किसानलाई सहुलियतमा बिजुली उपलब्ध गराउन संसदीय समितिको निर्देशन
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले किसानलाई सहुलियतमा बिजुली उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले किसानको खेतीपाती, प्रशोधन तथा भण्डारका लागि आवश्यक पर्ने बिजुली सुलभ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो ।
कृषि फसलको उत्पादन, प्रशोधन र भण्डारणमा कृषि मिटर (विद्युत्) को व्यवस्था गरी किसानले सहुलियतको बिजुली प्रयोग गर्ने व्यवस्था मिलाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ र कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । किसानको पहुँच पुग्ने स्थानमा विजुलीको प्रशारण लाइनको व्यवस्था मिलाउन समेत समितिका सभापति आरजु देउवाले सरकारलाई निर्देशन दिएकी छन् ।
कृषि र वन पैदावारमा आधारित उद्योगले पाउनुपर्ने सहुलियत तथा छुट उपभोग गर्न नपाएकाले ती विषयलाई अनुसूची ४ अन्तर्गत राख्ने व्यवस्था मिलाउन पनि मन्त्रालयलाई समितिले निर्देशन दिएको छ ।
औद्योगिक व्यवसायको हकमा विद्यमान कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐनको अनुसूचीमा विभिन्न उद्योगको वर्गीकरण गर्दा ऐनको अनुसूची ८ को बुँदा नं २७ मा खाद्यान्न कुटानी, पिसानी, पेलानी र प्याकेजिङ गर्ने कार्यलाई सेवामूलक उद्योगमा वर्गीकरण गरिएको छ । उक्त विषय अनुसूची ४ अन्तर्गत कृषि तथा वन पैदावरमा आधारित उद्योगअन्तर्गत राख्नुपर्ने समितिले गरेको निर्णयमा भनिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत स्वीकृत दरबन्दीमा कर्मचारी पदपूर्ति नभएको औंल्याउँदै समितिले मन्त्रालयअन्तर्गत रहेको दरबन्दी संख्या र पदपूर्ति हुन नसकेको विवरण समितिमा पठाउनसमेत निर्देशन दिएको छ ।