
कैलाली । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषिलाई उद्यमसँग जोड्न सकेमात्रै देश समृद्ध हुने बताएका छन् ।
पार्टीको मेची-महाकाली जागरण अभियानका क्रममा कैलालीको टीकापुरमा आयोजित जनसभामा पूर्वप्रधानमन्त्री नेपालले कृषि क्षेत्रलाई उद्यमसँग जोडेर देशलाई समृद्ध बनाउन सकिने बताएका हुन् ।
‘हाम्रो प्रमुख समस्या रोजगारी बनेको छ । रोजगारीकै कारण दैनिक हजारौँ दक्ष जनशक्ति देशबाहिर पलायन भइरहेको स्थिति छ,’ उनले भने, ‘त्यसलाई रोक्न सरकार गम्भीर बनोस् । कृषि क्षेत्रको विकासमा आगामी यात्रा तय गर्नुको विकल्प छैन ।’
राज्यको सम्पत्तिको दोहन गर्दै राज्यका निकायलाई प्रभावमा पारेर सुनौला अवसरलाई कार्यान्वयन गर्न नदिने तत्वका कारण देश खतरामा परेको अध्यक्ष नेपालको भनाइ छ । उनले राजनीतिक वितृष्णा र युवामा देखिएको निराशाले देशको भविष्यलाई अन्योलमा पार्न सक्ने भन्दै त्यसलाई निरुत्साहित गर्नकै लागि पार्टीको जागरण अभियान सुरु भएको बताए ।
वर्तमान व्यवस्थालाई मास्नका लागि केही विरोधी शक्ति सल्बलाउन थालेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसको रक्षाका लागि सबै एक ठाउँमा उभिनुको विकल्प नभएको तर्क गरे ।
पार्टीका महासचिव घनश्याम भुसालले संविधानको पूर्ण कार्यान्वयन नै समृद्धिको प्रमुख आधार हुने बताए । बेरोजगारीका कारण देश खाली हुने अवस्थामा पुगेको उनको भनाइ छ । ‘हाम्रा हरेक नीति रोजगारीसँग जोडिन आवश्यक छ । रोजगारी भएपछि मात्रै देश समृद्ध बन्न सक्छ,’ उनले भने, ‘रोजगारीका अवसर कृषि क्षेत्रबाट मात्रै सम्भव छ ।’








प्रतिक्रिया