मौसममा सुधार आएपछि मन्थलीबाट लुक्लाको उडान सुरु
काठमाडौं । रामेछापको मन्थलीबाट लुक्लाको उडानहरु पुन: सुरु भएका छन् । ५ दिनदेखि रामेछापमा अलपत्र परेका पर्यटकहरु लुक्ला हुँदै आफ्नो गन्तव्यतर्फ जान पाउँदा निक्कै खुसी भएका छन् ।
लगातार ५ दिनसम्म मौसम नखुल्दा लुक्ला हुने उडान ठप्प थियो । पर्यटक मौसम सुरु भएसँगै बिगतमा काठमाडौंबाट लुक्लाका लागि हुने गरेको उडानहरु केहि वर्षदेखि रामेछापबाट हुँदै आएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछाप लुक्ला उडानका लागि आवश्यक पूर्वाधारहरु बनाएसँगै उडानहरु सहज भएको छ र थप सुधारका कामहरु हुँदै आएका छन् ।
लुक्लाबाट उडान गर्ने वायुसेवा कम्पनीहरुले रामेछाप र लुक्लामा तत्कालका लागि ब्यागेज एक्सरे मेसिनको माग गरेका छन् । हाल यी बिमानस्थलहरुमा एक्सरे मेसिन नहुँदा ब्यागेज तथा सरसामानहरु हातैले खानतलासी गर्नु परेको छ, यसले गर्दा समय बढी लाग्ने र पर्यटकले मिलाएर ल्याएका सामान पुन प्याक गर्नु पर्दा झन्झटिलो हुने गरेको छ । यस विमानस्थलबाट तारा, समिट र सिता एअरले उडान गर्दै आएका छन् ।
सफा मौसममा दैनिक ४० भन्दा बढी उडान हुने गरेको लुक्ला विमानस्थलमा आज तारा एअरले १५ वटा उडान गर्ने तालिका रहेको तारा एअरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
५ दिनदेखि मौसममा सुधार नहुँदा उडान हुन पाएका थिएनन्, केहि पर्यटकहरु फाप्लुको उडान मार्फत हिँडेरै लुक्ला हुँदै सगरमाथा क्षेत्रमा लागेका थिए भने केही हेलिकप्टरमार्फत उडान गरि गन्तव्यतर्फ लागेका थिए ।