन् । त्यसैले गर्दा इजरायलले गाजामा धरातलीय कारवाही (ग्राउन्ड इन्भेजन) गर्न खोजेको छ । तर गाजामा रहेका प्रत्येक घरमा गएर खानतलाश गर्दै हमासका लडाकूहरू खोज्न गाह्रो छ र त्यसक्रममा इजरायलीहरूले सर्वसाधारण प्यालेस्टाइनीहरूलाई निशाना बनाउँदै युद्धअपराध गर्ने सम्भावना छ ।

तर इजरायलको यस कारवाहीलाई हेज्बोल्लाहले निष्क्रिय हेरेर नबस्न सक्छ । उसले इजरायलविरुद्ध मध्यमस्तरीय प्रविधिका हतियारहरू उपयोग गरी असमान युद्ध गर्न सक्छ । सोभियत संघका विरुद्ध अफगानिस्तानमा मुजाहिद्दीनले गरेको जस्तो युद्ध हेज्बोल्लाहले इजरायलविरुद्ध चलाउन सक्छ । हेज्बोल्लाहसँग टन्नै हतियारहरू छन् र इरानले पनि उसलाई हतियारहरू आपूर्ति गरिरहेको हुन्छ ।

यस्तो अवस्थामा इजरायलसँग दुईवटा विकल्प बाँकी रहन्छन् : पराजय स्वीकार गर्ने र शान्तिका लागि पहल गर्ने वा अहिलेको द्वन्द्वलाई क्षेत्रीय युद्धमा परिणत गरी अमेरिकालाई समेत सहभागी गराउने । त्यसो त अमेरिकाले आफ्ना सैनिकहरू इजरायलको पक्षमा लड्न नआउने भनी स्पष्ट पारिसकेको छ तर उसले हेज्बोल्लाह र हूतीहरूलाई लक्षित गरी लेबनन, सिरिया, इराक, यमन र इरान लगायतका पश्चिमी एसियाली मुलुकहरूमा बम प्रहार गरेर इजरायललाई सहयोग गर्न सक्छ । त्यो अवस्थामा युद्ध चर्किएर क्षेत्रीय र अझ विश्वयुद्धकै रूप लिन पनि सक्छ ।

युक्रेनलाई मोहरा बनाएर रुसविरुद्ध छद्मयुद्ध गरिरहेको अमेरिका त्यसमा विफल भएपछि आफ्नो शक्ति स्थापित गर्न अर्को एक युद्धको खोजी गरिरहेको थियो । इजरायल–हमास युद्ध शुरू भएपछि पश्चिमी सञ्चारमाध्यमहरूमा युक्रेन युद्धको खासै चर्चा हुन छोडेको छ । अर्थात्, अमेरिका त्यस युद्धबाट विमुख हुन थालेको छ ।

हुन त ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का रणनीतिक सञ्चार संयोजक जोन कर्बीले “युक्रेनलाई हामी सकेसम्म सहयोग गर्छौं तर त्यो अनन्तकालसम्म हुने छैन, हामी डोरीको अन्त्य भागमा आइसकेका छौं” भन्दै युक्रेनबाट हट्न खोजेको संकेत दिइसकेका छन् ।

युक्रेन युद्धमा अमेरिका यसरी पराजित हुँदा विश्व थप खतरनाक मोडमा पुगेको छ किनकि अमेरिकाले यसलाई आफ्नो इज्जतको प्रश्न बनाएको छ । त्यसैले पश्चिम एसियामा फैलिएको अशान्तिको आगोमा घ्यू थप्न ऊ उद्यत देखिन्छ । तर यसले अमेरिकाप्रति अरब विश्व सहित गैरपश्चिमको धारणा थप नकारात्मक बन्ने पक्का छ र त्यसको लाभ चीनले उठाउनेछ । पश्चिम एसियामा युद्ध चर्किएमा चीनलाई ताइवान युद्धमा फसाउने अमेरिकाको सपनामा तुषारापात हुन सक्छ ।

अमेरिकी शक्तिको आडमा अरबहरूसँग जोरी खोजिरहेको इजरायलले द्वन्द्व समाधानका लागि पहल गर्नु अहिलेको आवश्यकता हो । उता, अरबहरूले पनि हमासलाई इजरायलसँग वार्ता गर्न र बन्दीहरू साटासाट गर्नका लागि प्रेरित गर्नुपर्छ ।

अमेरिकी प्रभुत्व अन्त्य हुन लागेको यथार्थलाई मनन गर्दै इजरायलले प्यालेस्टाइनका लागि बेग्लै राज्य बन्ने गरी सन् १९६७ मा कायम भएको सीमाका आधारमा द्विराज्यीय समाधानमा सहमति जनाएमा अरबहरूसँग उसको सम्बन्ध सुमधुर बन्नेछ । चीन र रुसले पनि यस समाधानका पक्षमा पैरवी गरिरहेकोमा अमेरिकी प्रभुत्वको अन्त्यपछिको बहुध्रुवीय विश्व व्यवस्थामा इजरायल सबैसँग सन्तुलनमा रहने स्थिति आउनेछ । अनि बल्ल पश्चिम एसियामा शान्ति छाउनेछ ।


विन्देश दहाल

दहाल अन्तर्राष्ट्रिय अर्थराजनीति बारे कलम चलाउँछन् ।