हट्यो एकान्तकुना यातायात व्यवस्था कार्यालयको भीड, आजदेखि अनलाइन सेवा सुरु



काठमाडौं । सर्वाधिक भीड हुने यातायात व्यवस्था कार्यालय एकान्तकुनाले बिहीबारदेखि अनलाइन सेवा सुभारम्भ गरेको छ । अनलाईन सेवा सुरु भएपछि सर्वाधिक भीड हुने ललितपुरको एकान्तकुनामा सेवाग्राहीको भीड हटेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र बाग्मति प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले विहीबार एकान्तकुना यातायात व्यवस्था कार्यालयमा अनलाइन सेवा सुरु गरेको छ ।

दैनिक हजारौ सेवाग्राही एकान्तकुना कार्यालयमा लाइन बस्ने गरेका थिए । ‘आजदेखि त्यो लाइन पूर्णरुपमा हट्नेछ’, मन्त्री ज्वालाले भने ‘दैनिक हजारौ सेवाग्राहीले पाउँदै आएको सास्ती आजदेखि हटेको छ ।’

नयाँ सवारी चालक अनुमतिको आवेदन गर्न यसअघि नै अनलाइन सेवा सञ्चालनमा थियो । तर विहीबारदेखि राजश्व भूक्तानी, लाइसेन्स नविकरण र बर्ग थप अनलाइनबाटै हुने भएको छ । ‘सवारी चालक अनुमति पत्रका लागि अब तीन पटक मात्र यातायात व्यवस्था कार्यालयमा जानुपर्ने छ’, प्रदेशका यातायातमन्त्री लम्सालले भने ‘यसअघि एउटै लाइसेन्सका लागि ९ पटक यातायात व्यवस्था कार्यालयमा धाउनुपर्ने बाध्यता थियो ।’

सवारी चालक अनुमति पत्रका लागि अब लिखित परीक्षा, ट्राइल परीक्षा र बायोमेट्रिक गर्न तीन पटक मात्र यातायात व्यवस्था कार्यालय जानुपर्नेछ । अन्य सवै कामहरु घरबाटै अनलाइन सेवामार्फत गर्न सकिने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले बताए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले मन्त्रीको सपथ लिएलगतै यातायात कार्यालयहरुमा लाग्ने भीड हटाउने प्रतिबद्धता गरे । प्रतिबद्धताअनुसार २० असारदेखि कास्की यातायात व्यवस्था कार्यालयबाट अनलाइन सेवा सुरु गरिएको थियो । कास्कीमा सफल भएपछि सर्वाधिक भीड हुने एकान्तकुनाबाट आजदेखि अनलाइन सेवा सुरु गरिएको छ ।

‘अबको केही दिनभित्र मधेश र लुम्बिनी प्रदेशका यातायात व्यवस्था कार्यालय मार्फत पनि अनलाइन सेवा सुचारु गर्छौ’, मन्त्री ज्वालाले भने ।

यातायात व्यवस्था कार्यालयको भीड हटाउने र बिचौलियाहरुको अन्त्य गर्न देशका सवै यातायात व्यवस्था कार्यालयहरु अनलाइन सिस्टममा लिन लागिएको छ ।


क्लिकमान्डु